काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक सम्ममा वाणिज्य बैंकहरूको आधारदर अर्थात बेसरेट औसत २ दशमलव १९ प्रतिशतले बढेको छ । बेसरेट वृद्धि भएसँगै ऋणीहरू भने मारमा परेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्म यी २७ वाणिज्य बैंकको बेसरेट औसत ६.९१ प्रतिशत थियो । यद्यपि चालू आर्थिक वर्षको सोही अवधिमा बेसरेट वृद्धि भएर औसत ९.१० प्रतिशत पुगेको छ ।
आधारदर भनेको न्यूनतम कर्जाको सीमा पनि हो । बैंकहरूले कर्जा प्रवाह गर्दा आधारदरका आधारमा ब्याजदर तोक्छन् । बैंकले कर्जाको प्रकृति अनुसार तोकिएको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप्दछन् । बैंकको आधारदर बढ्दा त्यसको प्रत्यक्ष असर ब्याजदरमा पर्दछ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् ।
कुनै पनि बैंकले आधारदर भन्दा तल झरेर कर्जा नदिने हुँदा पनि अहिले वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको व्याजदर १० प्रतिशतभन्दा कम छैन । आधारदर बढी भएका बैंकबाट कर्जा लिँदा ऋणीलाई ब्याजदर महंगो पर्नजान्छ । यो एक वर्षको अन्तरालमा वाणिज्य बैंकहरूको आधारदर निकै बढेको छ ।
हाेम लाेन सम्बन्धी थप जानकारीकाे लागी तल दिइएकाे लिङ्कमा क्लिक गरेर पढ्न सक्नुहुन्छ:
१० प्रतिशतभन्दा बढी बेसरेट भएका दुई बैंक
बेसरेटका आधारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महङ्गो कर्जाको ब्याजदर सनराइज र मेगा बैंकको देखिएको छ । यी बैंकको आधारदर १० प्रतिशतभन्दा बढी रहेको छ जुन अन्य वाणिज्य बैंकको तुलनामा महङ्गो अर्थात धेरै हो ।
चैत मसान्तसम्म आधारदर १० प्रतिशतभन्दा बढी हुनेमा मेगा बैंक र सनराइज बैंक रहेका छन् । सनराइज बैंकको आधारदर गत आवको चैत मसान्तमा ७ दशमलव ५९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १०.११ प्रतिशत पुगेको छ । यो बैंकको एक वर्षको अन्तरालमा आधारदर २.८८ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी गत आर्थिक वर्षको चैत मसान्तमा मेगा बैंकको आधार दर ७.५९ प्रतिशत थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा यो बैंकको आधार दर १०.१० प्रतिशत कायम भएको छ । एक वर्षको अन्तरालमा यो बैंकको आधार दर २.५१ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै चैत मसान्तसम्म अन्य १७ वटा वाणिज्य बैंकको आधारदर ९ प्रतिशत भन्दा बढी छ । सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसमा स्टान्डर्ड चार्टर्ड बैंकको ७ दशमलव ५५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ७ दशमलव ३१ प्रतिशत बेसरेट रहेको छ ।
२०७७ चैत देखि २०७८ चैतसम्ममा विभिन्न बैंकको ब्याज वृद्धिदरः
बैंकको नाम | चैत अन्तिमसम्मको आधारदर २०७७ | चैत अन्तिमसम्मको आधारदर २०७८ | वृद्धिदर |
प्रभु बैंक | ७.०६% | ९.२९% | २.२३% |
कुमारी बैंक | ७.६३% | ९.८५% | २.२२% |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ५.३३% | ७.५५% | २.२२% |
नेपाल बैंक | ५.९८% | ८.१९% | २.२१% |
सिभिल बैंक | ७.८२% | ९.९४% | २.१२% |
नेपाल ईन्भेष्टमेन्ट बैंक | ५.९५% | ८.०६% | २.११% |
नविल बैंक | ६.१८% | ८.२२% | २.०४% |
नेपाल क्रेडिट एन्ड कमर्स बैैक | ७.४१% | ९.६२८% | १.८७% |
सेन्चुरी बैंक | ७.७७% | ९.६३% | १.८६% |
राष्ट्रिय वाणिज्य बैंक | ५.५०% | ७.३१% | १.८१% |
नेपाल एसबीआई बैंक | ७.४६% | ९.२६% | १.८०% |
एनएमबी बैंक | ७.१९% | ८.९६% | १.७७% |
नेपाल बंगलादेश बैंक | ७.५६% | ९.१०% | १.५४% |
बैंक अफ काठमाडौं | ७.६०% | ८.९६% | १.३६% |
कृषि विकास बैंक | ७.४८% | ८.२८% | ०.८०% |
औसत | ६.९१% | ९.१०% | २.१९% |