काठमाडौं । घर तथा अफिसमा सजावटका लागि विभिन्न सामग्रीको प्रयोग गर्ने गरिन्छ । जसमा सबैभन्दा धेरै प्रयोग हुने गरेको सजावट सामग्री हो फोटो फ्रेम । कतिपय फोटो फ्रेममा घर तथा अफिसका उपलब्धि र यादहरूसँग जोडिएका तस्वीर हुन्छन । अर्कोतर्फ कतिपय फ्रेम भित्रका तस्वीरहरूले शुभ प्रभाव पारोस् भन्ने उद्देश्यले राखिएका पनि हुन्छन् । हामीले अघिल्लो लेखमा सातवटा सेतो घोडा समुद्रमा दौडदै गरेको फोटो घर तथा अफिसमा राख्नुको रहस्यका विषयमा चर्चा गरेका थियौं । त्यसैगरी, आज हामी ‘सेतो हाँस अर्थात राजहंश फोटोफ्रेमको चर्चा गर्दैछौं

सेतो रंगको हाँस अर्थात् राजहंसः

हिन्दु धर्ममा आस्था राख्नेहरूले राजहंसलाई पवित्र पक्षीको रूप मान्दछन् । यो पक्षीको फोटो धेरैजसो घर तथा अफिसमा लगाउने गरेको पनि पाइन्छ । पुराणमा पनि घरको वास्तु दोष निवारणका लागि राजहंसको तस्विर राख्नु उपयुक्त हुने बताइएको छ । अधिकांश समय पानीमा बिताउने पक्षीहरू मध्ये हाँस पनि एक हो । पानीलाई सुखको प्रतीक मानिन्छ । शास्त्रमा भनिएको छ, पानीमा तैरिएको राजहंस सफलता र ऊर्जाको प्रतीक हो ।

पानीमा तैरिरहेको राजहंस तस्वीरले वरपर नकारात्मक उर्जाको प्रवाह हुन दिदैँन । यो तस्विर विशेषतः  घरको ईशान काेणमा( उत्तर पूर्व)  राजहंसको तस्बिर लगाउनु राम्रो मानिन्छ ।  

धनप्राप्ति, सुख  र शान्तिका लागि राजहंसको विशेष भूमिका हुने वास्तुशास्त्रीहरू बताउँछन् । राजहंसले जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ । त्यसैगरी यदि तपाईं ऋणको चपेटामा पर्नु भएको छ । अथवा भनौँ जति नै मेहनत गरेपनि ऋण र आर्थिक सङ्कटबाट मुक्ति पाउन सक्नुभएको छैन भने राजहंसको तस्वीर सहयोगी बन्न सक्ने देखिन्छ । 

प्रायः पुराणमा उल्लेख हुने गरेका सुझावहरूले राम्रो परिणाम नै दिने गरेको पाइन्छ । पुराणमा उल्लेख भएअनुसार, आर्थिक संकट र कार्यकुशलता र सफलतामा हुने गरेको बाधाबाट छुटकारा पाउनका निम्ति एकजोडी राजहंसको तस्वीर घर तथा अफिसमा लगाउनु अत्यन्तै राम्रो मानिन्छ । यसो गर्दा व्यवधानहरू हटेर जानुका साथै, कार्यसफलताको सम्भावना बढेर जान्छ ।

साथै एक जोडी राजहंसकाे तस्बिर सुत्ने कोठामा लगाउनु राम्रो मानिन्छ । यो तस्वीरको प्रभावले दाम्पत्य जीवनमा पनि प्रभाव पार्दछ । पति पत्नीमा माया, विश्वास बढ्ने र सम्बन्ध सुमधुर बन्ने विश्वास गरिन्छ ।

राजहंसको तस्वीर कहाँ र कसरी राख्ने ?  

  • घर तथा अफिसका बैठक कोठाको उत्तरपूर्व दिशामा पर्ने गरि समुद्रमा तैरिरहेका राजहंसको तस्बिर राख्नाले सकारात्मक उर्जाको प्रवाह हुन्छ ।  सुख, समृद्दि र धन प्राप्ति हुने विश्वास छ । यो तस्वीर लगाउँदा धनकी देवी लक्ष्मीको वास हुने  विश्वास छ ।
  • व्यवसायिक क्षेत्र तथा कार्यलयमा भने दक्षिण दिशामा राख्दा उत्तम मानिन्छ । 
  • दक्षिण दिशा, महालक्ष्मीको दिशा भएकाले पनि उक्त स्थानमा राख्दा सधैँ लक्ष्मीको कृपा रहने विश्वास छ । 
  • बच्चाहरूको पढ्ने कोठामा राजहंसको तस्बिर राख्नाले बच्चाको पढाइलेखाइका कृयाकलापमा मन लाग्ने मान्यता छ ।

अन्त्यमा, आकर्षण र सौन्दर्यका लागि मात्रै घरका भित्ताहरूमा जनावरका तस्वीरहरू राख्नु उपयुक्त हुँदैन । तस्वीर राख्नु अघि कुन जनावर अथवा पक्षीको तस्वीरले के अर्थ राख्छ भन्ने कुराको ज्ञान हुनु जरुरी छ । वास्तुशास्त्रको सुझावले राम्रो परिणाम दिने हुँदा धेरैले यसमा विश्वास गर्ने गरेका छन् । वास्तु शास्त्र अनुसार घरमा हिंस्रक जनावरको तस्बिर लगाउनु नराम्रो मानिन्छ । हिंस्रक जनावरको तस्बिरले घरमा नकारात्मक ऊर्जा का प्रवाह हुने छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It