News

फेरि घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा २ अर्बले कमी

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिना कार्तिकमा पनि घरजग्गाको कारोबार खस्किएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिकमा देशभरबाट २६ हजार ४६ घरजग्गाको लिखत पारित भएका छन् । जुन असोजको तुलनामा करिब १३ हजारले कम हो । 

अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा भने यस वर्ष सोही अवधिमा ६.८ प्रतिशतले मात्रै घरजग्गा कारोबारमा कमी आएको देखिन्छ । गत कार्त्तिकमा देशभर २७ हजार नौ सय ३९ संख्यामा घरजग्गा किनबेच भएको थियो । 

कार्त्तिकमा इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ । इनरुवा मालपोत कार्यालयबाट ११८२ घरजग्गा कारोबार भएको छ । यस्तै, जनकपुर  मालपोत कार्यालयबाट १ हजार १०७, भद्रपुरबाट १ हजार ११ घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

कित्ताकाटमा गिरावट 

कार्तिक महिनामा कित्ताकाट संख्या पनि घटेको पाइएको छ । कार्तिक महिनामा ३० हजार ३८७ कित्ता जग्गा कित्ताकाट भई ७० हजार १ सय १६ कित्ता कायम भएका छन् । असोजमा एक लाख ६ हजार ३४९ कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।

यो पनि पढ्नुहोस्ः देशभर जग्गाको कित्ताकाट खुल्यो, साढे २ आनामै जग्गा कित्ताकाट गर्न पाइने

कुन मालपोतबाट कति कित्ताकाट ?

कार्त्तिक महिनामा सबैभन्दा धेरै धनुषाको जनकपुर मालपोत कार्यालयबाट २९ सय ३३ कित्ताकाट भएका छन् ।

सप्तरीको राजविराज मालपोत  कार्यालयबाट २ हजार ९ सय ७, झापाको भद्रपुरबाट २८ सय ७७, सुनसरीको इनरुवा मालपोतबाट २४ सय ५३ कित्ताकाट भएको भूमि विभागको तथ्यांकमा उल्लेख छ । 

बेलबारी मालपोत कार्यालयबाट दुई हजार ३०, महोत्तरीको जलेश्वरबाट दुई हजार तीन, कैलालीको धनगढी मालपोतबाट १९ सय ८२, पर्साबाट १७ सय ९५, सिराहाबाट १७ सय २७ कित्ताकाट भएका छन् । 

सर्लाहीको मलंगवा मालपोत कार्यालयबाट १६ सय ९२, बाराको कलैयाबाट १५ सय ६०, सिराहाको लाहानबाट १५ सय एक, घोराहीबाट १२ सय ३७, झापाको दमक मालपोतबाट १२ सय २३ कित्ताकाट भएका छन् । 

यो पनि पढ्नुहोस्ः  बढ्न थाल्यो घरजग्गा कारोबार, यस्ता छन् ४ खास कारण

उपत्यकामा साढे ४५ सय कित्ताकाट 

काठमाडौं उपत्यकामा खाली जग्गा कम हुँदै गएपछि कित्ताकाटमा पनि कमी आउन थालेको छ । कात्तिकमा उपत्यकाका तीन जिल्लाका नौ मालपोत कार्यालयबाट चार हजार ५४८ कित्ताकाट भएका छन् ।  

लगनखेल मालपोत कार्यालयबाट ११ सय ३५, गोटीखेलबाट १४, भक्तपुरबाट ९४०, डिल्ली बजारबाट ९६, चावहिलबाट ४३९, कलंकीबाट ८१२, साँखुबाट ४२४, मनमैजुबाट ५५८, टोखाबाट १३० कित्ताकाट भएका छन् ।

राजश्व संकलन

घरजग्गा कारोबारमा गिरावट आएसँगै राजस्वमा समेत कमी आएको छ । घरजग्गा कारोबारबाट सरकारले कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन असोजको तुलनामा २ अर्ब २७ करोड रुपैयाँले कम हो । असोजमा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

कार्तिक महिनामा काठमाडौं उपत्यकाभित्रका मालपोतहरूबाट सबैभन्दा धेरै राजस्व संङ्कलन भएको छ । कार्त्तिकमा लगनखेल मालपोत कार्यालयले सर्वाधिक करिब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, डिल्लीबजार मालपोतले १८ करोड १५ लाख, भक्तपुरले १४ करोड २६ लाख, चाबहिलले १३ करोड १८ लाख र कलंकीले १२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ । देशभरका बाँकी मालपोत कार्यालयहरूबाट लगभग १० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It