Decor

व्यापारी भानुभक्त भन्छन्ः बाँसका फर्निचर वातावरणमैत्री पनि राम्राे आम्दानीकाे स्रोत पनि

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा अफिसमा फर्निचरको विशेष महत्व हुन्छ । प्रायजसो फर्निचरहरू घरको शोभा मात्रै होइन आवश्यकता पनि हो । हिजोआज बजारमा फर्निचरका लागि थुप्रै विकल्प उपलब्ध छन् । जसमा धातु, काठ र प्लाष्टिक लगायतबाट बनेका विभिन्न डिजाइनका फर्निचर सर्वसुलभ छन् । सबै किसिमका फर्निचर जुनसुकै ठाउँबाट ल्याउनसक्ने अवस्था भएता पनि बढ्दो महंगी र मुद्रास्फितिका कारण धेरैको ध्यान स्थानिय उत्पादनको प्रयोगमा केन्द्रित हुने क्रम बढ्दो छ । यसो हुँदैगर्दा स्थानिय स्रोत, साधन र सीपको बजारले प्राथमिकता पाएको छ ।

अफिस तथा घरमा बाँसका फर्निचरको प्रयोग मनग्यै देखिन्छ । बजारमा यसको प्रभाव र चुनौति कस्तो छ त ! आज हामीले केहि व्यवसायीहरूको अनुभवलाई समेटेका छौं । 

bamboo furniture shop

विगत २० वर्षदेखि बाँसका फर्निचर व्यवसाय गर्दै आएका नरेनदास श्रेष्ठ भन्छन्, ‘बेम्बो फर्निचर भन्नाले ‘बेत तथा बाँसबाट बनेका सामग्रीहरू हुन् ।’  जसमा बाँस, नियालो वा मालिङ्गो र बेतबाट डालो, र्‍याक, थुन्चे तथा फर्निचर, सोफा, टेबल बनाइन्छ । श्रेष्ठका अनुसार, ‘पहिलापहिला बेत तथा बाँसको सामानहरू आफै बनाइन्थ्यो । तर अहिले बनाउने मानिसको कमीले गर्दा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।’  

बाँसकाे फर्निचरका विभिन्न सकारात्मक पक्ष छन्, जसले ग्राहकहरूलाई आकर्षित गरेको छ । यी फर्निचरहरू ओजनमा हलुका, हेर्नका लागि आकर्षक हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो मानिन्छन् । अझ स्वदेशी उत्पादन हुनुले त झनै सगर्व ग्राहकलाई तानेको छ । जसले गर्दा स्थानिय उत्पादनले प्रोत्साहन पाइरहेको उनी बताउँछन् । बेत देख्दा बाँस जस्तै देखिने तर बाँस भन्दा बलियो र महङ्गो हुन्छ,’ उनले थपे । उनको पसलमा बाँस र बेतका कुर्सी सोफा ह्ययाङ्गर, कोक्रो, भाँडाकुँडा राख्ने र्‍याकहरु र धनकुटामा गाई गोठालाले बनाउने पर्दा आदि उपलब्ध छन् ।

श्रेष्ठ भन्छन्, ‘कच्चापदार्थको गुणस्तर र लागत अनुसार फर्निचरको मूल्य निर्धारण गरिएकाे हुन्छ । पहिलेको तुलनामा अहिले सामान निकै महङ्गो हुन थालेका छन् । मूल्य वृद्धिको प्रभाव यस व्यवसायमा पनि परेको हुँदा कतिपय अवस्थामा त मन हुँदाहुँदै ग्राहक रित्तो हात फर्किने गरका छन् । पहिला २ सय पर्ने कुर्सी अहिले ३ हजार सम्म पुगेको छ ।’ 

नेपालीपन तथा स्वदेशी सामानलाई प्रोत्साहन गर्न श्रेष्ठले बाँसकाे फर्निचर उद्योग रोजेको बताए ।  पारिश्रमिक नपुग्ने तथा काम नपाउने हुनाले पहिलेको तुलनामा अहिले यो क्षेत्रमा आकर्षण निकै कम भएको सुनाउँछन् । 

लक्ष्मी नगरकोटी विगत सात वर्षदेखि यस व्यवसायमा संलग्न छिन् । उनका अनुसार, स्वास्थ्य र धार्मिक आस्थामा ध्यान पुर्याउने ग्राहकहरूले बाँसका फर्निचर रोज्ने गरेका छन् । बेतलाई घरमा राख्नु एकदमै राम्रो मानिन्छ । बेतको कुर्सी, सोफा र दराज खरिदबिक्रि गर्दै आएकी नगरकोटी भन्छिन्, ‘साधारण सोफा सेटलिदा १८ हजार देखि माथि मूल्य पर्न जान्छ’ । 

कतिपय ग्राहकहरुले त बेतलाई पुजा गर्नको लागि समेत किन्ने गरेका छन् । ग्राहकहरुले ढाड दुख्यो भने बेतको पलङ्गमा सुते निको हुन्छ भन्ने गरेकाे उनले सुनाइन । बेतमा चिसो नसड्ने  हुनाले प्लास्टिक भन्दा राम्रो हुन्छ ।  काठकोमा बस्ने भाग/कुचन गयो भने बनाउन हैरान हुने भएकाले ग्राहकले बेत राेज्ने गर्दछन् । 

ग्राहकहरूले बेतबाट बनेका सामानलाई राम्रो भन्ने गरेकाले र ससुराहरुको पालादेखि यही व्यवसाय गर्दै आएकाे नगरकोटीले बताइन् । बेतलाई पानीमा भिजाउन नहुने हुनाले बाहिर पानीमा भिजाउनका लागि ग्राहकले प्लास्टिक रोज्छन् ।  

कुपण्डोल क्षेत्रमा फर्निचरको व्यवसाय गरीरहेका भानुभक्त अधिकारी विगत ३० वर्ष देखि यस पेसामा जोडिएका हुन् । सुरूमा उनले साहुकोमा काम गर्दा यसको बारेमा धेरै कुरा थाहा पाएका थिए । बेम्बोको मूल्य अवस्थालाई लिएर उनी भन्छन्, ‘बेतका सामाग्रीहरू बाहिरबाट ल्याउनु पर्ने भएकाले प्लास्टिकका सामाग्रीको तुलनामा महङ्गो हुन्छ,’ । साथै यस्ता सामाग्रीले वातावरणलाई पनि राम्रो गर्छ किनकी नियालो, बाँस कुहिएर जान्छ । बाँसलाई हामी खानको लागि पनि प्रयोग गर्छौ । अन्य फर्निचरको तुलनामा बाँसका फर्निचर धेरै हदसम्म वातावरणमैत्री छ । काठको तुलनामा हेर्दा यस्ता सामाग्रीहरूमा खानेकुरा तथा फलफूल राख्दा केही नहुने उनको दावी छ । 

प्लास्टिक कुहिएर नजाने र वातावरणलाई खराब गर्ने हुनाले यसको तुलनामा बाँसका सामग्रीहरू हलुका तथा जहाँ राख्न पनि सकिने साथै शरीरकाे लागि पनि राम्रो गर्ने, बाल्न पनि सकिने, र मलको रुपमा पनि प्रयोग गर्न सकिने स्वच्छ र राम्रा हुने उनले बताए । ‘दुई जना मिस्त्रीले निर्माण गरेको सामग्रीले व्यापार धान्न सम्भव छैन । तसर्थ बाहिर निर्माण भएका सामग्री खरिद गरी बिक्री गरिरहेका छौं, अधिकारीले सुनाए । 

आफ्नो सीप, थोरै लगानी, कामदार धेरै नचाहिने, शाेरुमकाे लागि डेकोरेसन पनि नचाहिने, सार्न सजिलो भएकाले यो व्यवसाय रोजेको व्यवसायीहरूले बताए । सबै स्तरका मानिसहरूको रोजाइमा पर्न सफल भएकाले अहिलेसम्म याे व्यवसाय चलेकाे उनीहरूको अनुभवले बताउँछ । यद्यपि अधीक प्रतिष्पर्धा र भारतबाट आउने महङ्गो कच्चापदार्थ, निर्माण मूल्य, भाडा र मिस्त्रीकाे ज्याला आदिले गर्दा महङ्गो हुने हुँदा व्यापार खस्कँदो छ । 

 सामान्यतया, एउटा सोफाकाे मूल्य साढे ८ हजार पर्दछ । याे हलुका, सार्न सजिलो, काठ भन्दा टिक्ने र मर्मत गर्न सजिलो हुन्छ । बेत तथा नियालाेका सामानहरू प्लास्टिक भन्दा महङ्गो र काठ भन्दा सस्तो हुन्छ । हेर्दा राम्रो मान्ने, लुक्स राम्रो, हस्तकलालाई  विशेष प्राथमिकता दिने ग्राहकले कम्फर्टेबल नभए पनि मन पराउँछन् । यद्यपि ‘यस्ताे छेस्का जता बसे पनि घोच्छ’ सोच्ने हो भने काठ नै आरामदायी हुन्छ । यि सबै ग्राहककाे विचारमा भर पर्ने व्यवसायीहरू बताउँछन् ।

यि सामानहरू हाेटल रेष्टुरेन्टमा बढी प्रयाेग हुन्छ भने साधारण मुडा, कोक्राे, ह्ययाङ्गर साधारण घरहरुमा प्रयाेग हुन्छ । यि सामानहरू सजावटकाे लागि मात्र नभइ सस्तो र बलियो हुने भएकाले मानिसहरुले यस्ता सामाग्री रोज्ने अधिकारी बताउँछन् । 

नेपाल बाहिरका देशहरुमा राम्राे फिनिसिङकाे खाेज्ने र यहाँ साधारण हुने भएकाले नेपाली बेम्बाे फर्निचरकाे उल्लेख्य आकर्षण भने हुन सकेको छैन ।

कोभिडकाे महामारी भन्दा अगाडि व्यापार निकै राम्राे हुने गरेकाे थियाे । महामारी पछि व्यापार खस्कदै गएको छ । व्यवसाय विस्तार गर्नसके मूलुक बाहिर समेत माग हुने भएपनि मूल्यवृद्धि र स्थानिय स्तरमा कच्चापदार्थको उपलब्धता नहुनाले चूनौतिको सामना गर्नुपरेको व्यवसायीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It