News

बढ्न थाल्यो रडको मूल्य, घर निर्माणको खर्च कति बढ्ला ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिँउद लागेसँगै घर निर्माणको चहलपहल बढ्न थाल्छ । जसले गर्दा निर्माण सामग्रीको खपत बढ्नुका साथै मूल्यमा पनि हेरफेर आउँछ । यतिबेला, उद्योगहरूले नयाँ रड उत्पादन नगर्दा भण्डारण रित्तिदैँ गएकाले रडको मूल्य वृद्धि भएको पाइएको छ ।

आर्थिक मन्दीका कारण सदाजस्तो संरचना निर्माणमा चुस्तता नदेखिएता पनि रडको मूल्य भने बढ्दो क्रममा छ । नेपाल निर्माण सामग्री संघकाअनुसार रडको मूल्य एक-दुई दिनमै दुईदेखि तीन रुपैयाँ बढिरहेको छ ।

हाल बजारमा रडको मूल्य प्रतिकिलो ९७ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पुगेको छ । 

संघकाअनुसार बिजुली लाइन कटौती भएकाले रड उत्पादन गर्दै आएका केही उद्योगहरूले नयाँ रड उत्पादन गर्न सकेका छैनन् ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली चलाएका उद्योगहरूले बक्यौता महसुल नबुझाएको भन्दै केही उद्योगको बिजुली लाइन काटिदिएको छ । 

बिजुली काटिएकामध्ये केही रड बनाउने उद्योग पनि छन् । ती उद्योगहरू बिजुली नहुँदा बन्द भएका छन् । उत्पादन भएको छैन । 

रडको मूल्य कसरी निर्धारण हुन्छ !

रडको मूल्य आकार अनुसार दुई प्रकारले निर्धारण गरिएको हुन्छ । आधार दर (बेस रेट) र आधार दरमा थप साढे तीन रुपैयाँ ।  ८, १०, १२, १६, २० र २५ एमएम (मिमी) को डन्डीको मूल्यलाई आधार दर मानिन्छ । यी डन्डीको आधार दरमा थप साढे तीन रुपैयाँ जोडिन्छ । 

हाल बजारमा रडको आधार दर अर्थात् १०, १२ र १६ एमएमको किलोको ९७ रुपैयाँ छ । भने ८, २० र २५ एमएमको रड एक सय रुपैयाँ ५० पैसा छ । रडको मूल्य  ब्रान्ड र कम्पनी अनुसार फरक हुन्छ ।

सामान्य घर बनाउन ८, १०, १२, १६, २० एमएम (मिमी) को रड प्रयोग हुन्छ । त्यस्तै अपार्टमेन्ट, हाउजिङ लगायत ठूला परियोजनामा ३२ एमएम (मिमी) सम्मको रड प्रयोग हुन्छ ।

सामान्य साढे दुई तले घर बनाउँदा कति रड लाग्छ? 

रड धेरैजसो पिलर, बिम, स्ल्याब र भर्याङमा प्रयोग हुन्छ । स्ल्याबमा १० र ८ एमएमको डन्डी प्रयोग हुन्छ । बिममा ८, १२ र १६ एमएमको प्रयोग हुन्छ । त्यस्तै पिलरमा १२, १६ र २० एमएमको प्रयोग गरिन्छ । रिङ बाँध्न पनि ८ एमएमकै डन्डी प्रयोग गरिन्छ ।

यसको आधारमा साढे दुई आना जग्गामा बन्ने साढे दुई तले अर्थात् ९ सय वर्गफिटको घरमा जगदेखि छतसम्म १४ हजार किलो रड प्रयोग हुन्छ । यसलाई हालको रडको मूल्यमा रूपान्तरण गर्दा साढे १३ लाखदेखि १४ लाख रुपैयाँसम्म खर्च लाग्छ । भने यसमा रड ढुवानी ज्याला थप गरिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It