Lifestyle

बढ्दो महंगीमा विद्युतीय चुलोको प्रयोग, कम खर्चिलो अनि समयको पनि बचत

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय महँगी असामान्य रुपमा बढेर आकाश छुन लागिसक्यो । सामान्य आर्थिकोपार्जन भएको परिवारलाई घरखर्च टार्न मुस्किल हुँदै गएको छ । खाना पकाउने ग्यासलगायत सम्पूर्ण खाद्यान्नको मूल्य बढ्ने क्रम रोकिएको छैन । यस्तोमा सर्वसाधारणलाई घरमा चुल्हो कसरी जलाउने भन्ने अन्योलले सताएको छ । 

कुनै समय थियो जब घरमा माटोको चुलो, स्टोभ, हिटर, एलपीजी ग्यास प्रयोग हुने गर्दथ्यो । तर समयसँगै प्रविधिमा  परिवर्तन आएको छ । अहिले बजारमा आधुनिक डिजाइनका इलेक्ट्रोनिक खाना पकाउने चुल्होहरू प्रशस्तै पाइन्छ । बढ्दो महँगीमा खर्च कटौती र समयको बचत गर्नका लागि परम्परागत चुल्होलाई त्यागेर नयाँ प्रविधि सहितको इन्डक्सन चुल्हो धेरैको पहिलो रोजाइ बन्न थालेको छ ।

नेपालमा विद्युतिय चुल्होः

नेपालमा इन्डक्सनको प्रयोगलाई हेर्दा विशेषगरी वि.सं. २०७२ सालको भूकम्प पछि भारतले अघोषित रुपमा नाकाबन्दी गरेसँगै प्रयोगमा आएको देखिन्छ । सो समयमा एलपी ग्यास अभाव भएपछि इन्डक्सन चुलोको खपत बढ्न थालेको थियो । 

पछिल्लो समय बजारमा ग्यासको मूल्य बढेसँगै विद्युतीय चुल्होको माग ह्वात्तै बढेको हो । बानेश्वरमा १५ वर्षदेखि भान्छामा प्रयोग हुने सामग्री बेच्दै आएका राजन महर्जन भन्छन्- ‘बजारमा ग्यासको मूल्य बढेकाले ग्यासमा खाना पकाउनु भन्दा इन्डक्सनमा कम खर्चिलो, छिटो र सजिलो हुन्छ । त्यसैले ग्राहकहरूले ग्यासको विकल्प रूपमा इन्डक्सन चुल्हो नै खोज्न थालेका छन् ।’ साधारणतया बजारमा दुई प्रकारका विद्युतीय चुल्हो उपलब्ध छन् । ति हुन्,- इन्डक्सन र इन्फ्रारेड । 

इन्फ्रारेड चुल्होः

infrared stove

इन्फ्रारेड चुल्हो नयाँ टेक्नोलोजी नभइ पुरानै माटाको हिटरको परिमार्जित भर्जनका रुपमा हेर्न सकिन्छ । यो पुरानै माटोको हिटर बनाउने प्रविधिलाई सुधारेर बनाइएको हो । जसमा माइक्रोन हिटर क्वाइलको प्रयोग गरिएको हुन्छ । यसमा तापक्रम कन्ट्रोलको लागि सेसनको प्रयोग भएको पाइन्छ । सामान्यतया यो विद्युतीय चुल्हो एक हजार वाट देखि २२ सय वाट सम्ममा पाइन्छ । 

 

इन्डक्सन चुल्होः

induction stove

इन्डक्सन चुल्हो नयाँ प्रविधिको विद्युतीय चुल्हो हो । यसले खाना पकाउँदा लागि भाँडालाई मात्र तताउँछ । इन्डक्सन चुल्होमा भाडा तताउने काम त्यस भित्र रहेको तामाको क्वाइलले गर्दछ । सुरक्षाको हिसाबले यसलाई निकै सुरक्षित मानिन्छ । यसबाट सजिलै करेन्ट लिक नहुने र चुल्हो नतात्ने भएकाले पोल्ने डर कम हुन्छ । यसले अन्य चुल्होको तुलनामा ५० % छिटो खाना पाक्दछ । 

इन्डक्सन चुल्होले कसरी काम गर्छ ?

इन्डक्सन चुल्होले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको सिद्दान्तमा काम गर्दछ । जब हामी कुनै तारमा विद्युत प्रवाह गर्छौ तब त्यो तारको चारैतिर इलेक्ट्रोम्याग्नेटिक फिल्ड अर्थात् विद्युत चुम्बकिय क्षेत्र उत्पन्न हुन्छ । त्यस्तै जब इन्डक्सन ‘अन’ गर्छौं तब करेन्ट प्रवाह भइ तामाको इन्डक्सन क्वाइलमा पुग्छ । ति क्वाइलले त्यसमा चुम्बकीय प्रभाव उत्पन्न गर्छ, जसको सम्पर्कमा कुनै पनि स्टिलको भाँडो आइपुग्दा भित्र राखिएका खानेकुराहरू तातिन्छ । यी चुम्बकीय क्षेत्रहरूले धातु सामग्रीलाई मात्र असर गर्छ ।

इन्डक्सन चुल्होमा कस्ता भाँडाहरू प्रयोग गर्ने

सबै प्रकारका भाँडाहरू इन्डक्सन चुल्होले काम गर्दैनन् । यसले फलाम वा फलाममा आधारित भाँडाहरूमा मात्र काम गर्दछ । साथै, यसले केही स्टेनलेस भाँडाहरूमा पनि काम गर्न सक्छ किनकी तिनीहरूमा फलामको केहि मात्रा पाइन्छ । धेरै कास्ट-फलाम र नन-स्टिक भाँडाले पनि इन्डक्शनमा काम गर्छन् । 

induction cooker

यद्यपि इन्डक्सन चुलोको लागि डिजाइन गरिएका छुट्टै भाँडाहरू हुन्छन् । जसमा एक प्रकारको तामाको क्वाइल हुन्छ । यसको सम्पर्कमा आएपछि मात्र भाँडा र त्यसभित्र राखिएको खाना तातो हुन्छ । आजकल बजारमा इन्डक्सन स्टोभका विभिन्न भाँडाहरू सहजै उपलब्ध पनि छन् । 

यी भाँडाहरू बाहेक कास्ट आइरन वा चुम्बकीय स्टेनलेस स्टील, नन स्टिक प्यान आदि जस्ता इन्डक्शन कुकवेयर पनि प्रयोग गर्न सकिन्छ । साथै इन्डक्सन स्टोभमा प्रयोग हुने भाँडाहरू पनि छुट्टै किन्न पाइन्छ । एल्युमिनियम, गिलास र तामाका प्यानहरू इन्डक्सन स्टोभहरू काम गर्दैनन् । 

इन्डक्सन र इन्फ्रारेडमा के फरक छ ?

इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि काम भने फरक किसिमले गर्दछ । इन्फ्रारेड चुल्होमा ग्यासमा जस्तै जुनसुकै भाडामा खाना बनाउन सकिन्छ । तर इन्डक्सनमा फलाम र स्टिलको भाडामा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । इन्डक्सनमा छुट्टै भाडाहरू किन्नुपर्ने हुन्छ । इन्फ्रारेडका लागि भने छुट्टै भाँडा किन्नपर्ने झमेला नभएको व्यसायीहरू बताउँछन् ।

इन्डक्सन चुल्होमा इन्फ्रारेडको तुलनामा ३० प्रतिशत छिटो खाना पाक्दछ भने तुलनात्मक रूपमा कम विद्युत खपत हुन्छ । जस्तोकि, इन्डक्सनमा डेढ लिटर पानी उमाल्दा ०.१५४ युनिट खपत हुन्छ भने इन्फ्रारेडमा लगभग त्यसको दोब्बर ०.२९३ युनिट खपत हुन्छ । साथै इन्फ्रारेडको हिटर जस्तै हुनाले छेउछाउबाट ऊर्जा खेर गइरहेको हुन्छ । 

नेपालमा उपलब्ध ब्रान्डः

अहिले नेपालमा विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेडहरू उपलब्ध छन् । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, डाइमन्ड, यसुदा,फिलिप्स, क्रम्प्टन, होम ग्लोरी लगायत कम्पनीका चिनियाँ, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो नेपाली बजारमा प्रशस्त उपलब्ध छन् ।

नेपालमा उपलब्ध इन्डक्सनको मूल्यः

ठाउँ र कम्पनीअनुसार इन्डक्सन र इन्फ्रारेड चुलोको मूल्य पनि फरक छ । हिजोआज बजारमा घर भएका र भाडामा बस्ने सबैको रोजाइ इन्डक्सन रहेको व्यवसायी बताउँछन् ।

बजारमा लोकल ब्रान्डका  इन्डक्सन र इन्फ्रारेड चुल्होको मूल्य २ हजार रुपैयाँ देखि माथि पर्ने र वारेन्टि भएको चुल्होको मूल्य ३२ सय रुपैयाँ देखी पर्ने उनले बताए । 

त्यस्तै बाल्ट्रा इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४५ सय रुपैयाँसम्म छ । बाल्ट्रा इन्फ्रारेडको भने ४ हजार ९७५ देखि ९ हजार ९०० रुपैयाँसम्म पर्न जान्छ । 

सीजी डिजिटलको इन्डक्सनको मूल्य ४ हजारदेखि १० हजार रुपैयाँसम्म छ । सीजी इन्फ्रारेड चुलोको मूल्य भने ४ हजार ७ सय देखि ७ हजार ६ सय रुपैयाँ सम्म पर्छ ।

ओमेगा नेपाली इन्डक्सनको मूल्य भने ४ हजार रहेको छ । मिडिया चिनियाँ ब्रान्डको इन्डक्सनको मूल्य पनि ४ हजार जति नै पर्न आउँछ ।

फिलिप्सको इन्डक्सन चुलोलाई ७ हजार ५०० र बजाजको ७ हजार ४०० रुपैयाँ पर्छ । क्रम्प्टन इन्डक्सन चुलो ५ हजार माथी पर्छ । होम ग्लोरी इन्फ्रारेडको मूल्य ३ हजार ८ सय रुपैयाँ भन्दा माथि पर्न जान्छ । 

क्षमता

साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू हजार वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । तर धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन् । कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।

विद्युतीय चुलोको फङ्सनः

इन्डक्सन र इन्फ्रारेड दुवैमा प्रायः उस्तै फङ्सन हुने गर्दछ । इन्डक्सनको मूल्य अनुसार फङ्सन फरकफरक हुन्छ । ‘इन्फ्रारेड र इन्डक्सन दुवैमा पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ तर पुस बटनको मूल्य अलि कम हुन्छ भने टच बटनको मूल्य बढी हुने महर्जनले बताए । 

‘इन्डक्सनमा प्रि-सेटिङ गर्ने फङ्सन पनि हुन्छ, उमाल्ने र फ्राइ गर्ने सेटिङ गर्न मिल्छ ।’

त्यस्तै इन्डक्सनमा डिप फ्राइ, प्रेसर कुकर र कडी लगायतका फङ्सन हुन्छन् भने इन्फ्रारेड भने कुनै फङ्सन हुदैन ।

विद्युतीय चुलोप्रति आकर्षण कसरी बढाउन सकिन्छ !

इन्डक्सन चुलो प्रयोग गर्न सजिलो र करेन्ट नलाग्ने हुन्छ । इन्डक्सनमा पकाएको खानेकुरा ग्यास चुलोमा जस्तै हुन्छ । सरकारले विद्युतीय चुलोलाई विशेष प्रथामिकतामा राखेर विज्ञापन गर्न सके यसले अझ राम्रो बजार पाउने व्यवसायीहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It