News

पर्यटन प्रवर्द्धन र सम्पदा बस्ती विकास तथा विस्तार गर्दै  युएन-ह्याबिट्याट

Pinterest LinkedIn Tumblr

काठमाडौं सम्पदा बस्तीहरू हाम्रो इतिहास बताउने स्तम्भहरू हुन्, जसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मठ-मन्दिर, पाटी, पौवा, पोखरी, कुवा ढुङ्गेधारा वरपरका बस्तीहरू सम्पदा बस्ती हुन् । यस्ता पर्यटकीय सम्पदा जोगाइ पर्यटन प्रर्वद्धन गर्नमा हाम्रो पिँढी चुकिरहेको देखिन्छ । यसैबीच पर्यटन प्रवर्द्धनको लक्ष्यसहित सरकारले बुंगमतीलाई सम्पदा बस्ती घोषणा गरेको छ । आम नागरिकमा सचेतनाका लागि युएन-ह्याबिट्याटको परियोजना अन्तर्गत पर्य-सम्पदा बस्तीका स्थानीयमा लक्षित कार्यक्रम गर्दै आएको छ ।

UN Habitat

पर्य सम्पदा जोगाउन र पूर्वाधार विकासको कार्यशाला निर्माण गर्न युएन-ह्याबिट्याटले गत शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका कर्मचारी, प्राविधिक तथा इन्जिनियरहरू सहभागि थिए । सम्पदा बस्तीमा भएका निजी घरहरू बनाउने तथा  पुनर्निमाण गर्ने क्रममा भोगिएका चुनौतीहरूबारे छलफल र निचोड निकाल्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा युएन-ह्याबिट्याट परियोजनाका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले स्वागत गर्दै ललितपुर महानगरपालिकाको सम्पदा क्षेत्रमा रहेका परम्परागत बस्ती भित्रका निजी घर बनाउँदाका समस्या, चुनौती र पूर्वाधार विकासमा ह्याबिट्याट केन्द्रित रहेको बताइन् । 

 युएन-ह्याबिट्याटका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधान

पछिल्लो समय बुंगमती क्षेत्रको पर्य सम्पदा जोगाउन बस्तीमा सञ्चालित सीपमूलक तालिमलाई ललितपुर महानगरले सरहाना गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाए । कार्यक्रममा उनले ललितपुरलाई पर्यटन हबको रूपमा स्थापना गर्न आवश्यकता अनुसारको कामहरू महानगरले गर्दै आएको जानकारी दिए । ‘ललितपुर महानगरपालिका सम्पदा पर्यावरण र पर्यटन तिनै कुरामा धनी छ । सम्पदामा अब्बल र गर्व गर्न लायक छ । पर्यावरण क्षेत्रमा जेजति कामहरू गरिएको छ सायदै देशका ७ सय ५२ स्थानीय तहले गरेका होलान्, उनले भने । 

यसअघि काठमाडौं महानगरले नक्सा संरचना निर्माणमा इन्सेन्टीभको व्यवस्था गरेको थियो । सो सन्दर्भ जोड्दै अर्यालले ललितपुरले त्यसतर्फ नसोचेको तर अब कसरी जाने भन्ने कुरामा परिपक्क अवस्थामा पुगेको बताए ।  

कार्यक्रममा युएन-ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रवीण बज्राचार्यले सम्पदा बस्तीका निजी घरहरू संरक्षणको महत्वबारे जानकारी गराए । निजी भवनको आफ्नै वास्तुकला र पहिचान छ । त्यसलाई सम्पदामैत्री बनाउन सबैले चासो दिनुपर्ने उनको भनाइ छ । युएन-ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रवीण बज्राचार्य

निजी भवनहरूको विषयमा स्थानीय तहहरूबाट धेरै राम्रा कामहरू भइरहेका छन् । तर एकरूपता नआएकाले प्राविधिकहरूलाई द्विविधा भइरहेको छ । यस्ता कुराहरूलाई प्रर्वद्धन गरेर प्रतिस्पर्धात्मक रूपले अगाडि बढे निजी आवास बनाउने व्यक्तिहरूले सकारात्मक रूपमा लिने उनको भनाइ छ ।

कार्यक्रमको क्रममा बज्राचार्यले बुंगमती पर्य सम्पदा तथा बस्ती संरक्षणमा कार्य गर्दा आएका समस्याहरूको बारेमा जानकारी गराए । प्रवर्द्धनका क्रममा बुंगमतीमा सम्पदामैत्री घरहरू निर्माण गर्ने उद्देश्यले लोड बेरिङ सिस्टम अघि सारिएको छ । जसअनुसार घर बनाउन स्थानियलाई निशुल्क नक्सा पासका लागि सहयोग गर्न अगाडि बढेको थियो । यद्यपि ६ महिनासम्म पनि २ जना भन्दाबढि नक्सा पास गर्न नआएको तितो अनुभव युएन-ह्याबिट्याटसँग छ ।

साथै बुंगमतीमा देखिएको लालपुर्जा र कित्ताकाटसम्बन्धी समस्या, बाल्कोनिको समस्या र सेटव्याकको व्यवस्थामा सहजिकरणको आवश्यकता छ । 

नगर योजना आयोगका पूर्व सदस्य सञ्जीव शाक्य

पूर्व सदस्य, नगर योजना आयोगका पूर्व सदस्य सञ्जीव शाक्यले  काठमाडौं महानगरपालिकाले परम्परागत शैलीमा निजी घर पुनर्निर्माणलाई उत्प्रेरित गर्ने प्रोत्साहन नीति कार्यक्रमहरू सार्वजनिक गरेका थिए । काठमाडौं महानगरले सम्पदा वरपरका भवन बनाउन ८ देखि ३२ लाख सम्म अनुदान दिने व्यवस्था गरेको जानकारी दिए ।  त्यस्तै हङकङ विश्वविद्यालयका जोशुआ बोलचोभरले ग्रामीण तथा शहरी क्षेत्रमा बनाइएको संरचना निर्माणको ड्राफ्ट मोडल प्रस्तुत गरे । कार्यक्रममा उपस्थित प्राविधिकहरूले पुरानो मौलिकता नबिग्रिने गरि निर्माणको आवश्यकता रहेको देखिन्छ । साथै यस अघि भएका कमिकमजोरीलाई सुधार्न के गर्न सकिन्छ भन्ने कुरामा गृहकार्य गर्नुपर्ने बताएका छन् । 

पुरातत्व विभाग गुठि संस्थान स्थानीय तह जस्ता संस्थाहरूको संलग्नता हुने हुँदा कस्को अधिकार क्षेत्र भित्र पर्ने हो सो कुरामा समस्या आउने गरेको छ । पुराना कुराहरूलाई संरक्षण, प्रर्वद्धन गर्दै पुराना र नयाँ संरचनालाई समन्वयीकरण गरी अगाडि बढ्नुपर्ने महानगरका प्राविधिक कर्मचारीहरूको सुझाव छ । पुराना संरचनाको हकमा कौसी र छानाबाट झर्ने पानीको उचित व्यवस्थापन गर्न विशेष ध्यान दिन प्राविधिकहरूको सुझाव छ । 

UN Habitat

के हो युएन-ह्याबिट्याट यसले  के काम गर्छ !

  • यो युएन एजेन्सीहरू मध्यको एक हो । जसले सन् १९८० देखि नेपालमा काम गर्दै आएको छ । 
  • यसले पर्य सम्पदा परियोजना अन्तर्गत बुंगमति लगायतका सम्पदा वस्तिमा लामो समयदेखि काम गर्दै आएको छ । 
  • शहरी विकास, मानव बसोवास बस्ती विकास तथा विस्तार, भुमिहिनका मुद्धाका साथै सम्पदा बस्ती पुनरूत्थान, पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्दछ । 
  • युएन-ह्याबिट्याट ले शहरी विकासको चपेटामा परेका बस्तीहरूलाई जीवन्त बनाउन मुर्त र अमुर्त सम्पदाहरूलाई जगेर्ना गर्दै आएको छ । 
  • बुंगमती, पिलाछेँ लगायत काठमाडौंका १० ओटा सम्पदा बस्तीहरूमा सहकार्य र समन्वयमा काम गरिरहेको छ ।
  • पर्य सम्पदा परियोजना २०१८ देखि कार्यन्वयनमा आएको हो । यस परियोजना अन्तर्गत ह्याबिट्याट भुकम्पमा क्षति भएका सम्पदासँग जोडिएर रहेका भौतिक पूर्वाधार पाटी, पौवा,पोखरीको पुनर्निर्माणका कामहरू गरिरहेको छ । 
  • नगरपालिकाका प्राविधिक कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम, महानगरपालिकाको हरित पुनरुत्थान निति, पर्यटन प्रवद्धन निति बनाउने र कार्यन्वयनसम्बन्धि काम गर्दै आएको छ । 
प्रतिक्रिया दिनुहोस्
Pin It