Lifestyle

भाइटिकाको शुभ साइत, महत्व र पुजा विधि

Pinterest LinkedIn Tumblr

काठमाडौं । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन भाइटीका । भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेवारी समुदायले यस दिनलाई किजा पूजा पनि भन्दछन्भाइटिकाको दिन दिदिबहिनीले दाजुभाइलाई विशेष सम्मानका साथ विधिपूर्वक पुजाआजा गरि मिठा मिठा परिकारहरू खुवाउने र दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहिआएको छ । 

यम द्वितीया समेत भनिने भाइटीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा रहेको छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरङ्गी टीका लगाई दीर्घायुको कामना गर्दछन् ।

पौराणिक किम्बदन्ती अनुसार आज यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुका साथ बहिनी यमुनाको निवासमा आई आतिथ्य ग्रहण गर्ने र टीका लगाउने गर्दथे । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तिलको तेल, मखमलीको माला, दूबो,  सप्तरङ्गी टीका, कटुस आदिको प्रयोग गरि आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ । भाइटीकाका दिन दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर कालको मुखबाट समेत बचाउन सक्ने पौराणिक कथन छ । 

भाइटिकाको पूजा विधी 

भाइटिकाको दिन बिहान शुद्ध भइ अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । भाइटिकाको सबै सामान जोहो गरिन्छ । टिकाको शुभसाइत पारी पहिले दियो, कलश तथा गणेश र बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । र पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेकिन्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइन्छ । सगुनका रूपमा दही खुवाइन्छ ।

दिदीबहिनीले दाजुभाइको आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।गलामा मखमली, सयपत्री तथा दूबोको माला लगाइदिन्छन् ।  यसरी सप्तरङ्गी टिका र मखमलीको माला  लगाउँदा वर्ष भरि नै नवग्रह दाहिने रहने धार्मिक विश्वास छ । मखमली कहिल्यै ओइलाउँदैन र सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहन्छ ।

सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छदाजुभाइप्रतिको प्रेम रंग जस्तै गाढा भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्ने गर्छन् ।

सप्तरङ्गी टीकाको महत्व 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको जानकारहरू बताउँछन् । सप्तरङ्गीका रङमा सेतोले शान्ति, रातोले मंगल, हरियोले सद्‌बुद्धि, पहेँलोले दीर्घजीवी र निलो निरोगिताको बनाउने धार्मिक विश्वास छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It