Lifestyle

तुलसी विवाह किन र कसरी गर्ने ! यस्ता छन् जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । कार्तिक शुक्ल पक्षको हरिबोधनी एकादशी वर्षभरकै ठुलो र महत्वपूर्ण एकादशी हो । यस दिन तुलसीको विवाह भगवान विष्णुको स्वरूप शालिग्रामसँग विधिपूर्वक गरिन्छ । तुलसी विवाह गर्नाले लक्ष्मी र भगवान विष्णुको कृपा प्राप्त हुने र घरपरिवारमा समृद्धि प्राप्त हुने जनविश्वास छ । 

पुराणमा उल्लेख भएअनुसार भगवान विष्णु आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका थिए । र पछि आजकै दिन अर्थात् हरिबोधनी एकादशीका दिन उठेका थिए । यस दिन भगवान विष्णुको उपासना गर्दा अन्य एकादशीमा भन्दा बढी फलदायी हुने समेत पुराणमा उल्लेख छ । 

Tulsi plant

पवित्र र औषधिजन्य गुण भएको तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भन्ने मान्यता रहेको छ । कोजाग्रत पूर्णिमाबाट हरिबोधनी एकादशीको दिनसम्म लगातार बत्ती बालेर आजकै दिन समापन पनि गरिन्छ । तुलसी विवाहले मनसुनको अन्त्य भएको र विवाह सिजनको सुरुवात भएको जनाउँदछ । धार्मिक, सांस्कृतिक र वैज्ञानिक रुपमा महत्वपूर्ण मानिने तुलसीलाई आँगनमा मठ बनाएर रोप्ने गरिन्छ । 

बिहान सबेरै उठेर तुलसीमा जल चढाएर मात्र आफ्नो दैनिकीमा लाग्ने चलन हजारौं वर्षबाट चलिआएको छ । घर अगाडिको तुलसीको मठ जन्म मृत्यु र विवाह जस्ता कार्यका लागि पवित्र मानिन्छ । आजको दिन विधिपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ । यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसँग विवाह गरिदिने परम्परा पनि रहेको छ । आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वांगी भगवानलाई अर्पण गरी प्रसाद स्वरूप खाने प्रचलन पनि रहेको छ ।

तुलसी विवाह विधिः

तुलसी विवाह किन र कसरी गर्ने ! यस्ता छन् जान्नैपर्ने कुराहरू

तुलसीको विवाह गर्दा हिन्दू वैवाहिक संस्कारजस्तै सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समयमा मङ्गल गीत (फाग)  पनि गाउने गरिन्छ । हरिबोधनी एकादशीको साँझ तुलसीको मठलाई गेरु वा रातो पहेँलाेले रङ्गरोगन गरेर सजाइन्छ । त्यसपश्चात् मठकाे चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्ती ओढाइन्छ । मठलाई साडीमा बेरेर तुलसीलाई चुरापोते लगाइ शृंगार गर्ने गरिन्छ । श्रृंगार सकिएपछि भगवान गणेश आदि देवताहरूको पूजन हुन्छ । साथै  शालिग्राम शिलाको पनि विधिवत् रुपमा पूजा  गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गरिन्छ । एउटा नरिवल, दक्षिणा टीकाको साथ राख्नु पर्छ । त्यसपश्चात् भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमा गराउनुपर्छ । यी सबै कर्मकाण्ड सकेर आरती गर्ने गरिन्छ । त्यसपछि विवाहोत्सव सम्पन्न हुन्छ । तर यो चलन सबैतिर पूरा गर्ने गरेकाे देखिन्न, सक्नेले सबै विधि पूरा गर्ने गर्दछन् ।

तुलसीको विवाह गर्नुका धार्मिक मान्यताहरूः
  • घरमा खुशी, शान्ति र आर्थिक समृद्धि हुने,
  • शालिग्राम र तुलसीको पूजा गर्दा पितृदोष कम हुने, 
  • अविवाहित व्यक्तिको लागि विवाहको सम्भावना बढ्ने,
  • परिवारिक बाधा अवरोध र दुर्भाग्यबाट छुटकारा पाइने,
  • शालिग्रामसँगै तुलसीको पूजा गर्दा अकाल मृत्युकाे भय नहुने,
  • तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने, आदि ।
प्रतिक्रिया दिनुहोस्
Pin It