News

काठमाडौं उपत्यकामा जग्गाको कित्ताकाट खुल्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यका भित्र जग्गा वर्गीकरणको काम सकिएको छ । यससँगै काठमाडौं, भक्तपुर र ललितपुरमा जग्गाको कित्ताकाट खुलेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको हो । 

स्थानीय तहले कृषि र गैर कृषि छुट्याएर कृषि जग्गाको लागि कित्ताकाट खुलाएको हो । अन्य विधामा भने जग्गाको वर्गीकरण गर्न बाँकी नै रहेको विभागले जनाएको छ । गैर कृषि जग्गाको कित्ताकाट भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने छ । 

२०७९ जेठ २३ गतेदेखि भूउपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐननियममा निर्देशित भएको छ । 

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी आएको विभागले जनाएको छ ।

हाल कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

विभागको तथ्याङ्कअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् । 

त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।  

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, महाङ्काल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It