Finance

बैंकहरूले सस्तो ब्याजदरमा घरकर्जा दिन थाले 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा घरकर्जा उपलब्ध गराउन थालेका छन् । वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्न थालेपछि अर्थतन्त्र चलायमान बनाउन यस्तो सुविधा ल्याइएको हो । 

जसअन्तर्गत प्राय बैंक तथा वित्तीय संस्थाले आधारदरमा दुई प्रतिशतमात्रै प्रिमियम जोडेर कर्जा प्रवाह गर्न थालेका छन् । यद्यपि केही  बैंक तथा वित्तीय संस्थाले आधारदरमा एक प्रतिशतमात्रै प्रिमियम जोडेर पनि घरकर्जा सुविधा ल्याएका छन् । भने घरकर्जाबाहेक कर्जामा तीन प्रतिशतमाथि प्रिमियम जोडेर ऋण प्रवाह गरिरहेका छन् ।

घर बनाउन कर्जा दिनेबित्तिकै दर्जनौं उद्योगको सामान खपत हुनेहुँदा सिमेन्ट, डन्डी, गिट्टी, बालुवा, किलाकाँटा, फर्निचरलगायत उद्योग चलायमान हुन्छन् । 

घर निर्माणको क्रममा प्रयोग हुने मजदुरको संख्याले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने हुँदा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा सस्तो दरमा घरकर्जा ‘अफर’ ल्याइरहेका छन् ।

यस्तो सुविधा उपलब्ध गराउनेहरूमा सिद्धार्थ बैंक, कुमारी बैंक र एनएमबी बैंक रहेका छन् ।

सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० अवसर पारेर विशेष घरकर्जा सुविधा सञ्चालनमा ल्याइसकेको छ । बैंकले घर खरिद, निर्माण र पुनर्निर्माणका लागि  ‘सिद्धार्थ हाम्रो घरकर्जा’को अफर ल्याएको हो । ग्राहकलाई वार्षिक ११.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने जनाएको छ । सिद्धार्थको आधारदर १०.६१ प्रतिशत छ । 

त्यसैगरी कुमारी बैंकले १२.९८ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ । आधारदर १०.९८ प्रतिशतमा बैंकले पनि दुई प्रतिशत प्रिमियम जोडेर घरकर्जा उपलब्ध गराउने भएको हो । 

र, एनएमबी बैंकले  ११.९९ प्रतिशत ब्याजदरमा १५ वर्षसम्म ब्याजदर नबढाउने घरकर्जा योजना ल्याएको छ । उक्त योजनाअनुसार बैंकबाट घरकर्जा लिँदा ब्याजदर १५ वर्षसम्म स्थिर रहनेछ । एनएमबीको आधार ब्याजदर १०.६१ प्रतिशत छ । 

निरन्तर ब्याजदरमा आएको उत्तारचढावले उपभोक्तामा परेको मानसिक र वित्तीय दबाब कम गर्न वित्तीय क्षेत्रमा हालसम्मकै पृथक कर्जा योजना ल्याएको बैंकहरूले जनाएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कर्जा योजनामा स्थिर र आधारदरका आधारमा परिवर्तन हुने ब्याजदर प्रकाशित गर्दै आएका छन् । 

बैंकहरूले प्रवाह गरेको स्थिर ब्याजदर योजनामा कर्जा अवधिभरि एउटै ब्याजदर कायम हुन्छ । आधारदरका आधारमा लिने ब्याजदरमा भने प्रत्येक त्रैमासमा आधारदरअनुसार ब्याजदर घटबढ हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It