Lifestyle

हरिशयनी एकादशी : हिन्दुहरूको आस्था र धार्मीक महत्व बोकेको तुलसी रोप्ने दिन

Pinterest LinkedIn Tumblr

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । हिन्दु धर्ममा हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी पूजा गर्ने गरिन्छ । जेष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसी दलको बिरुवालाई आजकै दिन मोठमा सारिन्छ । आजदेखि चार महिनासम्म तुलसीको विधिपूर्वक पूजा गरिन्छ । यो दिन निराहार व्रत बसी भगवान् श्री विष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।  

तुलसीको धार्मीक महत्वः

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । यस अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । यस चतुर्मासमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको छ । आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ । 

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार- ‘दैत्य पत्निबाट श्राप पाएर  विष्णु भगवानले वनस्पति बन्नु परेको थियो । उक्त कथामा भनिएको छ, सत्य युगमा जालन्धर नामको एक दैत्यकी अत्यन्तै सुन्दर रूप भएकी श्रीमती थिइन । उनको नाम वृन्दा थियो । एकदिन दैत्यले पत्नीको तारिफमा मनग्यै शब्द खर्चिरहेको थियो। तब वृन्दाले हिमालय पुत्री अर्थात् महादेवकी अर्धाङ्गिनी पार्वतीको सामुन्ने आफ्नो रूप फिका भएको बताइन । तब जालन्धर श्री महादेवको भेषधारी कैलाश पर्वत जान तम्सियो । पार्वतीले पनि आफ्ना पति आएको ठानेर स्वागत गर्न पुगिन् । पार्वतीको रूप देख्नासाथ जालन्धर बेहोस भएर ढल्यो । पार्वतीले आत्तिएर भगवान विष्णुलाई डाकिन् । सम्पूर्ण घटना थाहा पाएपछि बदलाको लागि योजना बन्यो । जालन्धरको एउटै कमजोरी र शक्ति भन्नु नै वृन्दाको पतिव्रता धर्म थियो । यसो हुँदा जालन्धरको अन्त्य गर्न उसको भेषधारी भगवान विष्णु वृन्दाको मा पुगे । तत्पश्चात विष्णुले वृन्दाको पतिव्रता धर्म डगाइदिए । उनको पतिव्रता धर्म नास गरेपछि विष्णु आफ्नो रुपमा फर्किए । उता जालन्धरको मृत्यु भयो । तब छल र पतिविछोडले विक्षिप्त वृन्दाले भगवान विष्णुलाई श्राप दिइन् ।’ 

फलस्वरुप विष्णुलाई हजारौं वर्षसम्म कहिले पिपल त कहिले तुलसी लगायत विभिन्न वनस्पति बनेर जमिनमा रहनुपरेको थियो । सोही क्रममा तुलसी भगवान विष्णु भएको थाहा पाएर मानिसहरूले पुजा आरधाना गर्न थाले । आज पनि हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको रूपमा पूजा गरिन्छ ।

तुलसीको वैज्ञानिक महत्व

tulsi

वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै मात्रामा अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । वातावरणीय दृष्टिले समेत तुलसीलाई अत्यन्तै पवित्र मानिन्छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । साथै तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ । तुलसीको बोटमा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल र एन्टिबायोटिक गुण हुन्छ जसले शरीरलाई संक्रमणसँग लड्न सक्षम बनाउँछ । घरमा तुलसीको बिरुवा राख्दा घरको वातावरण शुद्ध हुन्छ । 

तुलसीका औषधिय गुणः 

तुलसीमा रहेको औषधिय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिन्छ । त्यसैले आयुर्वेदमा यसलाई महत्वपूर्ण जडीबुटीको उच्च श्रेणीमा राखिएको छ । सामान्य प्रयोगमा गाउँघरमा रुघाखोकी लाग्दा तुलसीका पात र दाना पकाएर खाने गरिन्छ । यद्यपि यसको विविध औषधीय लाभबारे धेरै अनभिज्ञ छन् ।

अध्ययन अनुसार ‘एन्टीअक्सिडेन्ट’ ले मुटुको समस्या, संक्रमण र कतिपय क्यान्सर हुने जोखिम घटाउन पनि सघाउँछ । तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौं विधि बताइएको छ । तुलसीको पात काँचै चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरिच आदि मिसाई चिया बनाएर पिउँदा फाइदाजनक हुन्छ ।

यसको उपयोगले पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्छ । तुलसीको पत्ता र जिरा पिसेर दिनमा तीन–चार पटक खाँदा पखाला रोकिन्छ । अजीर्ण अर्थात् अरुचि जस्ता सामान्य समस्यादेखि मुटु, मिर्गौला, कलेजो जस्ता जटिल समस्यामा तुलसी उपयोगी हुन्छ । तुलसीका चार–पाँच वटा पात चपाएर खाएमा पेटमा भएका कीरा नष्ट हुन्छन् । सासको दुर्गन्ध नियन्त्रणमा पनि तुलसीको पतले फाइदा गर्छ । आयुर्वेद ज्ञाताहरूका अनुसार तुलसीले छालाका सबै प्रकारका समस्या हटाउन मद्दत गर्छ । तुलसीको रसले मालिस गर्दा हड्डीहरू बलियो हुन्छन् भने छालाका दागहरू हटाई चमक समेत बढाउँछ ।

चिसो लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा राम्ररी पकाएर बनाइएको काढा पिउँदा फाइदा हुन्छ । यसले चिसोका कारण हुने छातीको दुखाइ र कफ घटाउँछ । 

तातोपानीमा तुलसीलाई मिसाएर खाँदा टाउको दुखाइ, चिसोले नाक बन्द हुने समस्याबाट राहत मिल्छ । अध्ययनले खाली पेटमा नियमित दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वास सम्बन्धी रोगबाट छुटकारा पाउन सकिने समेत देखाएको छ ।

सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ । कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ । यसले टाउको चिलाउने समस्या कम गर्छ, शिरको रक्तसंचार बढाउँछ, जसबाट कपालले पर्याप्त पोषण पाउँछ र कपाल झर्न दिंदैन ।

शरीरमा चोट लाग्दा तुलसीको पत्तालाई फिटकिरीसँग मिलाएर लगाउँदा घाउ छिटै निको हुन्छ । किनकि तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुन्छ, जसले घाउ पाक्न दिंदैन । यस बाहेक तुलसीको पातलाई तेलमा मिलाएर लगाउँदा जलन पनि शान्त हुन्छ ।

तुलसीका यिनै बहुआयामिक फाइदाका कारण बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनमा तुलसीको प्रयोग गर्दै आएका छन् । 

घरमा तुलसी किन रोपिन्छ? 

तुलसी रोपिएको घर तिर्थ समान हुन्छ भन्ने गरिन्छ ।  तुलसी रोप्दा घरमा भएका सम्पुर्ण वास्तु दोष हराएर जान्छ । तुलसी रोप्नाले सम्पुर्ण पापहरू नष्ट हुने र मृत्यु पछि स्वर्गमा वास हुने जनविश्वस छ ।

घरमा भएको तुलसीको विशेष ख्याल राख्नु पर्दछ । तुलसीमा नियमित पानी अर्पण गर्ने, साझँमा घिउको दियो बाल्ने गर्नु पर्दछ । दियो बाल्दा दियोको मुनी चामलको आसन लगाउनु पर्दछ । जुन घरमा नियमित बिहान बेलुका तुलसीको पूजा हुन्छ त्यस घरमा माता महालक्ष्मीको बास हुने धार्मिक मान्यता छ । साथै सो घरमा हमेशा सुख समृद्धिको वास हुने गर्दछ । 

तुलसी कहाँ  र कसरी रोप्ने 

वास्तुशास्त्र अनुसार तुलसीको बिरुवा पूर्व दिशामा लगाउनु सबैभन्दा शुभ मानिन्छ । तर यदि तपाईको घरमा पूर्व दिशामा कुनै ठाउँ छैन भने तपाईले उत्तर वा उत्तर-पूर्व दिशा (पूर्व दिशा) रोज्न सक्नुहुन्छ । यस दिशामा तुलसीको बिरुवा रोप्दा घरमा सकारात्मक उर्जा उत्पन्न हुन्छ ।

tulsi plant

घरको दक्षिणी भागमा तुलसीको बिरुवा लगाउनु हुँदैन । यसले दोष निम्त्याउँछ । तुलसीको पातलाई दाँतले चपाउनु हुँदैन बरु एकै चोटि निल्नुपर्छ । यसको पछाडि वैज्ञानिक कारण छ । वास्तवमा तुलसीको पातमा पारा अर्थात् मर्क्युरी  पाइन्छ, त्यसैले यसलाई चपाउँदा दाँतमा हानी हुन्छ ।

तुलसीलाई घरको आँगनमा मठ बनाएर महत्वका साथ रोप्नुको पछाडि धेरै वैज्ञानिक कारणहरु पनि जोडिएका छन् ।  घर आँगनमा रोप्दा यसले शोभा मात्र बढाउँदैन । बहुगुणी तुलसीलाई उचित संरक्षण गर्ने परम्परालाई हाम्रा पूर्खाहरुले धर्ममा जोडेका हुन् तर यसको वैज्ञानिक महत्व पनि त्यस्तै छ । धर्मसँग जोड्दा त्यो बढी प्रभावकारी र पनि हुने भएकाले यसो गरिएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It