Lifestyle

चिसोमा घरलाई न्यानो राख्न हिटर नै चाहिन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । जाडोयाममा घरलाई न्यानो राख्न निकै नै चुनौतिपूर्ण हुन्छ । जसका लागि विभिन्न विद्युतीय उपकरणको प्रयोग गरिन्छ । तर यस्ता उपकरणको प्रयोग सँधै सुरक्षित हुँदैन । त्यसो हुँदा एयर कन्डिसनर र हिटर बिना नै घर वा कोठालाई प्राकृतिक रूपमा न्यानो र आरामदायी बनाउनु राम्रो हुन्छ ।

१. बाक्लो पर्दा र कपडाको छनोटः 

घरका झ्याल तथा ढोकाका लागि बाक्लो र गाढा रङ भएका पर्दाको प्रयोग गर्नु उपयुक्त हुन्छ । बाक्लो पर्दाले बाहिरको चिसो हावा सिधै भित्र छिर्न दिँदैन । साथै भुईंको लागि न्यानो खालका गलैंचा वा दरी बिछ्याउन सकिन्छ । धेरै जाडो हुने ठाउँहरूमा फर्निचरको कपडा पनि सकेसम्म भेल्भेट, सेनिल र ज्याकर्ड फेब्रिक्सको प्रयोग गर्नु उत्तम हुन्छ । यस्ता फेब्रिक्सहरू नरम र मुलायम हुन्छन् । यस्तोमा बस्दा न्यानो अनुभव गर्न सकिन्छ । साथै ऊन, फक्स तथा मखमलका कुशनको प्रयोगले चिसो महसुस हुँदैन ।

२. फ्लोरिङमा ध्यान दिनेः

फ्लोरिङले पनि घरभित्रको तापक्रम निर्धारण गर्दछ । त्यसो हुँदा फ्लोरिङ गर्दा मार्बल र ग्रेनाइट भन्दा काठको हार्ड वुड फ्लोरिङ, सेरामिक टाइल फ्लोरिङको प्रयोग गर्नु उचित हुन्छ । यसका साथै ल्यामिनेट फ्लोरिङ, नेचुरल स्टोन फ्लोरिङको प्रयोग गरेर पनि जाडोमा घरलाई न्यानो राख्न सकिन्छ । यसले तापक्रम सन्तुलन गर्ने हुँदा जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुन दिँदैन । 

३. वार्म लाइट प्रयोग गर्ने 

जाडोमा घरलाई न्यानो राख्नका लाईटको पनि विशेष भूमिका हुन्छ । त्यसैले जाडोयाममा सामान्य LED र CFL को सट्टामा वार्म लाइट प्रयोग गर्न सकिन्छ । वार्म लाइटले धेरै मात्रामा तातो ऊर्जा प्रवाह गर्ने हुँदा कोठा न्यानो रहिरहन्छ । 

४. घाम छिर्न दिने

घाम लागेपछि झ्यालका पर्दाहरू खोलिदिने । घरभित्र घामको किरण पर्न दिँदा प्राकृतिक रूपमा नै कोठाहरूको तापक्रम बढ्छ र घर न्यानो रहन्छ । साथै रातको समयमा रंगिविरंगी मैनबत्ती बालेर पनि कोठालाई न्यानो राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It