News

हावाहुरीले ढाल्यो सुनकोसीको झोलुंगे पुल, टावर जडानमा कमजोरी भएको हुनसक्ने आशंका 

Pinterest LinkedIn Tumblr

काठमाडौँ । उदयपुर र खोटाङलाई जोड्ने निर्माणाधीन झोलुङ्गे पुल ढलेको छ । कटारी नगरपालिकाका १० सोरुङछबिसेको चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा सिमाना बाईटारस्थित सुनकोसीमा निर्माणाधीन पुलको उदयपुर तर्फको टावर ढलेसँगै पुल भत्किएको हो । 

शुक्रबार मध्यान्हमा चलेको हावाहुरीले जडान गर्ने क्रममा ठड्याइएको टावर फेदमै भाँचिएको हो । टावर जडान गरेर ठड्याउने क्रममा नटबल्टु कस्न नपाई चर्को हावाहुरी चल्दा छावर ढल्न पुगेको निर्माण कम्पनी नेपाल फुबारी–स्वर्णिम–अंशुमन निर्माण सेवाले जनाएको छ । 

पुलको उदयपुरतर्फको टावर भाँचिएर नदीतर्फ ढलेको छ भने खोटाङतर्फको टावरमा कुनै क्षति भएको छैन । खोटाङतर्फको टावर यसअघि नै जडान गरेर ठड्याइसकेको थियो भने उदयपुरतर्फको भने ठड्याउने क्रममै ढलेको हो । उदयपुरतर्फको टावर आसपासमा मानव बस्ती नभएको र टावर नदीतर्फ ढलेकाले कुनै जनधनको क्षति पुगेको छैन । तर खोटाङतर्फ पनि ढल्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । टावर जडानमा कमजोरी भएकाले टावर ढलेको हुनसक्ने स्थानीयको आशंका छ । 

खोटाङतर्फको टावरनजिकै सुनकोसी आधारभूत विद्यालय र केही पसलहरू भएकाले मानिसको आवतजावत बाक्लै हुने गरेको छ । उदयपुरतर्फको टावर नदीतिर ढलेकाले जनधनको क्षति नभएको तर, खोटाङतर्फको टावर पनि त्यसरी ढल्यो भने विद्यालय घर र पसलमा क्षति हुने उच्च जोखिम छ ।

उदयपुरतर्फको टावर ढलेपछि त्रसित भएका स्थानीयहरूले टावर बलियो गरी जडान गर्न माग गरेका छन् । उदयपुरतर्फ क्षति नभए पनि खोटाङतर्फ विद्यालय र पसलहरू भएकाले बालबालिका, शिक्षक र व्यापारीलाई जोखिम हुने भन्दै नियमन निकाय र ठेकेदारलाई ध्यान दिन आग्रह गरेका छन् ।

प्रदेश सरकारमार्फत ३ करोड ९५ लाख लागतमा निर्माण भइरहेको सो पुल ०७८ कात्तिक १० गते सम्पन्न गर्ने गरी ०७६ वैशाख ११ गते सम्झौता गरेर काम सुरु भएको थियो । अढाई वर्षभित्र निर्माण सम्पन्न गर्न‘नेपाल फुबारी–स्वर्णिम–अंशुमन निर्माण सेवा’ ले ठेक्का दिइएको थियो । तर सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि २ पटकसम्म म्याद थप भइसकेको छ । 

कोभिड तथा आवश्यक निर्माण सामग्री ढुवानी गर्न सडक अप्ठ्यारो भएकाले काममा ढिलाई भएको भन्दै सुरुमा ५ महिना र दोस्रो पटक ६ महिना थपिएको म्याद थपिएको थियो । हालसम्म पुलको ८० प्रतिशतभन्दा बढी काम सकिएकोको छ । 

चिप्टारबाईटार नाका जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने उदयपुर र खोटाङवासीका लागि महत्त्वपूर्ण स्थान हो । उदयपुरतर्फ कटारी १० र ११ का सोरुङ, लिम्पाटार, ठाँटीलगायतताप्ली गाउँपालिकाका १, २ र ५ वडाका ओख्ले, रुपाटार, कटहरे तथा खोटाङतर्फ हलेसी तुवाचुङ २ का डिकुवा, बाहुनीडाँडा र दुर्छिमलगायत बस्तीवासी सो नाका भएर आउजाउ गर्ने भए पनि पुल नहुँदा वर्षौँदेखि डुङ्गा तरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

हिउँदमा पानी घट्ने हुँदा जोखिम कम भए पनि बर्खा याममा बाढीको उच्च जोखिम मोलेरै डुङ्गामार्फत कोसी वारपार गर्नुपर्ने बाध्यता उनीहरूको छ । पुल लगभग काम सकिएकाले आउँदो वैशाखभित्र सम्पन्न भएर सुरक्षित आवतजावत गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It