News

घरजग्गाको किनबेच बढ्न थाल्यो, माघमा करिब ४ अर्ब बराबर राजस्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार र राजस्व संकलनमा सुधार आउन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघ महिनामा ४१ हजार ८६ घरजग्गा किनबेच भएको छ । 

देशभरका स्थानिय तहले कित्ताकाट खुलाएसँगै कारोबारमा वृद्धि हुन थालेको हो । गत पुसको तुलनामा माघमा २२ सय १५ वटा बढी घरजग्गा किनबेच गरेको छ । 

माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ४१ हजार घरजग्गा लिखत पारित हुँदा ३ हजार ६९८ वटा घरजग्गा नामसारी, ४ हजार ८९ संशोधन, ३० हजार ९५६ रोक्का, २३ हजार ७६० फुकुवा र १३ सय १ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

माघ महिनामा सबैभन्दा बढी मालपोत कार्यालय नेपालगञ्जबाट १ हजार ६८५ घरजग्गा किनबेच भएको छ । 

त्यस्तै, जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५६५ वटा,इनरुवा सुनसरीबाट १४ सय ९९, तौलिहवा कपिलवस्तुबाट ११ सय ५४ घरजग्गा किनबेच भएको छ ।

राजविराज सप्तरीबाट ११ सय ३२, बेलबारी मोरङबाट ११ सय १० र विराटनगर मोरङबाट ११ सय ५ वटा घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयबाट ४ हजार १९५ घरजग्गा किनबेच भएको छ । विभागअनुसार उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट माघ महिनामा १ हजार घरजग्गा किनबेच भएको छ । 

त्यसैगरी, लगनखेलबाट ९८२ वटा, कलंकीबाट ७२० वटा, चावहिलबाट ४४४ वटा, साँखुबाट ४१८ वटा, मनमैजुबाट २७५ वटा, डिल्लीबजारबाट १८९ वटा, टोखाबाट १४४ वटा र गोटीखेलबाट २३ वटा घरजग्गा किनबेच भएको छ ।

माघ महिनामा करिब ४ अर्ब राजस्व संकलनः

घरजग्गा किनबेच बढेसँगै राजस्व संकलनमा पनि सुधार आएको छ । माघ महिनामा कारोबार बढेकाले ३ अर्ब ७५ करोड ८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

माघ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत २२ करोड ७४ लाख रुपैयाँ, बागमतिबापत १४ करोड ४० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९६ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

त्यसैगरी पूँजीगत लाभकरबापत १ अर्ब ७ करोड ८० लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५९ लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । 

साथै, विभागले सो अवधिमा ३० करोड ७३ लाख रुपैयाँ राजस्व छुट दिएको छ । देशभरका मालपोत कार्यालयमध्ये माघमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले ३२ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । 

त्यस्तै, भक्तपुर मालपोत कार्यालयबाट २३ करोड ३२ लाख रुपैयाँ, डिल्लीबजारबाट २१ करोड ७० लाख रुपैयाँ, कलंकीबाट २० करोड १३ लाख रुपैयाँ, चावहिलबाट १९ करोड २० लाख रुपैयाँ, कास्कीबाट १२ करोड ९० लाख रुपैयाँ र चितवन मालपोतबाट १० करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

  २४ हजार जग्गा कित्ताकाटः

माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता कायम भएको छ । जुन नियमावली जारी भएपछिको हालसम्मकै उच्च कित्ताकाट हो ।  

नयाँ भूउपयोग नियमावलीको र बैंकमा देखिएको तरलताको अभावले प्रभावित बजार सुधारोन्मुख छ । माघ महिनाको कारोबार पछिल्लो सात महिनामा सबैभन्दा उच्च रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It