News

मुग्लिङ-पोखरा सडक विस्तारले गति लिँदै, पूर्वी क्षेत्रमा ५० प्रतिशत सडक चौडा पर्ने काम सम्पन्न

Pinterest LinkedIn Tumblr

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारको कामले तीव्रता पाएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी काम सुरु गरेको हो । 

दुवै खण्डमा पर्खाल, कल्भर्ट बनाउने र सडक चौडा पर्नेजस्ता काम भइरहेका छन्  । यस वर्षको अन्तिमसम्म ५० देखि ६० प्रतिशत प्रगति देखाउन नसकिए पनि तोकिएको समयमा नै काम सम्पन्न गर्नेगरि काम भइरहेको छ । 

गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको २ लेनको सडकखण्डलाई विस्तार गरि ४ लेनमा बनाउन लागिएको हो  । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी काम सुरु गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा काम सुरू भएपनि कोरोना महामारीका कारण लगायत विभिन्न कारण सुस्ताएको सडक विस्तार कार्यले अब भने तिव्रता लिएको हो । 

राष्ट्रिय राजमार्गको स्तरोन्नति कार्यक्रमअन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डको तनहुँ क्षेत्रमा करिब ६ हजार ७ सय ५० रूख र कास्की खण्डमा १ हजार २ सय ५० रूख कटान हुनेछन्  । विद्युत पोलको जोखिम रहेको क्षेत्रबाहेक अन्य क्षेत्रको रूख कटानको काम सकिएको छ  । 

सडक सीमा क्षेत्रभित्र पर्ने विद्युत्‌का पोल हटाउन नेपाल विद्युत् प्राधिकरण कार्यालयले टेन्डर आह्वान गरिसकेको र हप्ता दिनमै सबै क्षेत्रका पोल हटाउने काम पनि सुरू गरिने आयोजनाले जनाएको छ । गुणादीदेखि जामुने सडकखण्डमा रहेका विद्युत्को पोल भने हटाउने काम भइरहेको छ । विद्युत पोलका कारण काम नै रोकिने अवस्था आएको ठाउँको पोल भने हटाउँदै काम भइरहेको जनाइएको छ । 

सडक भित्र पर्ने तनहुँ खण्डको खैरेनीटार बजार क्षेत्रबाहेकका १ सय ३८ वटा भौतिक संरचना भत्काउन सुरु गरिएको छ । 3त्यस क्षेत्रका ७० प्रतिशत सर्वसाधरणले मुआब्जाको पहिलो किस्ता लिइ घर, टहरा, पाटीपौवा, पर्खाललगायत भौतिक संरचना भत्काउन सुरु गरिसकेका छन् । काम पूरा भएपछि दोस्रो किस्ता पनि उपलब्ध गराइने जनाइएको छ । 

सडक विस्तारका क्रममा भत्किने संरचनाको मुआब्जा वितरणका लागि आयोजनाले २ करोड ४५ लाख ३९ हजार ६ सय ३३ रुपैयाँ रकम स्वीकृत गरेको छ । हालसम्म करिब ४२ घरले ४० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति रकम बुझिसकेका छन्  । 

सडकखण्ड अन्तर्गत कुल आठवटा खोलाहरुमा पुल बनाइनेछ । धारापानी खोला, खानीखोला, नालाखोला, माग्दी, कुम्लेसहित कोत्रे, विजयपुर खोलामा मोटरेबल पुलको प्रस्ताव गरिएको छ । यस खण्डमा सानाठूला गरी १२ वटा पुल निर्माण गरिनेछ  । ३ वर्षमा मुग्लिङ–पोखरा सडक विस्तारको काम सम्पन्न गर्ने भनिए पनि केही समय थप हुन सक्ने देखिएको छ । 

यस क्षेत्रमा सानाठूला गरी १८ वटा पुल बन्नेछन्  । एउटा पुलको निर्माण सम्पन्न हुने चरणमा छ भने ३ वटा साना पुलको निर्माण कार्य भइरहेको छ । करिब ५० वटा कल्भर्ट बनाउने काम पनि भइरहेको छ । 

पूर्वी क्षेत्रमा करिब ५० प्रतिशत सडक चौडा पर्ने काम सकिएको छ । हालसम्मको प्रगति १० प्रतिशत पुगेको छ ।

पृथ्वी राजमार्गको ७२ किमि सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत सानाठूला बजार क्षेत्र पर्छन्  । यी बजारमध्ये बढी मात्रमा आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौलीलगायत बजार क्षेत्रका भौतिक संरचना प्रभावित हुनेछन्  ।

प्रतिक्रिया दिनुहोस्
Pin It