Decor

भगवान विष्णुको प्रतीक क्रिस्टल कछुवा, सुख-शान्ति, समृद्धि पुरक

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

काठमाडौं । धार्मिक आस्था अनुसार  विभिन्न देवीदेवतालाई जनाउने पशुपंक्षीको तस्वीर तथा आकृतिहरू सजावटका लागि राखिन्छ । जसले घरमा शुभ कार्यका लागि सघाउ पुग्दछ । आज हामी घरमा शुभ वातावरण सिर्जना गर्नका लागि राखिने ‘आर्टिफिसिएल टर्टल’ अर्थात् कृतिम कछुवाको बारेमा चर्चा गर्दैछौँ । कछुवालाई सुख-शान्ति, समृद्धि र भगवान विष्णुको प्रतीकको रूपमा लिइन्छ । 

पुरानो समयमा घरको एक छेउमा पोखरी बनाएर कछुवा पाल्ने गरिन्थ्यो । हिजोआज पनि फाट्टफुट्ट कछुवा पालन देख्न पाइन्छ तर पहिलेपहिले जस्तो सर्वसुलभ भने छैन । पोखरी बनाएर जीवित कछुवा राख्न सम्भव नहुने हुँदा कृतिम कछुवा राख्ने प्रचलन सुरु भएको हुनसक्छ । बजारमा विभिन्न प्रकारका कछुवा सहजै उपलब्ध छन् । चाँदी, क्रिस्टल, धातु, माटो र काठ आदिबाट बनेका कछुवा पाइन्छन् । हरेक बनावटको आफ्नै विशेषता हुन्छ । 

turtle

कछुवालाई दिव्य प्राणीको रुपमा लिइन्छ । हिन्दु धर्ममा मात्र नभई, चिनियाँहरूले कछुवालाई पनि विशेष महत्वका साथ हेर्ने गरेको पाइन्छ । वैदिक  सनातन धर्मले भगवान विष्णुका २४ अवतार मध्ये ‘कूर्म अवतार’ अर्थात् कछुवाको अवतारलाई दोस्रो अवतारको रूपमा व्याख्या गरेको पाइन्छ । कछुवा भएको घरमा लक्ष्मीले बास गर्ने र प्रशस्त धनलाभ हुने मान्यता रहेको छ ।

एउटा पौराणिक कथाः 

हिन्दू धर्म अनुसार भगवान विष्णुले कछुवाको अवतार लिएर समुन्द्र मन्थनमा पनि सहायता गरेका थिए । दुर्वासा ऋषिले आफ्नो अपमान गरेको कारण देवराज इन्द्रलाई श्री (लक्ष्मी) भन्दा सानो हुने श्राप दिए । भगवान विष्णुले इन्द्रलाई दिएको श्राप मुक्तिको लागि समुन्द्र मन्थन लागि राक्षसहरुलाई प्रलोभनमा पारे । देवता र राक्षसहरू मिलेर समुन्द्र मन्थन गर्न थाले । समुन्द्र मन्थनको लागि मदरांचल पर्वतको मथानी एंव नागराज वासुकीको नेती बनाए ।

तर तल कुनै आधार नभएकाले पर्वत समुन्द्रमा डुब्न लाग्यो । अवस्था डरलाग्दो देखेर भगवान विष्णुले ठुलो कछुवाको रुप धारण गरी समुन्द्रमा मंदराचलको आधार बने । भगवान कछुवाको विशाल पिठमा मंदराचल मज्जाले घुम्न लाग्यो र यसरी समुन्द्र मन्थन सम्पन्न भयो । समुन्द्र मन्थन गरेर एक एक १४ रत्न निकाले ।

कच्छपवतारपछि मात्रै  एकादशीको व्रत मानिसमा प्रचलित भएको मान्यता छ । कूर्म पुराणमा, विष्णुले आफ्नो कच्छपवतारमा, ऋषिहरूलाई जीवनका चार लक्ष्यहरू (धर्म, अर्थ, काम र मोक्ष) वर्णन गरेको उल्लेख छ । 

कछुवाले वरदानमा लामो आयु पाएको छ । तसर्थ कछुवालाई सुख, समृद्धि र आयुको प्रतीक मानिन्छ । फेंग शुई चिनियाँ परम्परामा कछुवाको प्रभावले दीर्घायु प्राप्त हुने मान्यता छ । वास्तुशास्त्र अनुसार घरमा कछुवा राख्दा शान्ति, सद्भाव, दीर्घायु र धन प्राप्त हुने विश्वास छ । घरलाई नकारात्मक ऊर्जाबाट जोगाउन कछुवा राख्ने गरिन्छ । घर वा कार्यालयमा क्रिस्टल कछुवा राख्नाले आर्थिक समस्या हराउँदै जाने मान्यता छ । कछुवाको मूर्तिले सकारात्मक ऊर्जालाई आकर्षित गर्ने र वास्तु दोष हट्ने जनविश्वास छ । कछुवाले व्यक्तिगत र व्यावसायिक जीवनमा दृढता ल्याउँछ । 

कछुवालाई कहाँ राख्ने !

crystal turtle

वास्तुशास्त्र अनुसार क्रिस्टल कछुवालाई उत्तर दिशामा राख्नु शुभ मानिन्छ । यस दिशामा धनका स्वामी कुबेरको आसन रहन्छ । यस बाहेक शत्रुबाट पनि मुक्ति मिल्छ । यसलाई सुत्ने कोठामा राख्नाले अनिद्रासँग लड्न मद्दत गर्छ । घरको मन्दिरमा पहेँलो कपडामा क्रिस्टल कछुवा राख्ने हो भने शुभ फल प्राप्त हुन्छ । घरलाई नकारात्मक ऊर्जाबाट जोगाउन प्रवेशद्वार अर्थात् मूलढोकामा कछुवा राख्न सकिन्छ । साथै तिजोरी अर्थात् पैसा राख्ने ठाउँमा राखेमा प्रशस्त धन आर्जन गर्न सकिन्छ । घरको मूलढोकामा राख्नाले शान्ति कायम भईराख्छ । अफिस तथा कार्यालयको टेबलमा क्रिस्टल कछुवा राख्नाले आर्थिक उन्नति हुनुका साथै रोकिएका कामहरू पनि पूरा हुन्छन् । झरना वा माछाको ट्यांकी नजिक कछुवाको मूर्ति राख्नु सौभाग्य मानिन्छ । 

कछुवालाई तामाको प्लेट, पित्तलको प्लेट, क्रिस्टलको प्लेट र चाँदीको प्लेटमा राख्न सकिन्छ । पानी राख्दा कछुवाको खुट्टा डुब्ने गरी राख्नुपर्दछ । यसरी राख्दा यसको प्रभाव दोब्बर हुन्छ । वास्तु विज्ञहरूका अनुसार बुधवार, बिहीबार र शुक्रवार जस्ता कार्यदिवसका दिन घरमा कछुवाको मूर्ति राख्नका लागि उत्तम दिन मानिन्छ ।  

आजको लेख तपाईंलाई कस्तो लाग्यो, कृपया प्रतिक्रिया लेख्न नभुल्नुस् है ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It