Lifestyle

लक्ष्मी पूजा विधि र यसका महत्वबारे जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडाैं । यमपञ्चक अवधिमा गरिने विभिन्न पूजाहरू मध्येको एक विशेष दिन हो ‘लक्ष्मी पूजा’ । तिथि अनुसार कार्तिक कृष्ण अमावस्या अर्थात औँशीका दिन धनकी देवीको पूजा आरधना गरी लक्ष्मी पूजा मनाइन्छ । वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ ।

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । साँझ ०५ः०४ बजेबाट औँशी तिथि लाग्ने नेपाल पञ्चांग समितिले बताएको छ । कार्त्तिक महिनाको औंसी तिथिको अर्धरात्रिमा लक्ष्मीपूजा मनाउनुपर्ने विधान छ । आज बिहान चतुर्दशी तिथि भए पनि राति औंसी हुने र भोलि राति औंसी तिथि बाँकी नरहने भएकोले आज नै लक्ष्मीपूजा समेत मनाउनु पर्ने देखिन्छ । यमपञ्चक शनिवारबाटै शुरु भए पनि तिथि घटबढले कागतिहार आइतबारमात्र मनाइएको थियो । 

laxmi-puja

बत्ती नबालेको घरमा लक्ष्मीले बास नगर्ने मान्यता छ । आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घर सरसफाइ एवम् लिपपोत गरिन्छ । असम्पन्नताको अन्त्य र सम्पन्नताको सुरुवात होस् भन्ने भावना साथ यस दिन लक्ष्मीकाे पूजा गर्ने चलन छ । याे पर्वले अँध्यारोलाई भगाउने र उज्यालो छर्ने, नकारात्मक ऊर्जालाई हटाउने र सकारात्मक ऊर्जालाई ग्रहण गर्ने, विपन्नतालाई बिदा गर्ने र सम्पन्नतालाई सम्हाल्ने गर्दछ ।  

लक्ष्मी पूजासम्बन्धी किम्बदन्ती 

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए । तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको मान्यता छ । यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएकाे हाे

पूजा विधि

Lakshmi Puja

– सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ

– लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।

– त्यसपछि दीप प्रज्वलन गरि दियाे, कलश र गणेशको पूजा गर्ने ।

– लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरूको पण्डित वा  तथा आफैं पूजा गर्ने ।

– त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने ।

कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

तिहारमा देउसीभैलोकाे महत्व 

देउसी भैलोकाे

लक्ष्मी पूजा सँगसँगै ‘देउसीभैलो’ पनि खेलिने भएकाले आजको दिन झनै खास छ । यस दिन देवी लक्ष्मीको पूजा गर्ने, घरभरि दियो बाल्ने र घरघरै गएर भैलो खेल्ने गरिन्छ । एक किम्वदन्ती अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएका धार्मिक विश्वास छ । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It