News

दिगो विकासका लागि व्यवस्थित बसोबासमा ध्यान दिन विज्ञहरूको सुझाव

Pinterest LinkedIn Tumblr

काठमाडौं । हरित भवन प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेपालसँगै कम्बोडिया, जापान, श्रीलङ्कालगायतको देशका प्राविधिक र विज्ञहरू सहभागी थिए । 

हरित प्रविधिमा आधारित रोकथाम र नियन्त्रणमुखी भवन प्रणाली सम्बन्धी परियोजना अन्तर्गत भएको कार्यशालामा जलवायु परिवर्तन विरुद्धको विश्व रणनीतिलाई सुदृढ पार्न कार्बन उत्सर्जन कम गर्ने नयाँ प्रविधिको विषयमा छलफल भएको छ । 

कार्यशालामा बोल्दै शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले हरित अवधारणाले जलवायु परिवर्तनसँग जुध्न यस्ता प्रविधि उपयोगी हुने धारणा राखे । हरित प्रविधि सम्बन्धी नवप्रवर्तनहरूको वृहत् प्रयोगले जलवायु परिवर्तनका असर न्यूनिकरणमा सहयोग पुग्ने उनको विश्वास छ । मन्त्रालयले नीतिगत तहमा जलवायु परिवर्तनको असर कम गर्न निरन्तर काम गरिरहेको बताउँदै उनले यस सम्बन्धी उपयुक्त नवप्रवर्तनलाई अवलम्बन गरिने प्रतिबद्धता समेत जनाएका छन् ।  

यस्तै, नेपालका लागि जापानी राजदूत किकुता युताकाले स्थानीयको आवश्यकतालाई पहिचान गरी त्यसको वातावरणमैत्री समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।  वातावरणमैत्री प्रविधि अवलम्बन गर्दा त्यसले नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

पुरानो वास्तुकला र सम्पदा बस्ती जोगाउँदै विकास निर्माणलाई निरन्तरता दिन जरुरी रहेको शहरी विकास तथा भवन निर्माणका सहसचिव एकराज अधिकारीले बताए । कङ्क्रिटको जङ्गलमा हराउँदै गएका सम्पदा बस्तीको पहिचान जोगाउन नयाँ पुस्ता सचेत हुनु पर्नेमा उनले जोड दिए ।

यस्तै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जग्गा बेचेर विदेश जाने र विदेशबाट फर्किएपछि साँघुरो जग्गामा नयाँ घर बनाउने परिपाटीले घरहरूको संख्या बढेपनि बसोबास व्यवस्थित र सहज हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । घर निर्माण गर्दा मौलिकतालाई कायम राख्दै व्यवस्थित बसोबासलाई पनि ध्यान दिनुपर्ने उनको भनाई छ । 

जापान सरकार तथा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) ले  कम्बोडिया, नेपाल र श्रीलंकामा संयुक्त रुपमा हरित प्रविधिमा आधारित रोकथाम र नियन्त्रणमुखी भवन प्रणाली सम्बन्धी परियोजना लागू गरेको छ ।  सोहि परियोजना अन्तर्गत सिकाई आदानप्रदानका लागि नेपालमा क्षेत्रीय कार्यशाला आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Pin It