News

घरजग्गा व्यवसायीको अनुभव र बजार अवस्थाः कारोबारमा ‘सेल’ लागेकै हो त !

Pinterest LinkedIn Tumblr

काठमाडौं । केही समययता घरजग्गाको कारोबार खस्किएको छ । यससँगै नयाँ भू-उपयोग नियमावली र बैंकिङ नितीका कारण कारोबारमा आएको गिरावट बहसको विषय पनि बनेको छ ।

केहिदिन अघि उपत्यकामा घरजग्गाको सेल चलेको खबर बाहिरिएको थियो । सो विषय तथ्यगत भए नभएको जान्न हामीले केही चलेका रियल ईस्टेट व्यवसायीसँग कुराकानी पनि गरेका थियौं । 

घरजग्गाको कारोबारमा कमी आएको भएपनि सेल नै लागेको कुरामा चाहिँ सत्यता नभएको व्यवसायीहरूले जनाएका छन् । घर संसार नेपालका संस्थापक रबी लामा भन्छन्, ‘बजारमा अफवाह मात्र फैलिएको हो, यथार्थमा  घरजग्गाको मूल्यमा कुनै उतारचढाव आएको छैन । आज जग्गा किनेर भोलि नै २०/२२ लाखको फाइदा हुने खालको अवस्था नभएको मात्र हो ।’ 

मार्केटमा बैंक तथा वित्तीय संस्थाले लिलालमिमा राखेको घरजग्गामा सुलभ दरमा बिक्री भइरहेको भए पनि त्यस बाहेकका घरजग्गा मूल्यमा गिरावट नआएको लामाले बताए ।

लामा भन्छन् ‘राष्ट्र बैंकले लिएको नयाँ निती १ वर्ष सम्म चल्ने हो भने त्यतिबेलासम्ममा केही परिवर्तन आउन सक्छ, तर हालसम्म आइपुग्दा मूल्य घटाएर नै कारोबार गर्न पर्ने अवस्था आएको छैन ।’ 

त्यसैगरी सत्य शाही रियल ईस्टेटकी संस्थापक अम्बिका सिंह, हाल घरजग्गाको अवस्था बजारमा फैलिएको हल्लाको जस्तो नभएको बताउँछिन

उनी थप्छिन्, ‘बैंकले लिलामीमा राखेको वा समस्या परेर केही घरजग्गा बिक्री भएको भएपनि यथार्थमा सेल नलागेको हुँदा सर्वसाधारणले भ्रामक समाचारको पछि नलागी सजग रहन आवश्यक छ ।’ 

नयाँ भू-उपयोग नियमावली र बैंकको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति हुन नसकेको कुरालाई व्यवसायीहरूले स्विकारेका छन् ।

भूमि व्यवस्थापन विभागकै तथ्याङ्कलाई आधार मानेर हेर्दा विगतमा देशभर मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुने गरेको थियो । तर पछिल्लो समय किनबेच शून्य जस्तै हुन थालेको छ । 

स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गर्न नसक्दा पनि कारोबारमा समस्या देखिएको हो । जग्गा अनिवार्य वर्गीकरण गर्नुपर्ने नीति र बैंकको उच्च ब्याजदरका कारण ऋण लिएर घरजग्गा किन्नेको सङ्ख्यामा ह्रास आएको छ । 

बैंकबाट मुस्किलले पाएको ऋणमा चर्को ब्याजदर तिर्नुपर्ने भएकाले सानोतिनो पूँजीबाट घरजग्गा किन्न असम्भव जस्तै भएको छ । 

विभागको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको कारोबार आधाले घटेको देखिन्छ । गत वर्षको मंसिर महिनामा ७० हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । तर, यो वर्षको सोही अवधिमा देशभर २९ हजार १८४ वटा घरजग्गा किनबेच भएको छ । 

गत कात्तिक महिनामा देशभर २८ हजार र असोजमा २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ । कारोबारमा गिरावट आएसँगै राजस्व संकलनमा कमी आउनु स्वभाविक नै हो ।

आर्थिक वर्ष २०७८/७९ कार्तिकमा ५ अर्ब ४९ करोड राजस्व संकलन भएकोमा यस वर्ष कात्तिकमा ३ अर्ब ७६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ । 

त्यस्तै मंसिरमा ७ अर्व ७ करोड राजस्व संकलन भएकोमा यस वर्षको मंसिरमा भने २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It