Vaastu

वास्तुमा उल्लेख भएअनुसार घरको यी दिशामा भुलेर पनि नराख्नुस् मृतक व्यक्तिको फोटो

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

काठमाडौं । हिन्दु धर्ममा पितृ अर्थात् दिवङ्गत व्यक्तिको आत्मालाई भगवान समान मान्ने चलन छ । धार्मिक परम्परा अनुसार पितृहरूको सम्झना गरि श्राद्ध गर्ने चलन पनि छ । कोही पनि मानिस हामीमाझ सँधै रहँदैन भन्ने यथार्थलाई कसैले नकार्न सकिँदैन । सम्झना स्वरुप राखिएका तस्वीर मात्र हाम्रो साथमा रहन्छन् । कतिपय अवस्थामा मृत्यु अघिको फोटो नभए पछि बनाएर पनि राख्ने गरिन्छ । फोटोमा माला लगाइदिने, कलशमा पानी र दियोमा बत्ती बाल्ने समेत गरिन्छ । यसरी मृत व्यक्ति अर्थात पितृको तस्विर राख्नुको कारण र यसको महत्वको विषयमा आज हामी कुरा गर्दैछौँ ।

वास्तु शास्त्रमा हाम्रा मृतक पूर्वज तथा पितृहरूका तस्बिर झुन्ड्याउनका लागि दिशा निश्चित गरिएको छ । यदि गलत दिशामा मृतकको फोटो राखेको खण्डमा परिवार भित्रका अन्य सदस्यमा नकारात्मक असर पर्ने वास्तुशास्त्रीहरू बताउँछन् ।

मृतकको तस्बिर कसरी राख्ने त ! 

मृतकको फोटो राख्नका लागि विशेषतः दक्षिण दिशा उपयुक्त मानिन्छ । दक्षिण दिशालाई यमराजको दिशा भनेर चिनिने हुँदा पितृहरू पनि दक्षिण दिशातिर बस्छन् भन्ने विश्वास छ । यस दिशामा तस्विर राख्न सम्भव नभएमा नैर्ऋत्य कोण अर्थात् दक्षिणपश्चिम दिशालाई अर्को विकल्पका रुपमा लिन सकिन्छ । मानिसको मृत्यु भएको ४१ ‌औ दिनमा मृत व्यक्तिको फोटोमा चन्दन लगाएर दक्षिण दिशामा राख्दा पिण्ड पनि दिन पर्दैन भन्ने पनि मान्यता छ ।

मृतकको तस्विर राख्दा यी गल्ति नगर्नुहोस्ः

जतिसुकै आस्था र सम्मान गरेको व्यक्ति भए पनि मृतकको फोटो पूजाकोठामा भगवानको मूर्ति तथा फोटोसँग राखेर पुजा गर्नु हुँदैन । यसो गर्नाले देवता र पितृहरू दुवै पक्ष रुष्ट हुने मान्यता छ । पितृ देवताको दोषबाट ग्रसित हुने र दुर्भाग्य निम्तने हुँदा यसो गर्नु उपयुक्त हुँदैन ।

मृतकको फोटोलाई घरको मूल बिच भाग अर्थात् ब्रह्मथानमा पर्ने गरि राख्नु हुँदैन । घरबाट निस्कँदा र घरभित्र पस्दा प्रत्यक्ष देखिने ठाउँमा पनि फोटो राख्नु हुँदैन । यसरी गलत दिशामा मृतक पूर्वजको फोटो राख्दा आयु घट्ने, फजुल खर्च बढ्ने धनको कमी हुने, मानसिक तनाव उत्पन्न हुने आदि समस्या निम्तन्छ ।

पूर्व दिशामा पर्ने गरि मृत व्यक्तिको फोटो राख्नु हुँदैन । पूर्व सूर्यको स्थान हो । यो दिशामा मृतकको तस्बिर राख्दा मान सम्मान इज्जत प्रतिष्ठा घट्दै जान्छ ।

उत्तर दिशा कुवेरको दिशा हो । मृतक पूर्वजको फोटोलाई उत्तर दिशामा राख्दा धनको कमी हुने, फजुल खर्च बढ्ने जस्ता समस्या देखिन थाल्छ । आग्नेय पूर्वदक्षिण कोणमा फोटोलाई राख्दा रोग व्याध निम्तन्छ ।

मृतकको फोटो भान्छामा राख्न हुन्छ त ?

मृत व्यक्तिको फोटो सुत्ने कोठा, भान्छाकोठामा पनि राख्नु हुँदैन । यदि तपाईं भाडामा बस्नुहुन्छ र एउटा कोठा मात्र छ भने त्यस्तो अवस्थामा फोटोलाई सेतो कपडाले छोपिदिनु पर्छ । सुतेको बेला मृतकको फोटो खुट्टा पट्टि पर्ने गरि पनि राख्नु हुँदैन । प्राय घरहरूमा भर्याङ मुनि मृतकको फोटो राख्ने गरेको देखिन्छ । यसरी फोटो राख्दा घरमा कहिल्यै शान्ति नहुने विश्वास छ ।

मृतक व्यक्तिको फोटो कस्तो फ्रेममा राख्ने

मृतकको फोटो राख्दा सकेसम्म सेतो अथवा सिल्भर तथा हल्का पहेलाे कलरको फ्रेम बनाउँनु पर्दछ । गाढा कलरको फ्रेम रातो, कालो, निलो हरियो जस्ता फ्रेममा मृतक पूर्वजको फोटो राख्नु राम्रो मानिदैन । 

मृतक व्यक्ति सबै एकै किसिमले मरेका हुन्छन् भन्ने हुँदैन । कतिपय व्यक्ति अल्पायुमै आत्महत्या गरि या कुनै दुर्घटनामा परि मृत्यु भएका हुन्छन् । त्यस्तो अवस्थामा जसको विवाह भएर मृत्यु भएको छ उनीहरूको तस्बिर दक्षिण दिशामा लगाउनु पर्दछ भने जो अधोगति अर्थात् गति बिग्रिएर मृत्यु भएका हुन्छन् उनीहरूको तस्बिर उत्तर दिशामा लगाउनु पर्दछ । गति बिग्रिएर मृत्यु भएकाहरूलाई शंकर भगवानको शिरबाट बग्ने जल जुन ३३ कोटी देवताहरू ग्रहण गर्न बसेका हुन्छन् । सोही जल अधोगति भएर मृत्यु भएकाहरूलाई पनि प्राप्त हुन्छ भनिएको छ । त्यसैले अधोगति प्राप्त कुमार कुमारीहरूको मुक्ति उत्तर दिशामा हुन्छ भनिन्छ । 

घर सजाउन होस् वा विगतका सम्झना ताजा गर्न घरमा फोटो झुन्ड्याउने चलन छ । हामी फोटो त झुन्ड्याउँछौँ तर जीवनका अविस्मरणीय र सुन्दर पलहरू समेटिएका ती तस्बिर कहाँ र कसरी राख्ने भन्ने कुरा नजान्दा हामीलाई तिनै तस्बिरको नकारात्मक प्रभाव पर्नसक्छ । वास्तु शास्त्रमा तस्बिर झुन्ड्याउनका लागि निर्धारण गरिएका नियम र दिशाको प्रभावले सकारात्मक नतिजा दिनसक्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It