काठमाडौं । सम्पदा बस्तीहरू हाम्रो इतिहास बताउने स्तम्भहरू हुन्, जसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मठ-मन्दिर, पाटी, पौवा, पोखरी, कुवा ढुङ्गेधारा वरपरका बस्तीहरू सम्पदा बस्ती हुन् । यस्ता पर्यटकीय सम्पदा जोगाइ पर्यटन प्रर्वद्धन गर्नमा हाम्रो पिँढी चुकिरहेको देखिन्छ । यसैबीच पर्यटन प्रवर्द्धनको लक्ष्यसहित सरकारले बुंगमतीलाई सम्पदा बस्ती घोषणा गरेको छ । आम नागरिकमा सचेतनाका लागि युएन-ह्याबिट्याटको परियोजना अन्तर्गत पर्य-सम्पदा बस्तीका स्थानीयमा लक्षित कार्यक्रम गर्दै आएको छ ।
पर्य सम्पदा जोगाउन र पूर्वाधार विकासको कार्यशाला निर्माण गर्न युएन-ह्याबिट्याटले गत शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका कर्मचारी, प्राविधिक तथा इन्जिनियरहरू सहभागि थिए । सम्पदा बस्तीमा भएका निजी घरहरू बनाउने तथा पुनर्निमाण गर्ने क्रममा भोगिएका चुनौतीहरूबारे छलफल र निचोड निकाल्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा युएन-ह्याबिट्याट परियोजनाका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले स्वागत गर्दै ललितपुर महानगरपालिकाको सम्पदा क्षेत्रमा रहेका परम्परागत बस्ती भित्रका निजी घर बनाउँदाका समस्या, चुनौती र पूर्वाधार विकासमा ह्याबिट्याट केन्द्रित रहेको बताइन् ।
पछिल्लो समय बुंगमती क्षेत्रको पर्य सम्पदा जोगाउन बस्तीमा सञ्चालित सीपमूलक तालिमलाई ललितपुर महानगरले सरहाना गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाए । कार्यक्रममा उनले ललितपुरलाई पर्यटन हबको रूपमा स्थापना गर्न आवश्यकता अनुसारको कामहरू महानगरले गर्दै आएको जानकारी दिए । ‘ललितपुर महानगरपालिका सम्पदा पर्यावरण र पर्यटन तिनै कुरामा धनी छ । सम्पदामा अब्बल र गर्व गर्न लायक छ । पर्यावरण क्षेत्रमा जेजति कामहरू गरिएको छ सायदै देशका ७ सय ५२ स्थानीय तहले गरेका होलान्, उनले भने ।
यसअघि काठमाडौं महानगरले नक्सा संरचना निर्माणमा इन्सेन्टीभको व्यवस्था गरेको थियो । सो सन्दर्भ जोड्दै अर्यालले ललितपुरले त्यसतर्फ नसोचेको तर अब कसरी जाने भन्ने कुरामा परिपक्क अवस्थामा पुगेको बताए ।
कार्यक्रममा युएन-ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रवीण बज्राचार्यले सम्पदा बस्तीका निजी घरहरू संरक्षणको महत्वबारे जानकारी गराए । निजी भवनको आफ्नै वास्तुकला र पहिचान छ । त्यसलाई सम्पदामैत्री बनाउन सबैले चासो दिनुपर्ने उनको भनाइ छ ।
निजी भवनहरूको विषयमा स्थानीय तहहरूबाट धेरै राम्रा कामहरू भइरहेका छन् । तर एकरूपता नआएकाले प्राविधिकहरूलाई द्विविधा भइरहेको छ । यस्ता कुराहरूलाई प्रर्वद्धन गरेर प्रतिस्पर्धात्मक रूपले अगाडि बढे निजी आवास बनाउने व्यक्तिहरूले सकारात्मक रूपमा लिने उनको भनाइ छ ।
कार्यक्रमको क्रममा बज्राचार्यले बुंगमती पर्य सम्पदा तथा बस्ती संरक्षणमा कार्य गर्दा आएका समस्याहरूको बारेमा जानकारी गराए । प्रवर्द्धनका क्रममा बुंगमतीमा सम्पदामैत्री घरहरू निर्माण गर्ने उद्देश्यले लोड बेरिङ सिस्टम अघि सारिएको छ । जसअनुसार घर बनाउन स्थानियलाई निशुल्क नक्सा पासका लागि सहयोग गर्न अगाडि बढेको थियो । यद्यपि ६ महिनासम्म पनि २ जना भन्दाबढि नक्सा पास गर्न नआएको तितो अनुभव युएन-ह्याबिट्याटसँग छ ।
साथै बुंगमतीमा देखिएको लालपुर्जा र कित्ताकाटसम्बन्धी समस्या, बाल्कोनिको समस्या र सेटव्याकको व्यवस्थामा सहजिकरणको आवश्यकता छ ।
पूर्व सदस्य, नगर योजना आयोगका पूर्व सदस्य सञ्जीव शाक्यले काठमाडौं महानगरपालिकाले परम्परागत शैलीमा निजी घर पुनर्निर्माणलाई उत्प्रेरित गर्ने प्रोत्साहन नीति कार्यक्रमहरू सार्वजनिक गरेका थिए । काठमाडौं महानगरले सम्पदा वरपरका भवन बनाउन ८ देखि ३२ लाख सम्म अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । त्यस्तै हङकङ विश्वविद्यालयका जोशुआ बोलचोभरले ग्रामीण तथा शहरी क्षेत्रमा बनाइएको संरचना निर्माणको ड्राफ्ट मोडल प्रस्तुत गरे । कार्यक्रममा उपस्थित प्राविधिकहरूले पुरानो मौलिकता नबिग्रिने गरि निर्माणको आवश्यकता रहेको देखिन्छ । साथै यस अघि भएका कमिकमजोरीलाई सुधार्न के गर्न सकिन्छ भन्ने कुरामा गृहकार्य गर्नुपर्ने बताएका छन् ।
पुरातत्व विभाग गुठि संस्थान स्थानीय तह जस्ता संस्थाहरूको संलग्नता हुने हुँदा कस्को अधिकार क्षेत्र भित्र पर्ने हो सो कुरामा समस्या आउने गरेको छ । पुराना कुराहरूलाई संरक्षण, प्रर्वद्धन गर्दै पुराना र नयाँ संरचनालाई समन्वयीकरण गरी अगाडि बढ्नुपर्ने महानगरका प्राविधिक कर्मचारीहरूको सुझाव छ । पुराना संरचनाको हकमा कौसी र छानाबाट झर्ने पानीको उचित व्यवस्थापन गर्न विशेष ध्यान दिन प्राविधिकहरूको सुझाव छ ।
के हो युएन-ह्याबिट्याट यसले के काम गर्छ !
- यो युएन एजेन्सीहरू मध्यको एक हो । जसले सन् १९८० देखि नेपालमा काम गर्दै आएको छ ।
- यसले पर्य सम्पदा परियोजना अन्तर्गत बुंगमति लगायतका सम्पदा वस्तिमा लामो समयदेखि काम गर्दै आएको छ ।
- शहरी विकास, मानव बसोवास बस्ती विकास तथा विस्तार, भुमिहिनका मुद्धाका साथै सम्पदा बस्ती पुनरूत्थान, पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्दछ ।
- युएन-ह्याबिट्याट ले शहरी विकासको चपेटामा परेका बस्तीहरूलाई जीवन्त बनाउन मुर्त र अमुर्त सम्पदाहरूलाई जगेर्ना गर्दै आएको छ ।
- बुंगमती, पिलाछेँ लगायत काठमाडौंका १० ओटा सम्पदा बस्तीहरूमा सहकार्य र समन्वयमा काम गरिरहेको छ ।
- पर्य सम्पदा परियोजना २०१८ देखि कार्यन्वयनमा आएको हो । यस परियोजना अन्तर्गत ह्याबिट्याट भुकम्पमा क्षति भएका सम्पदासँग जोडिएर रहेका भौतिक पूर्वाधार पाटी, पौवा,पोखरीको पुनर्निर्माणका कामहरू गरिरहेको छ ।
- नगरपालिकाका प्राविधिक कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम, महानगरपालिकाको हरित पुनरुत्थान निति, पर्यटन प्रवद्धन निति बनाउने र कार्यन्वयनसम्बन्धि काम गर्दै आएको छ ।