Opinion

नवनिर्मित ‘देवकोटा सङ्ग्रहालय’ हाम्रा लागि अर्को तीर्थस्थल हो- साहित्यकार शुभेच्छु 

Pinterest LinkedIn Tumblr
काठमाडौं । हरेक वर्ष लक्ष्मीपूजाको दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइन्छ । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । उनै महाकविको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले  सङ्ग्रहालय निर्माण गरेको छ । सोही विषयमा हामीले वर्तमान समयका साहित्यानुरागी धारणा जान्ने प्रयत्न गरेका छौं । देवकोटामाथि नै विद्यावारिधि गरेका साहित्यकार रमेश शुभेच्छुसँग बसोबास संवाददाता बबिना तिमल्सिनाले तयार गरेको अन्तरवार्ताको आंशिक प्रश्नोत्तर तल प्रस्तुत छः
१. भर्खरै निर्माण सम्पन्न महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयबारे यहाँको धारणा के छ ?

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महान् प्रतिभा हुन् । उनी जस्ता विशिष्ट प्रतिभाका नाममा सङ्ग्रहालय बन्नु सबैका लागि खुसीको कुरा हो । नेपाली लेखकका नाममा र देवकोटाका नाममा सङ्ग्रहालय बन्नु सारा नेपालीकै लागि खुसीको कुरा हो । हामीले विश्व साहित्यिक मञ्चमा देखाउन मिल्ने प्रतिभामध्ये देवकोटा अग्रणी हुन् । उनी आफ्नै समयमा पनि पहिलो पटक नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने प्रतिभा हुन् । उनलाई विदेशीहरूले पनि कुनै न कुनै रूपले सम्झन्छन् । यस अर्थमा देवकोटाका नाममा सङ्ग्रहालय बन्नु खुसीको कुरा हो । यो नेपाली साहित्यको मात्र होइन शिक्षा र समग्र बाङ्मयको क्षेत्रमा पनि स्मरणीय काम हो । ​​​​​​​

मेरा विचारमा यो काम अलि अगाडि नै गर्नुपर्थ्यो । साह्रै ढिलोमा पनि देवकोटा शतवार्षिकी मनाउने क्रममा नै सम्पन्न गर्नुपर्थ्यो । देवकोटा शतवार्षिकीमा धेरै अरु काम भए पनि यो काम छुटिरहेको थियो । त्यस बेला नै सम्पन्न गर्न सकेको भए देवकोटाकै घर जोगाएर, त्यस घरकै सबलीकरण गरेर सङ्ग्रहालय बनाउन सकिन्थ्यो । त्यसबेलाको समितिको एउटा बैठकमा कुरा उठाएको पनि हो तर कसैले वास्ता गरेनन् । त्यस बेला नगर्दा अहिले देवकोटाको वास्तविक घर गुम्यो र त्यही आकारमा नयाँ घर बन्यो । विगतमा जे भए पनि यो सङ्ग्रहालय  बन्यो । यो खुसीको कुरा हो । अब हामी देवकोटालाई एउटै सङ्ग्रहालयमा प्रवेश गरेर हेर्न बुझ्न र पढ्न पनि पाउँछौँ । ​​​​​​​

२. सङ्ग्रहालयमा केही कमीकमजोरीहरू देख्नुभएको छ ? यसमा तपाईंलाई चित्त नबुझेको कुरा के छ ?

यहाँको पहिलो प्रश्नमै भनिहालेँ देवकोटाको जुन घर थियो त्यसै घरलाई सङ्ग्रहालय बनाउन पाएको भए राम्रो हुन्थ्यो । अब यस रुपमा बनाउँदा फेरि पुरानो संरचनामा जानु वैज्ञानिक नहुन सक्थ्यो । यसमा लिफ्ट पनि छ । आधुनिक शौचालय पनि छ । मार्बल र सिमेन्टको प्रयोग पनि छ ।

यसले देवकोटागृहको पुरातत्त्व चाहिँ बचाउन सकेन भन्ने हो । यस विषयमा अरु धेरै पुरातत्वविद्हरूले पनि आवाज नउठाएका होइनन् । काठमाडौँ भुइँचालोको पनि केन्द्र हुँदा र देवकोटाको घरको उचाइ अग्लै हुँदा अहिले जे बन्यो त्यो ठिक छ । यसमा देवकोटाका कृतिहरू संकलन गर्दा पहिलो संस्करणलाई संकलन गरिनुपर्छ । उनका पाण्डुलिपिहरूको संरक्षण गरिनुपर्छ । देवकोटाका समग्र तस्बिरहरू संकलन गरिनुपर्छ । यो ठाउँ साँच्चै नै साहित्यिक मात्र होइन बाङ्मयिक तीर्थस्थल बनिनुपर्छ ।

३. यो सङ्ग्रहालय प्रज्ञा प्रतिष्ठानले निर्माण गर्यो । के प्रज्ञा प्रतिष्ठानले नै निर्माण गर्नुपथ्यो र, राज्यका अरु निकायले गर्न सक्तैन थिए र ? 

यो काम प्रज्ञाप्रतिष्ठानले मात्र नभएर त्रिभुवन विश्वविद्यालयले पनि गर्न सक्थ्यो । संस्कृति मन्त्रालयले नै पनि गर्न सक्थ्यो । शिक्षामन्त्रालयले नै पनि गर्न सक्थ्यो । कुनै साहित्यिक संस्थाले गरे पनि हुन्थ्यो । देवकोटाको परिवार नै अगाडि सरे पनि हुन्थ्यो । जसले गरे पनि गर्नुपर्थ्यो । यस पटक प्रज्ञाप्रतिष्ठानले कदम उठायो । त्यस कदममा राज्यको सहयोग रह्यो । तत्कालीन प्रधानमन्त्रीले पनि महत्व दिए । यो राम्रो काम भयो । 

प्रज्ञाप्रतिष्ठानले यसरी क्रमशः संस्थापकका नाममा सङ्ग्रहालय बनाउँदै जानु पनि राम्रो हुने छ तर प्रज्ञाप्रतिष्ठानको काम सङ्ग्रहालय निर्माण भन्दा पनि प्रज्ञाचेतनाको विकास नै हो । यसले आफ्नो कार्यालय प्रयोजनबाहेक निर्माणकार्यमा लागिरहनु उति सान्दर्भिक हुँदैन । यो बौद्धिक संस्था हुँदा यस किसिमका कामको संयोजन र समन्वय चाहिँ गरिरहनुपर्छ । यस पटकको परिषद्मा प्रशासनिक अनुभव भएका कुलपति र सदस्यसचिव रहेकाले अलि सहजै काम सम्पन्न भयो । सधैँ यस्तो हुनुपर्छ भन्ने छैन । यस्ता काम सम्बन्धित प्रतिभाका जन्म पालिकाहरूले पनि गर्न सक्छन् । प्रदेश सरकारले पनि गर्न सक्छन् देवकोटाका नाममा प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा बन्यो यो खुसीको कुरा हो ।

४. यो कदमले नेपाली साहित्यलाई शशक्त बनाउन सघाउ पुर्याउने कुरामा कत्तिको आशावादी हुन सकिन्छ ?

सङ्ग्रहालयले साहित्यलाई सशक्त बनाउने होइन । साहित्य एवम् संस्कृतिकर्मीहरूलाई आफ्ना कर्ममा लागिरहन अभिप्रेरित गर्ने हो । यो एउटा प्रतीकात्मक अभिप्रेरक काम हो । अब देवकोटा राज्यका सम्पदा बनेका छन् । उनको संरक्षण राज्यको कर्तव्य हो । मैले त धेरै अन्तर्वार्ता र लेखहरूमा देवकोटालाई राष्ट्रिय विभूति बनाउन प्रस्ताव गरेको छु, आवाज उठाएको छु । अज विश्वप्रसिद्ध साहित्यकारहरू सेक्सपियर, लुसुन, गोर्की आदिका जन्मघरहरू विश्वका साहित्यकारहरूका महान् तीर्थस्थल बनेका छन् । हाम्रामा पनि भानुजन्मस्थल चुँदी रम्घा तीर्थस्थल बनेको छ त्यस्तै देवकोटाले आर्जिएको, बसेर सिर्जना गरेको घर सङ्ग्रहालय बन्नु खुसीको कुरा हो । हाम्रा लागि अर्को तीर्थस्थल हो । यसले देवकोटा साहित्यको व्यवस्थित अध्ययनका लागि अभिप्रेरित गर्नका साथै प्रतिभाका नाममा सम्पदाहरूको विकासमा सघाउ पुर्याउँछ । यसका केन्द्रीयतामा हुने विमर्शले साहित्यको विकासमा पनि टेवा नै पुग्छ ।

५. तपाईं  त अङ्ग्रेजी साहित्यको पनि विद्यार्थी । यहाँको अनुभवमा विशवमा लेखकका नामका सङ्ग्रहालयको अवस्था कस्तो छ ? यसले लेखकहरुलाई कस्तो सघाउ पुर्याउन सक्छ ? 

साहित्य र लेखकहरूलाई समर्पित एक हजार भन्दा बढी सङ्ग्रहालयहरू संयुक्त राज्य अमेरिकामा मात्र अवस्थित छन् । संसारभर यस किसिमको सम्पदा संरक्षणको प्रभाव फैलिएको छ । कुन कुन मुलुकमा कस कसको सङ्ग्रहालय छ भन्ने विषय छुट्टै अध्ययनको विषय हुन सक्छ ।  यस्ता सूचना वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ । प्रायः अन्य सम्पदालाई जस्तै  साहित्यिक सङ्ग्रहालयहरूको लागि समिति बनाएर काम गर्ने गरेको पाइन्छ ।  युरोपमा विशेष गरी बलियो प्रतिनिधित्वको साथ विश्वभरका विद्वान्‌हरू र सङ्ग्रहालय पेसेवरहरू बिच  सहकार्य भएको देखिन्छ । सङ्ग्रहालयहरू सांस्कृतिक सम्पदाका रुपमा रहन्छन् र त्यहाँ सोही सम्पदासँग सम्बन्धित व्यवसायीहरूसँग सङ्ग्रहालयले सहकार्य गर्ने र निश्चित शुल्क लिएर पर्यटकीय स्थलका रुपमा विकास गर्ने परम्परा देखिन्छ । त्यस क्रममा लेखकको घर र जन्मघर एवम् आफन्तका घर जस्तै मावली घरलाई पनि सम्बन्धित लेखकका सङ्ग्रहालय सर्किट बनाएर पर्यटन प्रवर्द्धन गरेको पनि पाइन्छ । यसले व्यक्ति प्रतिभा र उसका कर्मलाई माटोसँग जोडेर उजागर गर्ने काम गर्दछ ।

देवकोटाको जन्मघर अलग्गै छ । राज्यले वा यही सङ्ग्रहालयले भविष्यमा देवकोटाको जन्मघरलाई पनि देवकोटा सङ्ग्रहालयको अर्को शाखा बनाउन सक्छ । यस्ता सङ्ग्रहालयले उन्नत समाजको विकासमा सघाउ पुर्याउँछन् । विकास भनेको बाटोघाटो, पुलपुलैसा, यातायात, भ्यु टावर मात्र होइन । समाजको मनोवैज्ञानिक परिवर्तनका लागि र सांस्कृतिक विकासका लागि सङ्ग्रहालयलगायतका सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन आवश्यक हुन्छ । देवकोटाको सङ्ग्रहालय बन्नु भनेको बौद्धिक मानिसको सङ्ग्रहालय बन्नु हो । यसले समाजका सर्वसाधारणलाई बौद्धिकता सिकाउँछ र बौद्धिक कर्म गर्न अभिप्रेरित गर्छ । कुनै पनि विश्वप्रसिद्ध लेखक वा बौद्धिक व्यक्ति नेपाल भ्रमणमा आयो भने उसले प्रकृतिसँगै देवकोटा सङ्ग्रहालयको पनि भ्रमण गर्छ । यो क्रम बढ्दै जाँदा यो सङ्ग्रहालय राज्यको अभिन्न सांस्कृतिक सम्पदा बन्दछ ।

६. सङ्ग्रहालयले साँच्चै कवि देवकोटाको अस्तित्व जोगाउन सक्ला त ?

यो प्रश्न अलि कस्तो कस्तो लाग्यो । म आशय बुझ्ने गरी उत्तर दिने प्रयास गर्छु । देवकोटाको अस्तित्व सङ्ग्रहालय बनेर मात्र जोगिने होइन । उनी अस्तित्वमा भएकाले नै उनका कृतित्वको संरक्षण गर्दै उनका माध्यमबाट समाजलाई थप अभिप्रेरित गर्नु परेको हो । यस सङ्ग्रहालयले देवकोटाका जीवनी, व्यक्तित्व र कृतित्वका विविध पक्षसँग पाठकलाई र आम नेपाली एवम् अन्य नागरिकलाई पनि नजिक पुर्याउँछ र व्यक्तिको काम पनि राज्यबाट यसरी पूजनीय बन्दोरहेछ भन्ने अभिप्रेरणा दिन्छ । यो अभिप्रेरणा नै सङ्ग्रहालयको उद्देश्य हो । साहित्य कर्म गम्भीर साधनाको, उच्च बौद्धिक साधनाको कर्म हो भन्ने पक्ष उजागर गर्न पनि यस्ता सङ्ग्रहालयले सघाउँछन् । अब त्यहाँ देवकोटाको समय पनि हेर्न र बुझ्न सकिन्छ । देवकोटा सँगै अघिल्लो शताव्दी पनि बुझ्न सकिन्छ । यो एउटा सम्पदाको प्रतीक हो । यहाँ देवकोटा मात्र हुँदैनन् । देवकोटा एउटा माध्यम हुन् र त्यसका माध्यमबाट नेपाली सांस्कृतिक सम्पदाको र राष्ट्रियताको विकास यसको उद्देश्य हो । यसलाई पर्यटन व्यवसायीको पनि अपनत्व दिलाउन सकिन्छ । पुस्तक व्यवसायीको पनि अपनत्व दिलाउन सकिन्छ । सांस्कृतिक बौद्धिक शैक्षिक क्षेत्रको पनि अपनत्व दिलाउन सकिन्छ । अब हरेक विद्यालयले देवकोटाको जीवनी पढाउन सँगै देवकोटा सङ्ग्रहालय भ्रमण गराउन सक्छन् । त्यसले कति बालबालिकालाई भविष्यमा म पनि देवकोटा जस्तै बन्छु भन्ने अभिप्रेरणा दिन्छ । यस्ता विविध पक्ष एउटै सङ्ग्रहालयसँग जोडिएर आउँछन् ।

७. सङ्ग्रहालयभित्र यहाँको विद्यावारिधिको शोधप्रबन्ध पनि राखिएको रहेछ । यहाँ देवकोटामाथि नै विद्यावारिधि गरेको व्यक्ति हुनुहुन्छ । यहाँका दृष्टिमा देवकोटा कस्ता प्रतिभा हुन् । 

देवकोटा आजसम्मकै नेपाली साहित्यका सर्वाधिक विशिष्ट प्रतिभा हुन् । उनको कलम बहुविधामा बहु उपविधाका सिर्जनामा छरिएर सशक्त ढङ्गले चलेको छ । उनी मूलतः कवि र निबन्धकार हुन् र त्यसमा पनि कवि र महाकवि हुन् । मेरो विद्यावारिधि देवकोटाको महाकाव्यमा केन्द्रित छ । मेरो अध्ययनको निष्कर्ष देवकोटा समग्रमा स्वच्छन्दतावादी मानवतावादी महाकाव्यकार हुन् भन्ने हो । देवकोटाले आफ्नो समयमा नेपाली परिवेशका साथै विश्व परिवेशका चेतनासहित महाकाव्य रचेका छन् । उनी आफ्नो शताब्दीका र समयका महान् प्रतिभा हुन् । उनले साहित्य सिर्जनाका माध्यमबाट प्रवाह गरेको चेतना अर्को एक शताब्दीलाई पनि पुरानो लाग्दैन । उनले मानवताका र विश्वबन्धुत्वका विषयमा निकै महत्वपूर्ण विचार उसैबेला राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It