काठमाडौं । वर्षायाममा केही घरहरूमा ओस पस्ने समस्या देखिन्छ, जसलाई प्राविधिक भाषामा ‘सिपेज’ भनिन्छ । सिपेजका कारण तत्काल घरको रङ्ग फुल्ने र दीर्घकालमा पर्खाल कमजोर बन्ने जोखिम हुन्छ । यदि समयमै यसको समाधान गरिएन भने दीर्घकालीन मर्मत खर्च पनि बढ्न सक्छ ।
सिपेज के हो र किन हुन्छ ?
घरको भुइँ, छत तथा भित्ताहरूमा हुने छिद्रहरूबाट पानीको प्रवाह भइ पानी रसाउने, ओसिलो हुनुलाई प्राविधिक भाषामा सिपेज भन्ने गरिन्छ ।
सामान्यतया घरको ढलान राम्रोसँग नहुँदा, कमजोर पाइपलाइन, छानो/छत, भित्तामा भएको कमजोर वाटरप्रूफिंग र ड्रेनेज सिस्टममा चुहावटका कारण सिपेज हुने गर्छ । त्यस्तै; भवनको डिजाइन वा निर्माणमा कम गुणस्तरको सामग्रीको प्रयोग, र छतको फिनिसिङमा भएको लापरबाहीले पनि सिपेज निम्त्याउँछ ।
गहिरो जग्गा, डुबान क्षेत्र वा अन्डरग्राउन्ड ट्याङ्की भएको घरमा भित्ताबाट पानी रसाउने समस्या बढी देखिन्छ । दुईवटा घरहरू जोडिएका छन् भनेपनि जोडिएको ठाउँको भित्ताबाट पानी छिरेर सिपेज हुनसक्छ ।
सिपेजका जोखिमहरू
घर निर्माण अघि आवश्यक सावधानी नअपनाउँदा, प्राविधिकबाट सुपरिवेक्षण नगराउँदा र गुणस्तरीय निर्माण-सामाग्रीहरूको प्रयोग नहुँदा यस्ता समस्या आउँछन् । सिपेजका कारण रङ्ग फुल्ने, वा पत्र-पत्र भइ पेन्ट उप्किने हुन्छ । सिपेजले पिलरका फलाममा खिया लाग्ने, छत भासिने, बिजुली सर्ट हुने, र काठका झ्यालढोकामा ढुसी लाग्ने जस्ता गम्भीर समस्या देखिइ घरको सुरक्षामा समेत चुनौति सिर्जना गर्छ ।
सिपेजको समाधान के त ?
सिपेजको समाधानका लागि सिमेन्टको घोल हालेर मात्र सम्भव हुँदैन । प्रभावकारी समाधानका लागि वैज्ञानिक र प्राविधिक रूपमा प्रमाणित Waterproofing विधिहरू अपनाउनु आवश्यक हुन्छ । यस्ता छन्, सिपेज समाधानका केही प्रचलित विधिहरूः
बिटुमिनस कोटिङ (bituminous coating)
बिटुमिनस कोटिङ सस्तो, सजिलो र प्रभावकारी Waterproofing उपाय हो । यो विधिमा Bitumen नामक कालो Semi solid Liquid प्रयोग गरिन्छ । जुन प्रायः सडक पिच गर्न प्रयोग गरिन्छ । यसमा Waterproofing क्षमता भएकाले घरको छत, ट्याङ्की, भुइँमा प्रयोग गरिन्छ । जसले घर र संरचनालाई दीर्घकालीन क्षतिबाट बचाउन सहयोग गर्छ । विशेषतः नेपालमा bituminous coating घरको छत, भुइँ, ट्याङ्की, वा बाहिरी भित्ताहरूमा यसको प्रयोग व्यापक रूपमा गरिन्छ । यो सस्तो, सजिलो र प्रभावकारी वाटरप्रूफिंग उपाय हो । तर पछि cracking आउने हुँदा maintenance आवश्यक पर्छ ।
रासायनिक पानी प्रतिरोध (Chemical Waterproofing)
यो विधिमा थुप्रै रासायनिक पदार्थको प्रयोग गरेर घरमा देखिएका ग्यापहरू भरिन्छ । यी रसायन सामान्यतया तरल पदार्थमा आउँछन् । जसलाई ब्रश, रोलर वा स्प्रेयरको प्रयोग गरेर सतहमा लगाइन्छ । यसरी लगाउँदा आँखाले नदेखिने प्वालहरूबाट पनि छिर्न सक्दैनन् । यसरी Waterproofing गर्दा Bitumen Coating भन्दा बढि खर्च आउँछ; तर लामो समयसम्म टिकाउ हुन्छ ।
झिल्ली पाना (Membrane Sheet)
नेपालको सन्दर्भमा निकै प्रभावकारी मानिएको यस विधिमा पहिले तयार पारिएको PPC, TPC जस्ता sheet लाई हिट र ग्लुले छतको भित्ता तथा भुईहरूमा लगाइन्छ । यो विधि विशेषगरी घरको छत, बार्दली तथा बाथरुमका लागि प्रभावकारी हुन्छ ।
बाहिरी भागको कोटिङ (Zero side polymer coating)
यस विधिमा जिरो साइड (पानी प्रवेश गर्न सक्ने बाहिरी भाग) मा प्लास्टर गरिसकेपछि, ड्यामप्रुफ केमिकल (Damp Proof Chemical) लाई तेर्सो (horizontal) र ठाडो (vertical) दुवै दिशामा राम्ररी ब्रश वा रोलरले लेपन लगाउनुपर्छ । यसो गर्नाले पानी पर्खालमा अडिन पाउँदैन र पर्खाललाई भिज्नबाट जोगाउँछ ।
सिपेज रोकथाम गर्न प्राविधिक तथा विशेषज्ञको परामर्शअनुसार वाटरप्रूफिंगका उपायहरू अपनाउनुपर्छ । अनुभवी र दक्ष प्राविधिकले सही मापन, सामग्री छनोट र प्रविधिको प्रयोग गर्ने हुँदा सिपेजको समाधन दीर्घकालीन र भरपर्दो हुनसक्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।