News

काममा ढिलाइ गरेपछि गाउँपालिकाले तिरायो जरिवाना

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्याङ्जाको ​अर्जुनचौपारी गाउँपालिकाले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिवाना गर्ने भएको छ । गाउँपालिकाको प्रशासकीय भवन समयमै निर्माण नगरेको भन्दै किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिलाई जरिवाना गर्न लागेको हो ।   

गाउँपालिकाले सुकेधारा काठमाडौंस्थित उक्त निर्माण कम्पनीलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना तिराउने भएको हो । 

गाउँपालिकाको बैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार निर्माण कम्पनीलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ बमोजिम जेठ १ गतेबाट लागू हुने गरी जरिवाना तिराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए ।

आफुले सबै काम सम्पन्न गरिसकेको र पहिलो तल्लामा कार्यालय सञ्चालन भइरहेको निर्माण कम्पनीले दावी गरेको छ ।

हाल पहिलो तल्लामा कार्यलय सञ्चालन भइरहेको भएपनि १५ महिनामा भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमा काम नसकेपछि नियमअनुसार जरिवाना तिर्नुपर्ने उनले बस्नेतले बताए ।

‘हामीले नियमअनुसार काम नगरेकाले जरिवाना गरेका हौं । अब निर्माण कम्पनीले काम सक्न जति दिन लगाउँछ सोहीअनुसार जरिवाना हुन्छ । नियमअनुसारको जति जरिवाना हुन आउँछ सो रकम तिर्दिन भन्न पाइँदैन,’ उनले भने ।   

गाउँपालिकाले कुल लागतको ०.०५ प्रतिशत दैनिक जरिवाना गर्न लागेको हो । भवन निर्माण सक्न अझै १५ दिन लाग्ने भएकाले भवन हस्तान्तरण नभएसम्म जरिवाना हुने गाउँपालिकाले जनाएको छ । 

कुल ७ करोड ४१ लाख ५८ हजार ३८७ रुपियाँ ९० पैसा लागतमा १५ महिनामा निर्माण सम्पन्न गर्ने भनि २०७७ पुस १५ गते निर्माण सम्झौता भएको थियो । तर निर्माण कम्पनीले मूल्य समायोजन गरेर ३२ लाख रुपैयाँ थप भुक्तानी लिए पनि १५ महिनामा निर्माण सकेको छैन । 

नेपाल सरकारबाट ३० वर्षका लागि ३० रोपनी जग्गा भाडामा लिएर पालिका भवन निर्माण थालिएको छ । एक हलसहित ३२ कोठा रहेको उक्त साढे चार तले भवनको हलको छाना छाउन र झ्यालको ग्रिललगायतका काम बाँकी छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It