Decor

कोठा सजावटका लागि ‘ड्रिमक्याचर’: सुन्दरताका साथै लाभदायक पनि

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरमा सुत्नेकोठा र बगैँचालाई आकर्षक बनाउन विभिन्न सजावटका सामग्रीको प्रयोग गरिन्छ । राम्रो,  सुन्दर अनि चल्तीमा देखिने गरेका सजावटका सामग्रीको सूचिमा पर्ने गरेको छ, ‘ड्रिम क्याचर’ । यसको प्रयोग संसारभरका धेरै घरमा देख्न सकिन्छ । हेर्दा आकर्षक र मनमोहक लाग्ने यो सामग्री राम्रो देखिने मात्रै नभएर लाभदायक पनि छ । यसको महत्व र खास अर्थ केकस्तो छ भन्ने विषयमा आज हामी कुरा गर्दैछौं । 

केहो त ड्रिम क्याचर ?

विश्वभर नै घरहरूमा सजावटका लागि प्रयोग हुनेगरेको ‘ड्रिम क्याचर’को महत्व र अर्थलाई फरक परिवेशमा अलग हिसाबले व्याख्या गरिएको छ । यद्यपि हरेक परिवेशमा विद्यमान आम विश्वासले नाममा जस्तै खास महत्व पनि बोकेको छ । धागो र प्वाँखहरू जडित आकर्षक यस हस्तनिर्मित सजावट सामग्री घरमै तयार गर्न सकिन्छ । जुन प्रभावकारी हुनुका साथै सर्वसुलभ पनि छ ।

ड्रिम क्याचर’ अर्थात् राम्रा सपनालाई साकार गराउने र नराम्रा सपनालाई फन्दामा पार्नु । भन्ने गरिन्छ, ड्रिम क्याचरको गोलो भाग अर्थात् वृतको बीचमा भएका जालीले नराम्रा सपनाहरूलाई समात्दछन् । यसरी जालीमा फसेका सपनाहरू दिनमा हराएर जान्छन् र ती निदाउँदा देखिएका नराम्रा सपनाको असर वास्तविक जीवनमा पर्दैन ।

त्यसैगरी ड्रिमक्याचरको सेन्टर पोइन्टबाट राम्रा सपनाहरू प्वाँखतिर हुँदै मानव मस्तिष्कमा प्रवेश गर्ने विश्वास गरिन्छ । यसो हुँदा व्यक्तिको जीवनमा सकरात्मक ऊर्जा सञ्चार हुन्छ । सपनाहरूलाई जीवनमा राम्रो सन्तुलन गरी त्यसबाट प्रभावित हुनलाई ड्रिमक्याचरको विशेष महत्व हुन्छ । ड्रिम क्याचर हेर्दा जति नै आकर्षक लाग्छ यसको प्रभाव पनि उत्तिकै राम्रो छ । 

यसर्थ घरमा कसैलाई पनि नराम्रो सपना नआओस, सँधै खुशीको माहोल बनीरहोस भन्नका लागि ड्रिम क्याचरलाई सुत्ने कोठाका साथै बगैँचामा पनि राख्ने चलन छ । यसरी हेर्दा, सहजै उपलब्ध हुनसक्ने ‘ड्रिमक्याचर’को प्रयोगले घरको सौन्दर्य र शान्ति दुवैमा योगदान गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It