News

अनलाइनबाट घरको नक्सा पास गर्न सकिने सुबिधा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुचारु गरेको छ । यससँगै फाइल बोकेर कार्यालयसम्म आउनपर्ने बाध्यता हटेको छ ।

नगरपालिका भित्रका नागरिकले सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अनलाइनबाट घरको नक्सा पासको निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

अनलाइन नक्सा प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई  प्रशिक्षण समेत दिइएको छ ।

साथै अनलाइन नक्सा पास व्यवस्थापन प्रणालीमा सूचीकृत सात कन्सल्टेन्सी मार्फत अनलाइनबाट घरको नक्सा पास व्यवस्थापन प्रणाली (इविपिएस) अनुसार काम अगाडि बढिरहेको छ ।

इविपिएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत सेवाग्राहीले अनलाइन निवेदन दिन सक्नेछन् । कन्सल्टेन्सीमार्फत पेस भएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गरिन्छ । र शाखा प्रमुखले रुजु गरि दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुनेछ । 

सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजरनेम र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारी लिन सकिने सुविधा रहेको छ ।

अनलाइन प्रणालीबाट कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय सहजै पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । यसले फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउनपर्ने बाध्यता हट्नेछ । 

काम छिटो छरितो र पारदर्शी हुनुका साथै कागजातहरू अनलाइनमै सुरक्षित रहने हुँदा इविपिएस प्रभावकारी बन्दै गएको नगरपालिकाकाले जनाएको छ ।

नक्सा पासको शुल्क र डिजिटल दस्तखतको प्रयोगमा  जोड दिँदै नगरपालिकाले आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी गरिरहेको छ ।

सुरुवाती अवस्थामा सेवाग्राहीलाई असहज भएपनि विस्तारै यसको प्रभाव बढ्दै जाने र सेवाग्राहीलाई सहजता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It