काठमाडौं । हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्नलाई साइत हेर्ने चलन छ । घरजग्गाको सन्दर्भमा, घरको जग राख्न, नयाँ घर प्रवेश गर्न शुभ साइत हेर्ने गरिन्छ । अझ कतिपयले जग्गा पास गर्न पनि साइत हेराउने गर्छन् । यसरी साइत पारेर पूजा गर्दा घरमा दुख, अशान्ति, पिडा तथा अन्य बाधा जिन्दगी भरका लागि टर्छ भन्ने जनविश्वास छ । आजको लेखमा २०८१ सालमा गृह प्रवेश, र जग राख्न शुभ मानिएका दिनहरूको चर्चा गरौं ।
यस वर्ष घरको जग राख्ने साइत कुन-कुन दिन छ ?
नयाँ घर बनाउँदा साइत जुरेको दिन जग राख्दा राम्रो हुन्छ भन्ने मान्यता छ । पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिएर प्रकाशन भएका पात्रोहरूमा श्रावण २६ गते सोमबार, कार्तिक २१ गते शुक्रबार, मंसिर ११ गते बिहिबार,१९ गते शुक्रबार र २० गते शनिबार र फागुनमा १४ गते गुरुबार घरको जग राख्ने (गृहारम्भ) को साइत जुरेको छ ।
यस वर्ष घर सर्ने साइत कुन-कुन दिन छ ?
हिन्दु परम्परामा गृहप्रवेशलाई पनि विशेष महत्त्वका साथ हेरिन्छ, र पूजाआजा गरेर मात्रै नयाँ घरमा सर्ने प्रचलन छ । यसो गर्नाले नकारात्मक ऊर्जा हट्ने र परिवारमा सुख-समृद्धि आउने विश्वास गरिन्छ । यस वर्षका लागि घर सर्ने साइत ३ दिन परेको छ । जसअनुसार माघ २८ गते बुधबार, फागुन १४ गते बिहिबार र ३० गते शनिबारलाई घर सर्न (गृह प्रवेश)का लागि शुभदिन मानिएको छ ।
कसरी निर्धारण हुन्छ शुभ साइत ?
साइत सूर्य र चन्द्रमाको स्थितिको आधारमा गणना गरिन्छ, र यो आध्यात्मिक र ज्योतिषीय प्रभावको समय हो भन्ने विश्वास गरिन्छ । यस्ता शुभ मुहुर्तहरू वैदिक सनातन हिन्दू ज्योतिषमा उत्तम अथवा भाग्यशाली मानिने समयको सूचक हो ।
मुहूर्तलाई ग्रह र ताराहरूको सकारात्मक प्रभाव सबैभन्दा बलियो हुने समयको रुपमा मानिन्छ र नयाँ योजनाहरू सुरु गर्न, महत्त्वपूर्ण निर्णयहरू गर्न वा महत्त्वपूर्ण अनुष्ठान गर्न यो मुहूर्तले संकेत गरेको समयलाई उपयुक्त मानिन्छ । यदि यस वर्षका लागि निर्धारित समय र मिति तपाईंलाई अनुकुल नभएको खण्डमा ज्योतिष परामर्श लिएर यसबाहेकका दिनहरूमा जग राख्न वा घर सर्न सक्नुहुनेछ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।