News

नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थल उडानको तयारीमा, पोखराको पहिचान प्याराग्लाइडिङ संकटमा पर्न सक्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । अंग्रेजी नयाँवर्षको दिनदेखि पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्येको एक हो । यो विमानस्थल भित्रको काम पूर्ण रुपमा सम्पन्न भइसकेको भएता पनि कहिलेबाट सञ्चालनमा आउला भन्ने अन्योल नै थियो । सरकारले गरेको नयाँ घोषणासँगै अब पोखरा क्षेत्रका जनताको लगभग साढे चार दशकदेखिको सपना पुरा हुने भएको हो । 

सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछ । योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्यान्डफिल साइट लगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ । 

pokhara international airport
हालसालै निर्माण सम्पन्न पोखरा अन्तराष्ट्रिय विमानस्थल

यो पनि पढ्नुहोस्ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सबै काम सम्पन्न उडान सुरु हुनेमा अझै अन्योल 

विमानस्थल निर्माणका लागि २०३४ सालदेखि जग्गा अधिकरण गरिएको थियो । यद्यपि निर्माणको सिलसिला लामो समयसम्म रोकियो । अभियन्ताहरूले निर्माण सुचारू गराउन लामो समयसम्म सङ्घर्ष गरेका थिए । लामो कालखण्डसम्म निर्माणाधीन रहेको विमानस्थल सञ्चालनमा आउँदा गण्डकी प्रदेशवासी हर्षित छन् । विमानस्थल सञ्चालनमा आउनुपूर्व ल्यान्डफिल साइटको व्यवस्थापनसँगै सयौँ वर्षदेखि यस क्षेत्रमा आवतजावत गरिरहेका चराको व्यवस्थापन गर्नु पर्यावरणीय दृष्टिकोणले उपयुक्त हुन्छ । 

नवनिर्मित विमानस्थलको नजिकै रहेको ल्यान्डफिल साइट छ । जसकारण सो क्षेत्रमा चराको गतिविधि र आवतजावत धेरै छ । ल्यान्डफिल साइट अन्यत्र व्यवस्थापन भए पनि तत्कालै चराका गतिविधि रोक्ने सकिने वा नसकिने कुरामा ध्यानाकर्षण जरुरी छ ।

अन्तरराष्ट्रिय उडानले प्याराग्लाइडिङलाई चिन्ताः

paragliding
सराङकोटबाट प्याराग्लाइडिङ

नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पोखराको साहसिक पर्यटनमा महत्वपूर्ण स्थान ओगेटेको सराङकोटको प्याराग्लाइडिङ के हुने हो त्यसबारे चासो र चिन्ता बढ्दै गएको छ । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट प्याराग्लाइडिङ उडान गर्न नमिल्ने प्राधिकरणले जनाएको छ । उडान सुरु भएसँगै प्याराग्लाइडिङ सञ्चालन गर्न नमिल्ने विषयले कतै पोखराबाट यो व्यवसाय नै विस्थापन हुने त होइन भन्ने चिन्ता बढाएको यस क्षेत्रका व्यवसायी बताउँछन् । हाल विभिन्न ६० कम्पनीले प्याराग्लाइडिङको व्यावसायिक उडान सञ्चालन गरिरहेका छन् । 

पोखरामा करिब तीन सय ६० जना प्याराग्लाइडिङ उडान गर्ने पाइलटले प्रत्यक्ष रोजगारी पाएका छन् । प्याराग्लाइडिङ पोखराको पहिचान पनि हो । यसको सञ्चालनले विमानस्थलको दीर्घकालीन सञ्चालनमा पनि टेवा पुग्ने हुँदा प्याराग्लाइडिङकै लागि पनि उडानमार्फत आउने पर्यटकले उडान भर्न योगदान पुर्याउने हुँदा त्यसतर्फ पनि सोच्नु जरुरी छ । 

उडानका प्राविधिक पक्ष मिलाएरै भएपनि यसलाई निरन्तरता दिने गरी पहल गर्नका लागि सम्बद्ध निकायसँग आग्रह गरिएको छ । प्याराग्लाइडिङ विस्थापन नगर्नका लागि सम्बद्ध निकायले पनि चासो देखाएको छ । 

एक कार्यक्रमका बीच अघिल्लो साता पोखराको भ्रमणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने किसिमले उपाय खोजिने बताइएको छ ।

विमानस्थल निर्माणका क्रममा खप्नुपरेका चुनौतिहरूः

pokhara international airport
एकैसाथ विमान र चरा आकाशमा

चराकै कारण विमान दुर्घटना हुनसक्ने अवस्था पनि आउनसक्छ । यसले धनजनको ठूलो क्षति हुनसक्छ । एक अभियन्ताका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ गते विज्ञप्ति प्रकाशन गर्दै सङ्घर्षका कार्यक्रम सुरु गरेकामा चैत १७ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, सार्वजनिक लेखा समिति, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पत्राचार गरेको थियो । त्यसयता समयसमयमा विज्ञप्ति, भेला, सरोकारवालाको ध्यानाकर्षण गरेकामा २०६९ सालको दसैँ, तिहारजस्ता चाडपर्वमा समेत एकसय ५३ शृङ्खलासम्म दुई हजार चारसय दुई जनाद्वारा रिले अनसन गरिएको थियो । विमानस्थल निर्माणमा पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको छ ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल करिब ती हजार ७०० रोपनी क्षेत्रफलमा निर्माण भएको छ । 

विमानस्थल सञ्चालनका लागि तयार भइसकेको । ल्यान्डफिल साइटको व्यवस्थापन र रिठ्ठेपानीको डाँडा कटानको काम बाँकी छ । डाँडा कटानको काम आगामी अक्टोबरभित्र नै सकिने बताइएको छ ।  

विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ जुन दुईसय सिटभन्दा कम क्षमताका हुन् । यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् ।

विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ । त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अघिल्लो आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गते (सन् २०२३ जनवरी १) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । 

विमानस्थल सञ्चालनमा मुख्य बाधक मानिएका ल्यान्डफिल साइटलगायतका समस्या समाधान नहुँदासम्म हवाई उडान सञ्चालन सम्भव नहुने विज्ञहरूले बताउँदै आएका छन् । मुख्य समस्याका रुपमा देखिएको ल्याण्डफिलसाइट सार्ने विषय महानगरपालिकाका लागि पेचिलो बनेको छ ।

पोखरा महानगरपालिका–१४ बाच्छेबुडुवामा ल्यान्डफिल साइट सञ्चालनमा आइरहेकामा विमानस्थल सञ्चालनका लागि यो उक्त ठाउँबाट हट्नुपर्ने टड्कारो आवश्यकता छ । महानगरपालिकाले विकल्पका रुपमा विभिन्न स्थान खोजिरहे पनि समस्याको समाधान हुन सकेको छैन । 

हाल ल्यान्डफिल साइट रहेको बाच्छेबुडुवा नवनिर्मित विमानस्थलबाट करिब दुई किलोमिटर दूरीमा पर्दछ । यसका कारण चराको आवतजावत निकै हुने भएकाले पनि यहाँबाट तत्काल यसलाई अन्यत्र व्यवस्थापन गरिनुपर्ने विषय यतिखेर पेचिलो बन्दै गएको छ । 

आगामी जनवरी १ मा हुने उडानलाई प्रभाव नपार्ने गरी ल्यान्डफिल साइटको स्थानान्तरणका लागि महानगरपालिकाले आश्वासन दिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा वडा नं ३३ टिमुरापाटामा ल्यान्डफिल साइट व्यवस्थापनका लागि १० करोड रुपैयाँ विनियोजन गरिसकेको थियो । यता नागरिक उड्डयन प्राधिकरणले रिट्ठेपानी डाँडा कटानको माटो हाल रहेको ल्यान्डफिल साइट पुर्नका लागि प्रयोग गर्ने तयारी गरेको छ । ल्याण्डफिलसाइट पुरेपछि खानाको अभावमा चरा बाहिरिने र आसपासका रुख नभएपछि चराको आवतजावत रोकिने विश्वास लिइएको छ ।

लामो समय उक्त क्षेत्रमा विचरण गरिरहेका चरा सार्ने विषयलाई भने यस क्षेत्रमा काम गर्नेले त्यति सजिलो मानेका छ्रैनन् । अहिलेको ल्यान्डफिल साइट हटाए पनि त्यहाँ चराको आवतजावत रोक्न न्यूनतम एक वर्ष समय लाग्ने चराका क्षेत्रमा काम गरिरहका पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । 

ल्यान्डफिल साइटमा गिद्ध, चिललगायत थुप्रै प्रजातिका चराहरूको बासस्थान भएको बताउँदै उनले आगामी तीन महिनाभित्रै ल्याण्डफिलको व्यवस्था भइसके पनि त्यसबीचको छोटो अवधिमा चरालाई अन्यत्र बासस्थान सार्ने बनाउन नसकिने घिमिरेको तर्क छ । उक्त क्षेत्रमा वर्तमानमा धेरै चराहरु खाने र बस्ने गर्दछन् । उक्त क्षेत्रमा क्षेत्रमै चराहरुले गुँड लगाएका कारण तीनलाई तत्कालै अन्यत्र सार्न सम्भव नभएको उनले बताए ।

विमानस्थलको उत्तरपूर्व विजयपुर खोला र आसपासको क्षेत्रमा गिद्ध र चिल बस्नुका साथै दैनिक आहारा खोज्ने गर्दछन् । सेती नहर हुँदै आउने मरेका जनावरको सिनोको खोजीमा दैनिक गिद्धहरू यस क्षेत्रमा घुम्ने गरेको घिमिरेको भनाइ छ । 

तथ्याङ्कअनुसार विमानस्थल रहेको क्षेत्रमा विभिन्न एकसय ६२ प्रजातिका चरा पान्इछ । यसअन्तर्गत एकसय ६२ मध्ये पाँच प्रजाति अति सङ्कटापन्न र दुई वटा सङ्कटापन्न प्रजातिका गिद्ध र चरा यस क्षेत्रमा बस्दै आएका छन् । ल्यान्डफिल साइटकै क्षेत्रमा सेतो गिद्धले पहारामा र सानो खैरो गिद्धले सन् २०१४ यता रुखमा गुँड बनाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It