Policy

घर निर्माण सकियो ? यसरी लिनुहोस् सम्पन्नताको प्रमाणपत्र

यस्तो प्रमाणपत्र नहुँदा तपाईंलाई भविष्यमा विभिन्न झन्झट आइपर्न सक्छन् ।
Pinterest LinkedIn Tumblr

तपाईंले घर बनाइसक्नुभयो ? बनाइसक्नुभएको भए सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने हुन्छ । यस्तो प्रमाणपत्र नहुँदा तपाईंलाई भविष्यमा विभिन्न झन्झट आइपर्न सक्छन् । उदाहरणका लागि सम्पन्नताको प्रमाणपत्र नभएको घर धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउन मान्दैनन् । घर बिक्री गर्न पर्यो भने पनि समस्या हुने गर्छ । त्यसैले सम्पन्नताको प्रमाणपत्र लिन ढिलाइ पनि गर्नुहुन्न ।

त्यसो भए बिनाझन्झट यस्तो सम्पन्नताको प्रमाणपत्र कसरी लिने ? तपाईंले बिनाझन्झट घर निर्माण सम्पन्नताको प्रमाणपत्र सम्बन्धित पालिकाबाट लिनुपर्ने हुन्छ । यदि तपाईंले महानगर वा नगरपालिकाबाट घर निर्माण गर्ने इजाजत लिएर घर बनाइसक्नुभएको छ भने जरिवानाबाट बच्न तुरुन्तै घर सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने हुन्छ ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र लिन निम्न कागजातसहित सम्बन्धित पालिकामा निवेदन दिनुपर्छ ।

१. नक्सा पासको फोटोकपी- १ प्रति
२. जग्गाको लालपुर्जाको फोटोकपी- १ प्रति
३. भवन निर्माण इजाजतपत्रको फोटोकपी- १ प्रति
४. डिजाइनरको सिफारिसपत्र- १ प्रति
५. डिजाइनरको इजाजतपत्र- १ प्रति
६. मालपोत तिरेको रसिद फोटोकपी- १ प्रति
७. घरको फोटो- २ प्रति
८. जग्गाधनीको व्यक्तिगत फोटो- २ प्रति
९. वडा कार्यालयको सिफारिसपत्र- १ प्रति

महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाले भवन निर्माण मापदण्ड, भवन इजाजत तथा घर नक्सापास कार्यविधि २०७५, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ आदिका अधारमा भवन निर्माण मापदण्ड र आवश्यक कागजात तोकेका हुन्छन् । सोहीबमोजिम सेवाग्राहीले कागजात तयार पार्नुपर्ने हुन्छ ।

यी कागजात तयार पारेपछि वडाको सिफारिससमेत संलग्न गरेर माहनगरपालिका अथवा नगरपालिकामा आवेदन दिनुपर्छ । यसरी आवेदन दिएको अथवा सम्पन्नको प्रक्रिया सुरु भएको १० दिनभित्र तपाईंले घर सम्पन्नको प्रमाणपत्र पाउनुहुनेछ ।

स्रोत : भवन निर्माण मापदण्ड, भवन इजाजत तथा घर नक्सापास कार्यविधि २०७५

प्रतिक्रिया दिनुहोस्
Pin It