Development

ग्वार्को ओभरपास निर्माणको गति तिव्र, दुई सिफ्टमा काम हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको कामलाई तिव्रता दिइएको छ । निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरण अभावका कारण रोकिएको काम दुई सिफ्टमा गर्न थालिएको हो । 

ओभरपासको काम आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने लक्ष्य छ । सो लक्ष्य प्राप्तिका लागि बिहानदेखि रातिसम्मै काम भइरहेको छ । कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाहीँ राति १२ बजेसम्म काम गरिरहेका छन् । 

आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तर रुपमा गरिने जनाइएको छ । 

हाल निर्माणस्थलमा आठवटा पाइल (जगमा राखिने कुरा) राख्ने काम भइरहेको छ । दुईवटा साइडमा १२/१२ वटा गरी जम्मा गरेर २४ पाइल चाहिनेमा हालसम्म सातवटा पाइलको काम सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्छ । 

ओभरपासको माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) कालागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई र तीन महिना काम रोकिएको थियो । हाल निरन्तर काम भइरहेको छ । 

यो पनि पढ्नुहोस्ः ग्वार्को ओभरपासको डिजाइन फेर्दै ठेकेदार कम्पनी

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी छ । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ ।

निर्माणको समयमा बीचको लेन बन्द भए पनि हाल ट्राफिक प्रहरीले छेउछेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरिरहेका छन् । 

सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It