Finance

बैंकहरूले घरजग्गामा ऋण लगानी घटाए

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह हुने ऋण लगानी रकम ८२ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर बजार क्षेत्रमा जाने कर्जामा कडाइ गरेसँगै चालु आर्थिक वर्षमा कर्जा प्रवाह घटेको हो । 

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्र (रियल इस्टेट)मा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । जबकि गतबर्षको सोही अवधिमा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । 

जसमध्ये आवासीय घरजग्गामा ८ महिनामा २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । गत आर्थिक वर्षको सो अवधिमा ४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।

यो आर्थिक वर्षको ८ महिनामा व्यापारिक कम्प्लेक्समा १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी भएको पाइएको छ । भने गत वर्ष सोही अवधिमा ५ अर्ब ७० करोड ९५ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

अन्य जग्गा खरिद र प्लटिङमा २ अर्ब १८ करोड ५१ लाख कर्जा ऋणात्मक छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा पहिले नै प्रवाह गरेको रकम अहिले उठाउँदा ऋणात्मक देखिएको हो । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा पर्याप्त कर्जा प्रवाह हुन नसक्दा ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ । जग्गा खरिद र प्लटिङमा गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ८८ करोड ९९ लाख ऋण प्रवाह भएको राष्ट्र बै‌कंकाे तथ्यांक छ । 

चालु आर्थिक वर्षको ८ महिनामा ९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (डेढ करोडसम्म) प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ३९ अर्ब ४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It