News

नागढुंगा नौबिसे सुरुङमार्गकाे काम तीव्र,  ७३ प्रतिशत भौतिक प्रगति

Pinterest LinkedIn Tumblr

काठमाडौं । नागढुंगा नौबिसे सुरुङमार्गकाे काम तीव्र गतिमा अघि बढिरहेको छ । पुष २४ सम्ममा सुरूङको भौतिक प्रगति ७३ प्रतिशत हुँदा समग्र भौतिक प्रगति  ४७.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । मुख्य र स्केप टनेलको कुल ५ हजार २४५ मिटर सुरुङ मध्ये हालसम्म ३ हजार ८२९ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सुरुङमार्गमा आर्थिक वर्ष २०८१ को साउनसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७८२.८० मिटर खनिसकिएको छ । जसमा काठमाडौंतर्फ ८५१.२० मिटर र धादिङतर्फ ९३१.६० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म काठमाडौंतर्फ १ हजार ९८.६० मिटर र धादिङतर्फ ९४७.६० मिटर सुरुङ खन्ने काम पूरा भइसकेको छ । हालसम्म ३ हजार ८२९ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार २९.२० मिटरको काम सम्पन्न भएको छ । भने धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ ।

हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रको कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ । हाल मुख्य सुरुङको काम फिनिसिङ अथवा कंक्रिट लाइनिङ गर्ने कार्य भइरहेको छ । जसमा कूल सुरुङको ३४ प्रतिशत अर्थात हालसम्म ९५७.१० मिटर  मुख्य सुरुङको कंक्रिट गर्ने काम सकिएको छ ।

यस्तै, मुख्य सुरुङका साथै तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, ओभरपास, तीनवटा ब्रिज लगायतको बाहिरका संरचनाको काम सम्पन्न भएको छ ।

सुरुङमार्गमा हालसम्म कूल लागतको ४९.५९ प्रतिशत अर्थात् करिब ११ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । 

हाल सुरुङमार्गमा दैनिक १० देखि १२ मिटरसम्म खन्ने काम भइरहेको छ । भने दुवैतिरको पोर्टलमा दैनिक ५४० जनाले काम गरिरहेका छन् ।

सुरुङमार्ग बाहिर पहुँचमार्ग निर्माणको काम भइरहेको छ । काठमाडौंतिर ओभरपास निर्माणको काम सम्पन्न भएको छ । यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It