News

घरजग्गा कारोबारमा लाइसेन्स लिनुपर्ने व्यवस्थाले असर गर्ला ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । देशभर घरजग्गा कारोबारमा सुधारको सङ्केत देखिन थालेको छ । भूमि सुधार तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको तुलनामा  कारोबारमा क्रमिक सुधार देखिन्छ ।

पछिल्लो छ महिना अर्थात्‌ साउन, भदौ, असोज, कार्तिक, मंसिर र पुषको कारोबारसम्बन्धी विभागको तथ्याङ्कले घरजग्गा कारोबार सुधारात्मक देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार पुषमा देशभरबाट ४५ हजार २ सय ७५, मंसिरमा ४१ हजार ८ सय ५१, कार्तिकमा २६ हजार ४६, असोजमा ३९ हजार ८ सय ८१ लिखत पारित भएको छ । त्यस्तै, भदौमा ३५ हजार ६ सय ८६ र साउन ३९ हजार २ सय ६३ को संख्यामा लिखत पारित भएको थियो । 

तथ्यांकअनुसार चालु आ.व.को माघ महिनामा देशभरबाट ५० हजार ९ सय २१ को संख्यामा लिखत पारित भएको छ । 

गत वर्षको पुषसम्मको तथ्याङ्कलाई आधार मानेर हेर्दा घरजग्गा कारोबार १९.७५ प्रतिशतले बढेको पाइएको छ । गत वर्षको सोहि अवधिमा १ लाख ९० हजार ३ सय ३७ को संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

केके हुन् कारोबार बढ्नुका कारणहरू ?

घरजग्गा व्यवसायीहरूले कारोबार बढ्नुको एउटा महत्वपूर्ण कारणका रुपमा कित्ताकाट खुल्नुलाई लिएका छन् । नेपाल रियल इस्टेट अर्गनाइजेसन (एनरियो)का सचिव विनोद सुवेदी भन्छन्, ‘कित्ताकाट खुलेसँगै पहिलेदेखि रोकिएर रहेका अंशबन्डा र साझेदारीमा रहेका सम्पत्ति, कित्ताकाट गर्नुपर्ने जग्गाहरूको काम अघि बढेकाले बजार चलायमान भएको छ ।’

यसअघि कम्तिमा चार आना एक दाम जग्गा मात्र कित्ताकाट गर्न पाइन्थ्यो । वर्गीकरण नभएको ठाउँको कित्ताकाट पूर्ण रूपमा रोकिएको थियो । यसले गर्दा अंशबन्डा र मोहियानी हकदाबीमा समस्या भइरहेको थियो । 

अर्कोतर्फ, खुकुलो मौद्रिक नीतिका कारण पनि घरजग्गा बजारलाई चलायमान गराउन मद्दत पुगेको छ । राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएपछि आवासीय कर्जा पनि वृद्धि भएको सचिव सुवेदी बताउँछन् । उनी भन्छन्, ‘व्यक्तिगत आवासीय कर्जा सीमा बढाउँदा घर किन्नेलाई सहज भएको छ ।’ 

हाल बैंकहरूले ठूलो कर्जा नदिएपनि १/२ करोडको कर्जा केही मात्रामा दिन थालेका छन् । बैंकहरूसँग पनि पैसा थुप्रिरहेको हुनाले आर्थिक स्थिति राम्रो भएका व्यक्ति वा कम्पनीहरूलाई कर्जा प्रवाह गरिरहेको हुनाले यसले कारोबारलाई माथि उकास्न मद्दत गरेको सुवेदीको भनाइ छ । 

घरजग्गा व्यवसायी के भन्छन् ?

कित्ताकाट खुलेसँगै क्रमिक रुपमा घरजग्गा कारोबार बढ्दै गए पनि आशातित कारोबार हुन नसकेको घरजग्गा व्यवसायीहरूको भनाइ छ । एनरियोका सचिव विनोद सुवेदी भन्छन्, ‘भूमि विभागको तथ्याङ्कमा कारोबार बढेको देखिएपनि बजारमा उल्लेखनीय सुधार भइसकेको छैन । यसोहुँदा हालको कारोबारका आधारमा बजारले गति लिने नलिने कुरामा यकिन हुन सक्ने अवस्था छैन ।’

हाम्रो कुल अर्थतन्त्रमा मुद्रा सञ्चार नहुन्जेलसम्म घरजग्गा कारोबार बढ्न सक्दैन । घरजग्गालाई सजिलै पैसा कमाउने ठाउँको रूपमा देखिए पनि लगानीमा ठूलो रकम चाहिन्छ । जसका लागि कारोबार राम्रो हुनु र बैंकहरूले सजिलो कर्जाको सुविधा उपलब्ध गराउनु आवश्यक छ । यसकारण नेपालमा लगानी गर्ने वातावरण नबनिसकेको र व्यापारीहरू पर्खाइमा रहेको सुवेदीले बताए ।

उनी भन्छन्, ‘कारोबार राम्रो हुन सहकारीहरू अलि बलियो हुनुपर्छ, अहिले सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता दिन नसकेको अवस्थामा जग्गा नै दिइरहेका छन् । यसले पनि कारोबार बढेको देखिएको हो ।’ 

‘सहकारीमा रहेको आम सर्वसाधारण देखि धनाढ्यहरूको समेत सबैको प्रायजसो बचत  रियल इस्टेटमा नै जान्थ्यो । हाल सहकारीहरू आफैं दबाबमा छन् । त्यो दबाब धान्न नसक्ने हुँदा थप लगानी गर्दैनन् ।’ उनले भने ।

सुवेदीकाअनुसार बजार अवस्था पुनः पहिलेको अवस्थामा पुग्न अझै एक डेढ वर्ष लाग्छ । साथै सरकारले यसलाई नियमन गर्ने भनिरहेको छ । नियामक निकाय आए पहिले जस्तो सहज भने नहुने उनी बताउँछन् ।  

Financial Action Task Force का अनुसार नेपालबाट नियमित कालोधन घरजग्गा कारोबारमा गइरहेको छ । यसलाई कम गर्न फोर्सले दिएको सुझावलाई मध्यनजर गर्दै सरकारले हालसालै केही संसोधन ऐन प्रतिनिधिसभाबाट पारित गरेको छ । त्यसमा घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने भन्ने बुँदा पनि समावेश छ । संशोधित ऐनले बजारलाई खासै असर नगर्ने सुवेदीको भनाइ छ । ‘अब पहिलेको जस्तो अव्यवस्थित कारोबार हुँदैन । अबको कारोबार व्यवस्थित र दीर्घकालिक हुन्छ,’ उनले भने ।  

सरकारले कानुन बनाएपनि त्यसलाई कार्यान्वयन गर्न अझै लामो समय लाग्न सक्छ । लाइसेन्स सम्बन्धित अधिकारीले दिन्छ भनिएको छ तर सम्बन्धित निकाय को हो र के के कागजात आवश्यक पर्छ जस्ता यावत् कुराहरू तोक्न बाँकी नै रहेको सुवेदी बताउँछन् । 

यो ऐन कार्यान्वयन भएपछि पनि रियलइस्टेट मार्केटमा खासै असर गर्दैन । तर यसले घरजग्गामा काम गर्ने व्यक्तिहरू कानुनको दायरामा आउनुपर्छ भन्ने सकारात्मक सन्देश भने दिएको उनले बताए । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It