Lifestyle

माघे संक्रान्तिमा तिलको लड्डु, तरूल, चाकू र खिचडीको महत्व

Pinterest LinkedIn Tumblr

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति । देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीहरूले घिउ, चाकू, तरूल, र खिचडी लगायतका परिकार खाएर मनाउँदछन् । मकर संक्रान्तिलाई तिलुवा संक्रान्ति, मकर संक्रान्ति वा माघी पनि भनिन्छ । आज बिहान सबेरै पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गरिन्छ ।

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । त्यसैगरी सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ । त्यसैले मकर संक्रान्तिलाई हिउँदको बिदाईका रुपमा समेत लिइन्छ । 

मकर संक्रान्तिका अवसरमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई मेलाको आयोजना गरिन्छ । त्यस्तै भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा पनि स्नान, दान, श्राद्ध गर्ने श्रद्धालुहरू पुग्दछन् ।

 माघे संक्रान्तिमा तिलको आगो किन तापिन्छ !

माघीको दिन बिहान सबेरै नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिने मान्यता छ । साथै घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुन्छ । र आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी भइने शास्त्रमा उल्लेख छ ।

किन खाइन्छ तिलको लड्डु र खिचडी ?

जाडो मौसममा कम तापक्रमका कारण शरिरलाई रोगले सजिलै चाप्दछ । रोगको रोकथाम गर्न आजको दिन तिल सखर आदिले बनेको मिष्ठान्न खाने गरिन्छ । यी आहारले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ । 

खिचडीलाई भगवान् शिवले आविष्कार गरेको भोजन हो भन्ने गरिन्छ । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो । 

त्यसैगरी तिलमा पर्याप्त क्याल्सियम र भिटामीन बी पाइन्छ । क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ । तिलको प्रयोगले खोकीलाई कम गर्ने, कमजोरीपना हटाउने र मुख गन्हाउने समस्याबाट पनि छुटकारा मिल्दछ । 

चाकुमा आइरन/फलाम हुने हुनाले रक्तअल्पताका बिरामीलाई समेत अत्यन्त फलदायी मानिन्छ । त्यस्तै संक्रान्तिमा खाइने खिचडी मासको दाल, घिउ र चामल मिसाई बनाइएको हुन्छ । यसले शरीरमा गर्मीको मात्रा बढाई तागत दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It