News

बढ्न थाल्यो घरजग्गा कारोबार, यस्ता छन् ४ खास कारणः

Pinterest LinkedIn Tumblr

काठमाडौं । लामो समयबाट सुस्ताएको घरजग्गा कारोबारमा क्रमिक सुधारको सङ्केत देखिन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले अघिल्लो वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार पाँच गुणा भन्दा धेरैले बढेको देखाएको हो ।

यसबीचमा रियलस्टेट क्षेत्रले विविध चुनौतीको सामना गर्नुपर्यो । नयाँ भूउपयोग नियमावली, अर्थतन्त्रमा देखिएको संकट र बैंकिङ नितीका कारण लामो समयसम्म घरजग्गाको कारोबार ठप्प जस्तै भयो । 

तर पछिल्लो तीन महिना अर्थात्‌ साउन, भदौ र असोजको कारोबारसम्बन्धी विभागको तथ्याङ्क हेर्दा क्रमिक रूपमा बढ्न थालेको पाइएको छ । गत साउनमा २९१ कित्ताबाट ७७ हजार ६८ कित्ताकाट भएको थियो । 

भदौमा ३६ हजार २८० कित्ताबाट ८० हजार ३१७ कित्ताकाट भएको थियो । भने असोजमा ४७ हजार ३९८ कित्ताबाट एक लाख ६ हजार ३४९ कित्ताकाट भएको विभागको तथ्याङ्क छ । 

कित्ताकाटमा वृद्धि भएसँगै घरजग्गा कारोबारबाट राज्यले सङ्कलन गर्ने राजस्व पनि बढेको छ । गत साउनमा ३ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको सरकारले भदौमा झन्डै ३ अर्ब ३७ करोड र असोज महिनामा ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

यी हुन् घरजग्गा कारोबार सुधार हुनुका चार कारणः
कित्ताकाट खुल्नुः

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र एकाघरका दाजुभाइका अंशबन्डामा देखिएका जटिलता फुकाउन भन्दै गत साउनको अन्त्यमा कित्ताकाट फुकुवा गरेको थियो । जग्गा कित्ताकाटमा लगाएको रोक्का फुकुवा गरेसँगै कारोबारमा सुधार देखिन थालेको हो । अझैपनि कारोबारमा अपेक्षाकृत वृद्धि भइसकेको छैन । यद्यपि कित्ताकाट खुल्नुभन्दा अघिको तुलनामा घरजग्गा कारोबारमा १०-२० प्रतिशतले वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार अघिल्लो वर्षको असोजमा कुल १९ हजार १७८ कित्ताकाट भएको थियो । यसवर्षको असोजमा १ लाख ६ हजार ३४९ कित्ताकाट भएको छ ।

सरल घर कर्जाः

अर्कोतर्फ कित्ताकाट रोक्का गरिएको अवधिमा बैंकबाट प्रवाह हुने कर्जामा पनि कडाइ गरिएपछि घरजग्गा कारोबार शिथिल भएको थियो । घरजग्गा कारोबारबाट हुने राजस्व सङ्कलनमा पनि त्यसको व्यापक प्रभाव परेको थियो । वाणिज्य बैंकहरूले अहिले आधारदरको एक प्रतिशतदेखि अधिकतम पाँच प्रतिशतसम्म ब्याज लिएका छन् । पहिले भने आधारदरमा ६ देखि ७ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । यस हिसाबले ब्याजदर घटेको देखिन्छ ।

रेमिटेन्समा वृद्धिः 

अघिल्लो वर्षको साउन र भदौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २२ प्रतिशत रेमिटेन्स बढेर दुई खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । रेमिटेन्स वृद्धिको सोझो प्रभाव घरजग्गामा देखिने राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा रहेका घरपरिवारमध्ये ६८ प्रतिशतले घर वा जग्गा थपेको वा किनेको देखिएको थियो । 

व्यवसायीको आत्मविश्वासः

कित्ताकाट खुलेसँगै घरजग्गा खरिदबिक्री गर्नेहरूमा कारोबार वृद्धि हुनेमा आत्मविश्वास पलाएको देखिन्छ । अर्थतन्त्रका कतिपय आन्तरिक सूचक सकारात्मक देखिएपछि कारोबारमा उत्साह थपिएको छ । कित्ताकाट रोक्का गरिएको अवधिमा बैंकबाट प्रवाह हुने कर्जामा पनि कडाइ गरिएपछि घरजग्गा कारोबार शिथिल भएको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए । घरजग्गा कारोबारबाट हुने राजस्व सङ्कलनमा पनि त्यसको व्यापक प्रभाव परेको थियो ।

असोजदेखि सुधार हुन थालेको घरजग्गाको कारोबार कार्तिकमा भने खासै उत्साहजनक देखिएको छैन । दसैं-तिहार जस्ता चाडका कारण सार्वजनिक बिदा धेरै भएकाले घरजग्गा कारोबार केही घट्न सक्छ । यद्यपि हिउँद लागेसँगै घरजग्गाको खरिदबिक्री तथा नयाँ घर निर्माण र प्लटिङका काम बढ्ने हुँदा मंसिरदेखि कारोबार फस्टाउने अपेक्षा गर्न सकिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It