Lifestyle

बढ्दो महंगीमा विद्युतीय चुलोको प्रयोग, कम खर्चिलो अनि समयको पनि बचत

By BabinaJune 28, 20225 min read
बढ्दो महंगीमा विद्युतीय चुलोको प्रयोग, कम खर्चिलो अनि समयको पनि बचत

काठमाडौं । पछिल्लो समय महँगी असामान्य रुपमा बढेर आकाश छुन लागिसक्यो । सामान्य आर्थिकोपार्जन भएको परिवारलाई घरखर्च टार्न मुस्किल हुँदै गएको छ । खाना पकाउने ग्यासलगायत सम्पूर्ण खाद्यान्नको मूल्य बढ्ने क्रम रोकिएको छैन । यस्तोमा सर्वसाधारणलाई घरमा चुल्हो कसरी जलाउने भन्ने अन्योलले सताएको छ । 

कुनै समय थियो जब घरमा माटोको चुलो, स्टोभ, हिटर, एलपीजी ग्यास प्रयोग हुने गर्दथ्यो । तर समयसँगै प्रविधिमा  परिवर्तन आएको छ । अहिले बजारमा आधुनिक डिजाइनका इलेक्ट्रोनिक खाना पकाउने चुल्होहरू प्रशस्तै पाइन्छ । बढ्दो महँगीमा खर्च कटौती र समयको बचत गर्नका लागि परम्परागत चुल्होलाई त्यागेर नयाँ प्रविधि सहितको इन्डक्सन चुल्हो धेरैको पहिलो रोजाइ बन्न थालेको छ ।

नेपालमा विद्युतिय चुल्होः

नेपालमा इन्डक्सनको प्रयोगलाई हेर्दा विशेषगरी वि.सं. २०७२ सालको भूकम्प पछि भारतले अघोषित रुपमा नाकाबन्दी गरेसँगै प्रयोगमा आएको देखिन्छ । सो समयमा एलपी ग्यास अभाव भएपछि इन्डक्सन चुलोको खपत बढ्न थालेको थियो । 

पछिल्लो समय बजारमा ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होको माग ह्वात्तै बढेको हो । बानेश्वरमा १५ वर्षदेखि भान्छामा प्रयोग हुने सामग्री बेच्दै आएका राजन महर्जन भन्छन्- ‘बजारमा ग्यासको मूल्य बढेकाले ग्यासमा खाना पकाउनु भन्दा इन्डक्सनमा कम खर्चिलो, छिटो र सजिलो हुन्छ । त्यसैले ग्राहकहरूले ग्यासको विकल्प रूपमा इन्डक्सन चुल्हो नै खोज्न थालेका छन् ।’ साधारणतया बजारमा दुई प्रकारका विद्युतीय चुल्हो उपलब्ध छन् । ति हुन्,- इन्डक्सन र इन्फ्रारेड । 

इन्फ्रारेड चुल्होः

infrared stove

इन्फ्रारेड चुल्हो नयाँ टेक्नोलोजी नभइ पुरानै माटाको हिटरको परिमार्जित भर्जनका रुपमा हेर्न सकिन्छ । यो पुरानै माटोको हिटर बनाउने प्रविधिलाई सुधारेर बनाइएको हो । जसमा माइक्रोन हिटर क्वाइलको प्रयोग गरिएको हुन्छ । यसमा तापक्रम कन्ट्रोलको लागि सेसनको प्रयोग भएको पाइन्छ । सामान्यतया यो विद्युतीय चुल्हो एक हजार वाट देखि २२ सय वाट सम्ममा पाइन्छ । 

 

इन्डक्सन चुल्होः

induction stove

इन्डक्सन चुल्हो नयाँ प्रविधिको विद्युतीय चुल्हो हो । यसले खाना पकाउँदा लागि भाँडालाई मात्र तताउँछ । इन्डक्सन चुल्होमा भाडा तताउने काम त्यस भित्र रहेको तामाको क्वाइलले गर्दछ । सुरक्षाको हिसाबले यसलाई निकै सुरक्षित मानिन्छ । यसबाट सजिलै करेन्ट लिक नहुने र चुल्हो नतात्ने भएकाले पोल्ने डर कम हुन्छ । यसले अन्य चुल्होको तुलनामा ५० % छिटो खाना पाक्दछ । 

इन्डक्सन चुल्होले कसरी काम गर्छ ?

इन्डक्सन चुल्होले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको सिद्दान्तमा काम गर्दछ । जब हामी कुनै तारमा विद्युत प्रवाह गर्छौ तब त्यो तारको चारैतिर इलेक्ट्रोम्याग्नेटिक फिल्ड अर्थात् विद्युत चुम्बकिय क्षेत्र उत्पन्न हुन्छ । त्यस्तै जब इन्डक्सन ‘अन’ गर्छौं तब करेन्ट प्रवाह भइ तामाको इन्डक्सन क्वाइलमा पुग्छ । ति क्वाइलले त्यसमा चुम्बकीय प्रभाव उत्पन्न गर्छ, जसको सम्पर्कमा कुनै पनि स्टिलको भाँडो आइपुग्दा भित्र राखिएका खानेकुराहरू तातिन्छ । यी चुम्बकीय क्षेत्रहरूले धातु सामग्रीलाई मात्र असर गर्छ ।

इन्डक्सन चुल्होमा कस्ता भाँडाहरू प्रयोग गर्ने

सबै प्रकारका भाँडाहरू इन्डक्सन चुल्होले काम गर्दैनन् । यसले फलाम वा फलाममा आधारित भाँडाहरूमा मात्र काम गर्दछ । साथै, यसले केही स्टेनलेस भाँडाहरूमा पनि काम गर्न सक्छ किनकी तिनीहरूमा फलामको केहि मात्रा पाइन्छ । धेरै कास्ट-फलाम र नन-स्टिक भाँडाले पनि इन्डक्शनमा काम गर्छन् । 

induction cooker

यद्यपि इन्डक्सन चुलोको लागि डिजाइन गरिएका छुट्टै भाँडाहरू हुन्छन् । जसमा एक प्रकारको तामाको क्वाइल हुन्छ । यसको सम्पर्कमा आएपछि मात्र भाँडा र त्यसभित्र राखिएको खाना तातो हुन्छ । आजकल बजारमा इन्डक्सन स्टोभका विभिन्न भाँडाहरू सहजै उपलब्ध पनि छन् । 

यी भाँडाहरू बाहेक कास्ट आइरन वा चुम्बकीय स्टेनलेस स्टील, नन स्टिक प्यान आदि जस्ता इन्डक्शन कुकवेयर पनि प्रयोग गर्न सकिन्छ । साथै इन्डक्सन स्टोभमा प्रयोग हुने भाँडाहरू पनि छुट्टै किन्न पाइन्छ । एल्युमिनियम, गिलास र तामाका प्यानहरू इन्डक्सन स्टोभहरू काम गर्दैनन् । 

इन्डक्सन र इन्फ्रारेडमा के फरक छ ?

इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि काम भने फरक किसिमले गर्दछ । इन्फ्रारेड चुल्होमा ग्यासमा जस्तै जुनसुकै भाडामा खाना बनाउन सकिन्छ । तर इन्डक्सनमा फलाम र स्टिलको भाडामा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । इन्डक्सनमा छुट्टै भाडाहरू किन्नुपर्ने हुन्छ । इन्फ्रारेडका लागि भने छुट्टै भाँडा किन्नपर्ने झमेला नभएको व्यसायीहरू बताउँछन् ।

इन्डक्सन चुल्होमा इन्फ्रारेडको तुलनामा ३० प्रतिशत छिटो खाना पाक्दछ भने तुलनात्मक रूपमा कम विद्युत खपत हुन्छ । जस्तोकि, इन्डक्सनमा डेढ लिटर पानी उमाल्दा ०.१५४ युनिट खपत हुन्छ भने इन्फ्रारेडमा लगभग त्यसको दोब्बर ०.२९३ युनिट खपत हुन्छ । साथै इन्फ्रारेडको हिटर जस्तै हुनाले छेउछाउबाट ऊर्जा खेर गइरहेको हुन्छ । 

नेपालमा उपलब्ध ब्रान्डः

अहिले नेपालमा विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेडहरू उपलब्ध छन् । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, डाइमन्ड, यसुदा,फिलिप्स, क्रम्प्टन, होम ग्लोरी लगायत कम्पनीका चिनियाँ, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो नेपाली बजारमा प्रशस्त उपलब्ध छन् ।

नेपालमा उपलब्ध इन्डक्सनको मूल्यः

ठाउँ र कम्पनीअनुसार इन्डक्सन र इन्फ्रारेड चुलोको मूल्य पनि फरक छ । हिजोआज बजारमा घर भएका र भाडामा बस्ने सबैको रोजाइ इन्डक्सन रहेको व्यवसायी बताउँछन् ।

बजारमा लोकल ब्रान्डका  इन्डक्सन र इन्फ्रारेड चुल्होको मूल्य २ हजार रुपैयाँ देखि माथि पर्ने र वारेन्टि भएको चुल्होको मूल्य ३२ सय रुपैयाँ देखी पर्ने उनले बताए । 

त्यस्तै बाल्ट्रा इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४५ सय रुपैयाँसम्म छ । बाल्ट्रा इन्फ्रारेडको भने ४ हजार ९७५ देखि ९ हजार ९०० रुपैयाँसम्म पर्न जान्छ । 

सीजी डिजिटलको इन्डक्सनको मूल्य ४ हजारदेखि १० हजार रुपैयाँसम्म छ । सीजी इन्फ्रारेड चुलोको मूल्य भने ४ हजार ७ सय देखि ७ हजार ६ सय रुपैयाँ सम्म पर्छ ।

ओमेगा नेपाली इन्डक्सनको मूल्य भने ४ हजार रहेको छ । मिडिया चिनियाँ ब्रान्डको इन्डक्सनको मूल्य पनि ४ हजार जति नै पर्न आउँछ ।

फिलिप्सको इन्डक्सन चुलोलाई ७ हजार ५०० र बजाजको ७ हजार ४०० रुपैयाँ पर्छ । क्रम्प्टन इन्डक्सन चुलो ५ हजार माथी पर्छ । होम ग्लोरी इन्फ्रारेडको मूल्य ३ हजार ८ सय रुपैयाँ भन्दा माथि पर्न जान्छ । 

क्षमता

साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू हजार वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । तर धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन् । कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।

विद्युतीय चुलोको फङ्सनः

इन्डक्सन र इन्फ्रारेड दुवैमा प्रायः उस्तै फङ्सन हुने गर्दछ । इन्डक्सनको मूल्य अनुसार फङ्सन फरकफरक हुन्छ । ‘इन्फ्रारेड र इन्डक्सन दुवैमा पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ तर पुस बटनको मूल्य अलि कम हुन्छ भने टच बटनको मूल्य बढी हुने महर्जनले बताए । 

‘इन्डक्सनमा प्रि-सेटिङ गर्ने फङ्सन पनि हुन्छ, उमाल्ने र फ्राइ गर्ने सेटिङ गर्न मिल्छ ।’

त्यस्तै इन्डक्सनमा डिप फ्राइ, प्रेसर कुकर र कडी लगायतका फङ्सन हुन्छन् भने इन्फ्रारेड भने कुनै फङ्सन हुदैन ।

विद्युतीय चुलोप्रति आकर्षण कसरी बढाउन सकिन्छ !

इन्डक्सन चुलो प्रयोग गर्न सजिलो र करेन्ट नलाग्ने हुन्छ । इन्डक्सनमा पकाएको खानेकुरा ग्यास चुलोमा जस्तै हुन्छ । सरकारले विद्युतीय चुलोलाई विशेष प्रथामिकतामा राखेर विज्ञापन गर्न सके यसले अझ राम्रो बजार पाउने व्यवसायीहरू बताउँछन् । 

difference between induction and infraredelectric stoveelectric stove price in nepalHow does an induction cooker workinduction stoveinduction stove price in nepalinfrared stovenepali induction brandtypes of electric stove

You May Also Like

More stories from Basobaas