Finance

नयाँ बजेटमा निर्माणका पुरानै परियोजनालाई निरन्तरता

Pinterest LinkedIn Tumblr

काठमाडौं । सोमबार संघीय सांसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट घोषणा भएको छ । 

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले आगामी आर्थिक वर्षमा नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा लगानी केन्द्रित गर्ने उल्लेख गरेका छन् । 

आर्थिक वर्ष ०८०/८१ मा सुरुङमार्गका लागि छुट्याइएको बजेट विवरणः

आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन रु. १ अर्ब बजेट विनियोजन गरिएको छ ।

पुल निर्माणका लागि छुट्याइएको बजेट विवरणः

राष्ट्रिय राजमार्गमा आवश्यकताअनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिनेछ । ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । 

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूवात गरिनेछ । राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिनेछ । पुल निर्माणका लागि रु. २ अर्ब ८ करोड छुट्याइएको छ ।

सडक निर्माण, विस्तार तथा स्तरोन्नति 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि ३१ अर्ब २ करोड बजेट विनियोजन भएको छ ।

०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौं-तराई-मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाइएको छ । आगामी आर्थिक वर्ष ठेक्‍का लाग्न बाँकी खण्डको ठेक्‍का व्यवस्थापन गरिनेछ ।  जसका लागि रु. २२ अर्व ५० करोड विनियोजन गरिएको छ । 

नौबिसे-मुग्लिन खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्ब १६ करोड छुट्टयाइएको छ । त्यसैगरी मुग्लिन-पोखरा सडकखण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न रु. ५ अर्ब ४२ करोड छुट्याइएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत तराइ मधेशका विभिन्न जिल्लाका आठ खण्डको सडक निर्माण तथा स्तरोन्नति गर्न रु. ३ अर्व ४९ करोड बजेट विनियोजन गरिएको छ । 

मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बाग्लुङ, जाजरकोट लगायतका विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न रु. ३ अर्व ९६ करोड बजेट विनियोजन भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्व ४१ करोड विनियोजन गरिएको छ ।

राष्ट्रिय राजमार्गलाई दुरुस्त राख्न करिव ३ सय ५० किलोमिटर सडकको आवधिक मर्मत र स्तरोन्नति गर्नका साथै करिब ७ हजार ८ सय किलोमिटर राजमार्गको नियमित मर्मत सम्भार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

सेती राजमार्गको टिकापुर-लोडे-चैनपुर र चैनपुर-तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरिएको छ । 

राप्ती राजमार्गको दाङ-सल्यान-रुकुम खण्डको स्तरोन्नतिलाई तीब्रता दिन रु ९० करोड बजेट व्यवस्था गरिएको छ । कोहलपुर-सुर्खेत र बुटवल-पाल्पा-पोखरा सडक खण्डको स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ ।

लामो समयदेखि स्तरोन्नति हुन नसकेको पासाङ ल्हामु राजमार्गको तीनपिप्ले- रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोन्नति कार्य आगामी वर्ष सम्पन्न गर्ने गरी रु. ५० करोड विनियोजन गरिएको छ । यस राजमार्गको रानीपौवा- पिपलटार सडक खण्डको स्तरोन्नति कार्यको लागि बजेट व्यवस्था गरिएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटलाई ट्रयाक खोल्ने कार्य सम्पन्न गरी सडक सञ्जालमा जोडिनेछ । कर्णाली कोरिडोर अन्तर्गत खुलालु-सलिसल्ला खण्ड र हिल्सा-सिमिकोट खण्ड निर्माणका लागि रु. ९७ करोड विनियोजन भएको छ । 

कालीगण्डकी कोरिडोरको गैंडाकोट-राम्दी-बाग्लुङ्ग खण्ड र बेनी-जोमसोम-कोरोला खण्ड गरी थप साठी किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिनेछ । कालीगण्डकी कोरिडोर सडक निर्माणका लागि रु. १ अर्व ५८ करोड बजेट व्यवस्था गरिएको छ ।

कोशी कोरिडोरको निर्माण तथा स्तरोन्नतिका लागि रु ८० करोड छुट्याएको छ । अरुण कोरिडोरको चतरा-लेगुवा खण्डको निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरिएको छ ।

महाकाली कोरिडोरको बम्हदेव-झुलाघाट-दार्चुला र दार्चुला-टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन भएको छ । 

खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेट व्यवस्था विनियोजन भएको छ । 

दैजी- जोगबुढा- डडेल्धुरा सडक स्तरोन्नतिको लागि रु ३० करोड रकम छुट्याएको छ ।

भेरी कोरिडोर अन्तर्गत जाजरकोट-दुनै खण्डको निर्माण तथा स्तरोन्नति लागि रु. ५० करोड विनियोजन गरिएको छ ।

रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरिएको छ । 

११ किलो- छेपेटार- भालुस्वारा- बारपाक सडक निर्माण तथा स्तरोन्नति गर्न रु. ८० करोड विनियोजन भएको छ ।

डुम्रे- बेसीशहर- चामे मनाङ सडक स्तरोन्नति गर्न रु ३४ करोड विनियोजन भएको छ ।

कटारी- घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको छ । तमोर कोरिडोरको सुवाङ खोला-गणेश चोक र ओलाङ्चुङगोला-तिम्तला खण्डको निर्माण कार्यलाई निरन्तरता दिन रु. ८० करोड विनियोजन भएको छ ।

भारतीय सीमासँग जोड्ने प्रमुख व्यापारिक मार्गहरूको स्तरोन्नति कार्य अन्तर्गत ६ लेनको बेलहिया-बुटवल, बिरगंज-पथलैया तथा मोहना-अत्तरिया खण्डको बाँकी कार्य सम्पन्न गर्न गरिनेछ । 

रानी- विराटनगर- धरान सडकको स्तरोन्नति तथा विस्तार कार्यलाई निरन्तरता दिइनेछ । चन्द्रपुर-गौर सडक स्तरोन्नति र विस्तार गर्न रु. ७६ करोड विनियोजन गरिएको छ ।

अन्तरदेशीय व्यापारिक मार्गको रूपमा रहेको गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ्ग-स्याफ्रुवेशी-रसुवागढी सडक स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ। यसका लागि रु. ५१ करोड विनियोजन भएको छ । 

सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन रु २ अर्ब ७ करोड छुट्टयाइएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It