काठमाडौं । वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर धमाधम घटाउन थालेका छन् । यही असोज मसान्तमा सार्वजनिक नयाँ तथ्यांकअनुसार धेरै बैंकको बेसरेट (आधारदर) एकल अंकमा झरेको पाइएको छ । असोज मसान्तसम्म १३ वटा बैंकको आधारदर घटेको छ । २० वटा बैंकमा ११ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ९ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा कम छ ।
के हो बैंकको आधार दर ?
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बैंकहरूको आधार दर नेपाल राष्ट्र बैंकले निर्धारण गर्दछ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ । आधार दरमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरूले ब्याजदर तोक्न पाउँछन् ।
सामान्यतया कर्जाको विषयमा आधार दरमा एक प्रतिशत जोडिन्छ भनिन्छ । मानौं कुनै बेला ८ प्रतिशत आधार दर छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । आधार दर घटेर ७ मा आयो भने फेरि एक जोडेर ८ प्रतिशत हुने हुन्छ । आधार दर तीन-तीन महिनामा अपडेट हुने गर्दछ ।
आधार दर गणना गर्ने विधिः
आधार दर गणना गर्ने चार वटा कम्पोनेन्टहरू छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट ‘कस्ट अफ फन्ड’ अर्थात् कोष लागत प्रतिशत हो । यो निक्षेपकर्ता (आर्थिक कारोबार गर्ने व्यक्ति वा संस्था) हरूलाई दिइने ब्याज हो । निक्षेपको अवस्था सहज भएमा त्यसको प्रत्यक्ष असर आधार दरमा पर्छ । जसकारण आधार दर कम हुन्छ । यसो हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।
बजारमा तरलताको अभाव हुँदा कर्जा र निक्षेप दुबै तर्फको ब्याजदर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप जति सहज र ठुलो रूपमा आयो कर्जाको ब्याजदर पनि सोहीअनुसार कम हुन्छ ।
आधार दर गणना गर्ने सुत्रः
आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + सञ्चालन लागत प्रतिशत
बैंकहरूको आधारदर र घरकर्जाको ब्याजदर
क्र. सं | वाणिज्य बैंक | आधार दर (प्रतिशतमा) | ब्याजदर (घरकर्जा) |
१ | स्ट्यान्डर्ड चार्टर्ड बैंक | ८.४७ | १२.२५% (१० वर्ष) |
२ | राष्ट्रिय वाणिज्य बैंक | ८.७० | ११. २०% (५ वर्ष) |
३ | नेपाल बैंक लिमिटेड | ९.६५ | ११.६५-१३.६५% |
४ | सिद्धार्थ बैंक लिमिटेड | ९.७१ | १०.९९% |
५ | नबिल बैंक लिमिटेड | ९.५८ | ९.५८-१४.५८% |
६ | एभरेष्ट बैंक लिमिटेड | ९.४१ | ९.४१-१३.४१% |
७ | सानिमा बैंक लिमिटेड | ९.९२ | ११.४२-१३.४२% |
८ | एनएमबी बैंक लिमिटेड | ९.८५ | ११.९९% (१५ वर्ष) |
९ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड | ९.९९ | ९.९९- १४.९९% |
१० | माछापुच्छ्रे बैंक लिमिटेड | १०.०१ | १३% (१० वर्ष) |
११ | प्रभु बैंक लिमिटेड | १०.०७ | १३.०२% |
१२ | ग्लोबल आइएमई बैंक लिमिटेड | १०.०७ | १०.९९-१३.९९% |
१३ | नेपाल एसबीआई बैंक लिमिटेड | १०.२५ | १५% (१० वर्ष) |
१४ | कृषि बिकास बैक लिमिटेड | १०.४५ | १०.४५- १४.४५% |
१५ | एन आई सी एशिया बैंक लिमिटेड | १०.९६ | ११.९६-१३.९६% |
१६ | सिटीजन बैंक इन्टरनेसनल लिमिटेड | १०.६८ | – |
१७ | प्राइम कमर्सियल बैंक लिमिटेड | १०.७८ | १३% (१५ वर्ष) |
१८ | लक्ष्मी सनराइज बैंक लिमिटेड | १०.८५ | ११.९९-१४.९९%(१५ वर्ष) |
१९ | हिमालयन बैंक लिमिटेड | १०.८६ | १४.००% |
२० | कुमारी बैंक लिमिटेड | १०.९४ | ११.९४-१३.९४% |
गत आवको पहिलो त्रैमासमा बैंकहरूको औसतमा आधारदर १०.०९ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ९.९९ प्रतिशत रहेको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।