News

बैंकमा थुप्रिए २४ अर्ब बराबरका घरजग्गा, यस्ता छन् कारणहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा धितो राखेर ऋण दिएका बैंक तथा वित्तीय संस्थाहरूले धितो लिलाम गर्न नसकेपछि गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको छ । अकासिएको जग्गाको मूल्य र आर्थिक गतिविधिमा आएको संकुचनले जग्गा बिक्री हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको हो । 

नेपाल राष्ट्र बैंकको चालू आवको पुससम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड पुगेको छ । पाँच वर्षअघि आर्थिक वर्ष ०७६/७७ मा यस्तो सम्पत्ति ६ अर्ब १३ करोड मात्रै थियो । 

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरूको मात्रै गैरबैंकिङ सम्पत्ति चालू आवको पुससम्म १९ अर्ब ८७ करोड रुपैयाँ छ । पाँच वर्षअघिको तुलनामा यो चार गुणाले बढी हो । आव ०७६/७७ मा यो पाँच अर्ब पाँच करोडमा सीमित थियो । 

बढी मूल्यांकन गरेर कर्जा नवीकरण गर्दा थुप्रियो गैरबैंकिङ सम्पत्ति

अहिले बैंकहरूले देखाएको गैरबैंकिङ सम्पत्तिको तथ्यांक विगतमा बढी मूल्यांकन गरेर कर्जा नवीकरण गर्दाको परिणाम हो । हाल आफैँले बढी मूल्यांकन गरेको धितोको जग्गा बेच्न सकेका छैनन् । 

केन्द्रीय बैंकका अनुसार नेपालमा ९० प्रतिशत कर्जा धितोमा आधारित छ । बैंकहरूले परियोजनामा आधारित भएर कर्जा प्रवाहलाई प्राथमिकतामा नराख्दा गैरबैंकिङ सम्पत्तिको भार बढ्दै गइरहेको छ । जग्गा धितोमा राखेर कर्जा दिने प्रवृत्तिले सम्पत्तिको मूल्यांकन बढाउनुका साथै कर्जाको जोखिम पनि बढाएको छ । 

बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढ्दा यसले पुँजी पर्याप्तताको अनुपातमा समेत चाप परेको छ । हाल सीमित आम्दानी हुने वर्गले लिएको ऋण तिर्न सक्ने अवस्था छैन । ऋणी आफैँले सम्पत्ति बिक्री गर्न सक्ने स्थिति हुन्थ्यो भने कर्जा तिर्न पनि सक्थे होलान् । त्यसैले, ऋण उठ्न नसकेर गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको छ । 

पछिल्लो समय जग्गाको किनबेच थोरै बढ्न थाले पनि उल्लेख्य सुधार नआएकाले समस्या उस्तै छ । गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा केही मालपोत कार्यालयले बैंकलाई हदबन्दीभन्दा बढी जग्गा नराख्न पत्राचार नै गरेको बैंकरहरूको गुनासो छ । 

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एनआईसी एसिया बैंकको छ । चालू आर्थिक वर्षको पुससम्म गैरबैंकिङ सम्पत्ति ३ अर्ब ४० करोड नाघेको छ । पाँच वर्षअघि ०७६/७७ मा यो बैंकको गैरबैंकिङ सम्पत्ति २१ करोड ६४ लाख मात्रै थियो । 

प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब नाघेको छ । नबिल, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, कुमारी, माछापुच्छ्रे, लक्ष्मी सन्राइज बैंकको यस्तो सम्पत्ति १ अर्ब नाघेको छ । 

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राख्नेमा नेपाल एसबिआई बैंकको छ । एसबीआईको सात करोड ६५ लाखको गैरबैंकिङ सम्पत्ति छ । 

कालोसूचीमा पर्ने ऋणी ७५ हजार

कर्जा असुल हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कालोसूचीमा राख्छन् । कर्जा सूचना केन्द्रका अनुसार त्यस्ता ऋणीको संख्या गत २६ माघसम्म ७५ हजार ९७ पुगेको छ । 

गत आर्थिक वर्षसम्म ५२ हजार एक सय ४३ ऋणी तथा व्यक्ति कालोसूचीमा परेका थिए । चालू आर्थिक वर्षको सात महिनामै २२ हजार नौ सय ५४ संस्था तथा व्यक्ति कालोसूचीमा थपिएका छन् । 

कालोसूचीमा पर्नेमा अधिकांश व्यवसायिक संस्था तथा व्यवसायी र जमानी बस्नेहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It