काठमाडौं । घर तथा अफिसलाई आकर्षक बनाउन बिरुवाहरू राख्ने गरेको पाइन्छ । बढ्दो शहरीकरण र रुखबिरुवाको विनासका कारण घर वरपर बिरुवा लगाउनु अनिवार्य जस्तै भएको छ । नेपालमा पनि इनडोर प्लान्ट प्रति आकर्षण बढ्दो छ । इनडोर प्लान्टले घरको सुन्दरता बढाउनुका साथै वातावरणमा सौहार्दता कायम राख्दछन् । वायुमण्डलमा हुने दूषित कणहरूलाई भगाउन मद्दत गर्दछन् । घरभित्रको हावा स्वच्छ र स्वस्थ बनाउन उपयोगी १० बिरुवाको बारेमा तल उल्लेख गरिएको छः
१. बारबर्टन डेजी (BARBERTON DAISY)

नासाले सन् १९८९ मा ‘क्लिन एयर स्टडी’ अर्थात् सफा हावासम्बन्धि एक अध्ययन गरेको थियो । जसमा बारबर्टन डेजी हावा शुद्ध गर्ने इनडोर प्लान्टहरं मध्ये एक उत्कृष्ट बिरुवाको रुपमा साबित भएको थियो । यसले वायुमण्डलमा भएका विषाक्त पदार्थहरू फोर्मल्डिहाइड, ट्राइक्लोरोइथिलीन र बेन्जिनको प्रभावकारी रुपमा हटाउँदछ । जुन पेन्ट, सिंथेटिक फाइबर जस्ता विभिन्न घरायसी सामग्रीमा रहेको पाइन्छ ।
२. स्नेक प्लान्ट (Snake plants)

स्नेक प्लान्ट एक लोकप्रिय इनडोर प्लान्ट हो । बिरुवा प्लान्टिङका पारखीहरूको घरमा यो बिरुवा अनिवार्य जस्तै देख्न सकिन्छ । यसले अधिकतम रुपमा हावा शुद्ध गर्न मद्दत गर्दछ । स्नेक प्लान्टले रातको कार्बनडाइअक्साइड (CO2) लाई अक्सिजनमा रूपान्तरण गर्दछ । अक्सिजन छोडेर र हावामा आर्द्रता थपेर, हावाबाट हुने एलर्जीहरूको प्रभावलाई कम गर्न मद्दत गर्दछ ।
३ गोदावरी

गोदावरीलाई अङ्ग्रेजीमा क्रिसेन्थेमम भनिन्छ । यसले अमोनिया र बेन्जिन लगायतका विषाक्त पदार्थलाई फिल्टर गर्न मद्दत गर्दछ, जुन प्रायः प्लास्टिक, डिटर्जेन्ट र ग्लुमा पाइन्छ । प्रायजसो यो बिरुवालाई आउटडोरमा लगाउने गरेको पाइन्छ । यद्यपि यो सुन्दर फुल्ने बिरुवालाई इनडोर अर्थात् घरभित्र कोठाहरूमा सजावटका लागि पनि लगाउन सकिन्छ ।
४. स्पाइडर प्लान्ट

हावा शुद्धीकरणका लागि एक उत्कृष्ट बिरुवा हो, स्पाइडर प्लान्ट । यसले हावामा अक्सिजन बढाउन र विषाक्त पदार्थ फिल्टर गर्न महत्वपूर्ण भुमिका खेल्दछ । यसले प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विलायक, कार्बन मोनोअक्साइड र xylene लगायतका विषाक्त पदार्थ फिल्टर गर्दछ । स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको नासाको एक अध्ययनले देखाएको छ ।
५. घ्यूकुमारी

एलोवेरा एक लोकप्रिय इनडोर बिरुवा हो जुन कम पानीमा जिवीत रहन्छ । डिटर्जेन्ट, पेन्ट र ग्लुमा पाइने रसायनहरूलाई शुद्ध गर्ने क्षमता घ्यूकुमारीमा हुन्छ । यसले रातको समयमा अक्सिजन फ्याँक्ने र कार्बन डाइअक्साइड अवशोषित गर्दछ ।
५. ब्रोड लेडि पाम

लेडि पाम कम हेरचाहमा पनि जिवित रहने बिरुवा हो । लेडी पामले वायुमण्डलबाट फॉर्मल्डिहाइड र अमोनिया हटाउन मद्दत गर्दछ । अमोनिया मानव र जनावरको मलमूत्र, औषधि उत्पादन, रबर, इत्यादिबाट सड्ने जैवीक पदार्थबाट उत्पन्न हुने ग्यास हो । अमोनियाको कारण आँखा, नाक र छालामा जलन हुने अर्थात् पोल्ने हुन्छ ।
लेडि पामले घरभित्रको हावालाई शुद्धता प्रदान गर्दछ ।
७. विपिङ फिग

विपिङ फिग सामान्य इनडोर प्लान्ट हो । जसको हेरचाहका लागि खास चिन्ता लिइरहन पर्दैन । यसलाई प्रत्यक्ष वा अप्रत्यक्ष सूर्यको प्रकाश चाहिन्छ । भिक्टोरियन समयदेखि लोकप्रिय इनडोर प्लान्ट विपिङ फिगले फार्मल्डिहाइड, जाइलिन र टोल्युइनको स्तर कायम राख्न मद्दत गर्दछ । गलैंचा, ग्याजेटहरू र घरेलु उपकरणहरूबाट उत्सर्जित हुने फोर्मल्डिहाइड, जाइलिन र टोल्युइन जस्ता विषाक्त पदार्थलाई हावाबाट विस्थापित गर्दछ । बिरुवाको हेरचाहमा समय दिन मुश्किल छ भने, यो प्लान्ट घरमा लगाउनु उपयुक्त विकल्प हुनसक्छ ।
८. चाइनिज एभरग्रीन

चाइनिज एभरग्रिन उत्कृष्ट इनडोर प्लान्ट हो । यसले डिटर्जेन्ट र सौन्दर्यका सामग्रीमा पाइने फर्माल्डिहाइड, बेन्जिन, ट्राइक्लोरोइथिलिन जस्ता रसायनहरू शुद्ध गर्दछ ।
९. केन्टिया पाम (Kentia Palm)

केन्टिया पामले हावामा भएको विषाक्त पदार्थलाई सफा गरेर वातावरण शुद्ध राख्दछ । यसले फार्मल्डिहाइड र अन्य सामान्य प्रदूषण फिल्टर गरेर हावालाई शुद्ध पार्दछ । यसले कार्बनडाइअक्साइड अवशोषित गर्न मद्दत गर्छ । केन्टिया पामले प्रतिवर्ष ६,००० पाउण्ड कार्बनडाइअक्साइड सोस्ने नासाको अध्ययनले देखाएको छ । यसले प्रत्यक्ष सूर्यको किरण लामो समयसम्म सहन सक्दैन । घामले बिरुवाको पात जलाउने जोखिम हुन्छ ।
१०. रबर प्लान्ट (FICUS ELASTICA)

रबर प्लान्ट अर्थात् ‘फिकस इलास्टिका’ एक इनडोर प्लान्ट हो । जसले घरबाट निस्कने हानिकारक ग्याँस अवशोषित गरी हावा शुद्धिकरण गर्दछ । रबर प्लान्टको पातले फर्मल्डिहाइड अवशोषित गर्दछ । फर्माल्डिहाइड रंग, काठको पोलिस र ग्यारेजका सामग्रीबाट उत्सर्जन हुन्छ । रबर प्लान्टले हावालाई शुद्ध पार्नुका साथै, वातावरणलाई थप शान्त र स्वस्थ बनाउँदछ । नासाको क्लीन एयर अध्ययनमा, यसले हावामा हुने फर्मल्डिहाइड, जाइलिन र टोल्युइन सफा गर्न प्रभावकारी भूमिका खेलेको थियो ।