News

करीब २० करोड लगानीमा हिमालयन ग्रेनाइट उद्योग खुल्दै, सयौं कामदारलाई रोजगारीको अवसर

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज निर्माण हुने घर तथा भवनमा आधुनिक निर्माण सामग्रीको प्रयोग बढेको छ । यस्ता सामग्री प्रायजसो बाहिरी देशबाट आयात हुनेहुँदा मूल्य पनि महंगो पर्न जान्छ । त्यस्तै पछिल्लो समय धेरै घर तथा भवनहरूमा ‘ग्रेनाइट स्ल्याब’को प्रयोग भएको पाइन्छ । जसको उत्पादन अब नेपालमा नै हुने भएको छ । 

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गरी शतप्रतिशत स्वदेशी लगानीको हिमालयन ग्रेनाइट प्रालिले ग्रेनाइट स्ल्याब उत्पादन गर्ने तयारी गरेको हो । 

नेपालमा हालसम्म ग्रेनाइट उत्पादन गर्ने उद्योग नहुँदा छिमेकी देश भारतको राजस्थानबाट तयारी ग्रेनाइट आयात हुँदै आइरहेको छ । 

ग्रेनाइट उद्योग स्थापनाका लागि १९ करोड ४० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । जसमध्ये १५ करोड रुपैयाँ स्थिर पुँजी र चार करोड ४० लाख रुपैयाँ चालु पुँजी हुनेछ ।

हिमालय ग्रेनाइट उद्योगबाट विभिन्‍न साइजको २४ लाख स्क्वायर फिट ग्रेनाइट उत्पादन हुने बताइएको छ । जसका लागि ५ सय केभीए क्षमताको विद्यूत लाइन अवश्यक पर्नेछ । उद्योग सञ्‍चालनमा आएसँगै ७५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

नेपालको सन्दर्भमा टायल्स तथा मार्बल र ग्रेनाइटको उत्पादन गर्नु कम चुनौतिपूर्ण छैन । कच्चापदार्थका लागि समेत भारतसँगै निर्भर हुनपर्ने अवस्था छ । यसरी आयात खर्च महंगो पर्न जान्छ र उद्योग फाइदामा जाने सम्भावना न्युन हुन जान्छ । यद्यपि पछिल्लो समय केहि उद्योग व्यवसायीहरूले आँट गरेर उद्योगमा लगानी बढाइरहेका छन् । 

भारतीय र नेपाली व्यवसायीको संयूक्त लगानीमा सेरोमिक्स टायल्स उद्योग खोल्न लागिएको छ । भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको चार अर्ब लगानीमा टायल्स उद्योग खुल्ने भएको हो ।

उद्योगमा दुबै समूहको बराबर अर्थात् ५०/५० प्रतिशत लगानी हुनेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने सम्झौतामा उल्लेख छ ।

सेरामिक्स र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ  र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टायल्स उत्पादनमा प्रयोग गरिनेछ ।

यी निर्माण सामग्रीको कच्चा पदार्थ काँचो माटो (क्ले) भारतको गुजरातमा मात्र पाइन्छ । ग्रेनाइट, मार्वल र टायल उत्पादन गर्न भारतबाट माटो आयात गर्नुपर्छ । उत्पादन प्रविधि पनि अत्यन्तै खर्चिलो रहेको उद्योगी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It