काठमाडौं । अब सानो कामको लागि पनि मालपोत धाइरहनु पर्ने बाध्यता हटेको छ । मालपोत कार्यलयले सेवाग्राहीलाई सहज बनाउनका लागि देशका ६७ मालपोत कार्यलयमा पब्लिक एक्सेस मोडल (पाम्स) मार्फत सेवा सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले आफु अनुकुल इन्टरनेटको माध्यमबाट सजिलै जग्गाको कारोबार गर्न अनलाइनबाट निवेदन दिन मिल्नेगरी भूमि व्यवस्थापन तथा संख्या कार्यालय विभागले मालपोत कार्यालयहरुमा ‘पाम्स’ लागू गरेको हो । अहिले देशभर एक सय २६ मालपोत कार्यालय सञ्‍चालनमा छन् । बाँकी ६९ मालपोत कार्यलयमा पनि यही आर्थिक वर्षभित्रै ‘पाम्स’ मार्फत सेवा सञ्‍चालन गर्ने विभागको लक्ष्य छ ।

‘पाम्स’ के हो त ?

सेवाग्राही आफैंले इन्टरनेटमार्फत घरजग्गा हक हस्तान्तरणसम्बन्धी काम गर्न मिल्ने अनलाइन प्रणाली नै ‘भू–सेवा केन्द्र’ अर्थात पब्लिक एक्सेस मोडल (पाम्स) हो । जग्गा सम्बन्धि कामलाई अनलाइन प्रणालीमा लैजान विभागले ‘पाम्स’ सेवा सुरुवात गरेको हो । पाम्सबाट जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गा (अचल सम्पत्ती) को हक हस्तान्तरण गर्न आवश्यक पर्ने निवेदन आफ्नो आफुलाई पाएक पर्ने भू–सेवा केन्द्र मार्फत अथवा आफै अनलाईनबाट भरी सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेश गर्ने लिखत निवेदन पाम्सबाटै प्रिन्ट गर्न सक्दछन् ।

जग्गाधनी आफैँले ओटीपी (एकपटक मात्र प्रयोग गर्न मिल्ने पासवर्ड) को प्रयोग गरी अनलाइन निवेदन भर्न सक्नेछन् । लेखापढी व्यवसायमार्फत कारोबार गर्दा झन्झट महसुस गरिरहेका सेवाग्राहीले अब आफैँ फारम भर्न सक्नेछन् ।

जग्गा प्रशासनसम्बन्धी सेवालाई समयअनुसार परिवर्तन गरी सूचना प्रविधिमा आधारित बनाउन सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एलआरआईएमएस कार्यान्वयनमा ल्याएको हो । २०७२ साउन २५ देखि काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयबाट यसको सुरुवात गरिएको विभागले जनाएको छ । पाम्समा लग – इन गर्न यस लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ । 

पाम्स प्रणालीका विशेषताहरुः

  • यो प्रणाली वेबमा आधारित भएको हुँदा इन्टरनेट भएको जुनसुकै ठाउँबाट जग्गा प्रशासनका लागि निवेदन तथा अनलाइन फारम भर्न सकिन्छ ।
  • यो सुविधा हप्ताको सातै दिन चौबिसै घण्टा उपलब्ध हुन्छ । 
  • भूमि प्रशासनको प्रकृयाका सम्बन्धमा जानकारी राख्‍ने ब्यक्ति संस्था तथा स्थानीय निकायले मालपोत नियमावली २०३६ (छैठौ संशोधन) तथा भू–सेवा केन्द्र संचाल निर्देशिका, २०७६ बमोजिम अनुमति पत्र लिइ फारम भर्ने भराउने कार्य गर्ने सक्छन् ।
  • एउटै कार्यालयमा धेरै प्रयोगकर्ताले निवेदन दर्ता गर्न सकिने भएकोले कार्य सम्पादन पनि छिटो छरितो  हुन्छ ।
  • अनलाईन फारम भरेपछि निवेदन प्रिन्ट गर्न सकिने भएकोले हातले फारम भर्ने झन्झट गर्नु पर्दैन ।

पाम्स प्रणाली कसले चलाउने त ! 

  • जग्गा कारोबारको व्यवसाय गर्न चाहनेहरू,
  • भूमी सम्बन्धी आधारभूत जानकारी भएकाहरू
  • इन्टरनेट सुबिधा उपलब्ध हुनेहरू
  • इन्टरनेट मार्फत वेब एप्लिकेसन चलाउन सक्छन,
  • पाम्स संचालनको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ ले तोकिदिए अनुसार आवश्यक पुर्बाधारहरुको पहुँच हुनेहरू,
  • पाम्स संचालनको लागि अनुमति पाएका व्यक्ति तथा संस्थाहरूले ।

पाम्स प्रणालीका प्रयोगकर्ताहरुः

क) पटके प्रयोगकर्ता

यूजर नेम र पासवर्ड नलिई जग्गाधनी आफैले एक पटकको लागि आफ्नो हक स्वामित्वमा भएको अचल सम्पतिको हक हस्तान्तरण गर्न अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवदेन तथा फारम भर्न सक्ने प्रयोगकर्तालाई ‘पटके प्रयोगकर्ता’ भनिन्छ ।

ख) साधारण प्रयोगकर्ता

आफ्नो घर जग्गासँग सम्बन्धित विवरण हेर्न र अनलाइन निवेदन फारम भर्नको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम शुल्क दस्तुर तिरेर यूजर नेम र पासवर्ड प्राप्त गरेका जग्गाधनीलाई ‘साधारण प्रयोगकर्ता’ भनिन्छ ।

ग)  भू–सेवा केन्द्र प्रयोगकर्ता

मालपोत नियमावली, २०३६ (छैठौ संशोधन) परिच्छेद ६ ‘क’ सेवा केन्द्र सम्बन्धी व्यवस्था बमोजिम अनुमति प्राप्त सेवा केन्द्रलाई सम्झनु पर्छ  । यस अन्तर्गत व्यक्ति, संस्था र स्थानीय तह पर्दछन । 

पाम्स प्रणालीबाट प्रदान गर्न सकिने सेवाहरुः

  • अनलाईन प्रणालीमा उपलब्ध भएका निवेदन तथा फारम भर्ने,
  • कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक कागजातहरु प्रणालीमा अपलोड गर्ने,
  • निवेदन र फारम भू-सूचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र फारम प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने,
  • जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,
  • समय–समयमा मन्त्रालय वा विभागले सूचना गरी तोकेका अन्य सेवाहरु प्रदान गर्ने, 
  • पाम्समार्फत सेवा सञ्चालन भएका कार्यालय ।

पछिल्लो समय देशभरका मालपोत कार्यालयहरू अनलाइन प्रणालीमा गइरहेका छन् । जसले सेवाग्राहीलाई धेरै हदसम्म सहजता दिलाएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It