Lifestyle

महानवमी पर्वः नवदुर्गा भगवतीको विशेष पूजा-आराधना गरी मनाइँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । आज नवरात्रि अर्थात् नौरथाको नवौं दिन, नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरि मनाइँदै छ । महानवमीको दिन सिद्धिदात्री देवीको उपासना गर्नाले सिद्धि प्राप्त हुने जनविश्वास छ । घटस्थापनाका दिन राखिएको जमरा आजकै दिन विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । 

 नवमीमा दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट गरी दस प्रकारका विकारको त्यागका लागि पनि महानवमी पूजा गर्ने चलन रहेको छ । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ ।

यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कार तथा दुर्भावना उत्पन्न हुने हुँदा यी सबैको अन्त्यका लागि प्रतिकात्मक रुपमा बलि पूजा गर्ने प्रचलन रहेको छ । 

 पशुबलि नदिने शाकाहारीहरूले भने कुभिण्डो, घिरौला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । 

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । यसै दिन बिहान कलपुर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि गर्ने प्रचलन रहेको छ । 

आजकै दिन दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी भोजन गराइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It