News

१५ दिनमा उपत्यकाका सडकमा रहेका ६५ प्रतिशत खाल्टाखुल्टी मर्मत

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो १५ दिनमा उपत्यकाभित्र विभिन्न स्थानका सडकमा रहेका  ६५ प्रतिशत खाल्टाखुल्टी मर्मत गरिएको छ । गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको संयुक्त बैठकमार्फत उक्त जानकारी गराइएको हो ।

बैठकमा सडकसँग सम्बन्धित ८ निकायको उपस्थिति थियो । बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत रूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता रहेको जनाए ।

निर्माण सम्बन्धि हरेक निकायले आफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक निभाउन र गुणस्तरीय रूपमा विकास निर्माण सम्पन्न गर्न क्षेष्ठले जोड दिएका छन् । 

बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुखहरू सहभागी थिए । 

अर्को तर्फ विद्युत प्राधिकरणका संरचनाका कारण सडकमा समस्या आएको विषयलाई पनि बैठकमा समेटिएको थियो । जसअन्तरगत, काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्न आठ सदस्यीय स्थायी संयन्त्र गठन गरिएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर डा. विजय जैसीले संयन्त्रको संयोजकत्व लिएका छन् ।

सो संयन्त्रमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन् ।

त्यसैगरी बैठकले तिनकुनेस्थित बाग्मती पुल र बिजुली बजारस्थित धोबीखोलाको पुलमुनिबाट कोरिडोर सञ्चालन गर्ने निर्णय गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको निर्माण स्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनस्थापना गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It