Finance

ब्याजदर घटाउँदै वाणिज्य बैंकहरू, कुनमा सस्तो होला ‘घरकर्जा’ !

Pinterest LinkedIn Tumblr

काठमाडौं । वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर धमाधम घटाउन थालेका छन् । यही असोज मसान्तमा सार्वजनिक नयाँ तथ्यांकअनुसार धेरै बैंकको बेसरेट (आधारदर) एकल अंकमा झरेको पाइएको छ । असोज मसान्तसम्म १३ वटा बैंकको आधारदर घटेको छ । २० वटा बैंकमा ११ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ९ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा कम छ ।

के हो बैंकको आधार दर ?

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बैंकहरूको आधार दर नेपाल राष्ट्र बैंकले निर्धारण गर्दछ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ । आधार दरमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरूले ब्याजदर तोक्न पाउँछन् । 

सामान्यतया कर्जाको विषयमा आधार दरमा एक प्रतिशत जोडिन्छ भनिन्छ । मानौं कुनै बेला ८ प्रतिशत आधार दर छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । आधार दर घटेर ७ मा आयो भने फेरि एक जोडेर ८ प्रतिशत हुने हुन्छ । आधार दर तीन-तीन महिनामा अपडेट हुने गर्दछ । 

आधार दर गणना गर्ने विधिः

आधार दर गणना गर्ने चार वटा कम्पोनेन्टहरू छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट ‘कस्ट अफ फन्ड’ अर्थात् कोष लागत प्रतिशत हो । यो निक्षेपकर्ता (आर्थिक कारोबार गर्ने व्यक्ति वा संस्था) हरूलाई दिइने ब्याज हो । निक्षेपको अवस्था सहज भएमा त्यसको प्रत्यक्ष असर आधार दरमा पर्छ । जसकारण आधार दर  कम हुन्छ । यसो हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

बजारमा तरलताको अभाव हुँदा कर्जा र निक्षेप दुबै तर्फको ब्याजदर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप जति सहज र ठुलो रूपमा आयो कर्जाको ब्याजदर पनि सोहीअनुसार कम हुन्छ । 

आधार दर गणना गर्ने सुत्रः

आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + सञ्चालन लागत प्रतिशत 

बैंकहरूको आधारदर र घरकर्जाको ब्याजदर
क्र. सं वाणिज्य बैंक  आधार दर (प्रतिशतमा) ब्याजदर (घरकर्जा)
स्ट्यान्डर्ड चार्टर्ड बैंक  ८.४७  १२.२५% (१० वर्ष)
राष्ट्रिय वाणिज्य बैंक ८.७० ११. २०% (५ वर्ष)
नेपाल बैंक लिमिटेड ९.६५ ११.६५-१३.६५%
सिद्धार्थ बैंक लिमिटेड ९.७१ १०.९९%
नबिल बैंक लिमिटेड ९.५८ ९.५८-१४.५८%
एभरेष्ट बैंक लिमिटेड ९.४१ ९.४१-१३.४१%
सानिमा बैंक लिमिटेड ९.९२ ११.४२-१३.४२%
एनएमबी बैंक लिमिटेड ९.८५ ११.९९% (१५ वर्ष)
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ९.९९ ९.९९- १४.९९%
१० माछापुच्छ्रे बैंक लिमिटेड १०.०१ १३% (१० वर्ष)
११ प्रभु बैंक लिमिटेड १०.०७ १३.०२%
१२ ग्लोबल आइएमई बैंक लिमिटेड १०.०७ १०.९९-१३.९९%
१३ नेपाल एसबीआई बैंक लिमिटेड १०.२५ १५% (१० वर्ष)
१४ कृषि बिकास बैक लिमिटेड १०.४५ १०.४५- १४.४५%
१५ एन आई सी एशिया बैंक लिमिटेड १०.९६ ११.९६-१३.९६%
१६ सिटीजन बैंक इन्टरनेसनल लिमिटेड १०.६८
१७ प्राइम कमर्सियल बैंक लिमिटेड १०.७८ १३% (१५ वर्ष)
१८ लक्ष्मी सनराइज बैंक लिमिटेड १०.८५ ११.९९-१४.९९%(१५ वर्ष)
१९ हिमालयन बैंक लिमिटेड १०.८६ १४.००%
२० कुमारी बैंक लिमिटेड १०.९४ ११.९४-१३.९४% 

स्रोतः बैंक ब्याज इनकर्पोरेसन

गत आवको पहिलो त्रैमासमा बैंकहरूको औसतमा आधारदर १०.०९ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ९.९९ प्रतिशत रहेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It