News

घरमै बसीबसी नक्सापास भए-नभएको हेर्न मिल्ने सफ्टवेयर ल्याउँदै महानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । अब नक्सापास सम्बन्धी सम्पूर्ण जानकारी घरै बसरे लिन सकिने भएको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले सफ्टवेयर विकास गर्न लागेको हो । यससँगै काठमाडौं महानगरका सेवाग्राहीले अब आफ्नो नक्साको काम कहाँ पुग्यो भनेर घरै बसेर हेर्न सक्ने भएका हुन् ।

यसअघि महानगरपालिकाले ३५ वटै वडामा विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा ल्याएको थियो भने अब सेवाग्राही आफैँले नक्सा पासको काम हेर्न मिल्नेगरी सफ्टवेयर अपडेट गर्न लागेको हो । 

सेवाग्राही आफैँले नक्सा पासको काम अनलाइबाट हेर्न सक्ने व्यवस्था मिलाउन सकेमा महानगर धाइरहन पर्दैन । जसले गर्दा कार्यालयमा हुने भिड कम हुनुका साथै सेवाग्राहीको समय बचत हुन्छ । कार्यालयबाट हुने अन्य काममा समेत यसको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सेवाग्राहीको हितका लागि विस्तार गर्न लागिएको यस सफ्टवेयरले इन्जिनियर तथा डिजाइनरले बनाएको नक्साको फाइल लिएर महानगरमा दिनहुँ धाउनु पर्ने समस्याको अन्त्य गर्नेछ । साथै काम गर्दा हुने पैसाको चलखेल तथा अनियमिततालाई समेत निर्क्योल गर्ने अपेक्षा गरिएको छ ।

नक्सा पास कहिले हुने हो, कहाँ पुग्यो भनेर इन्जिनियरलाई सोधिरहन पर्दैन । सेवाग्राहीले आफैँले हेर्न सक्ने जसका लागि लग-इन आइडी उपलब्ध गराइने महानगरले जनाएको छ ।

सेवाग्राही आफैँले नक्सा पासको काम हेर्न सकिने गरी सफ्टवेयर अपडेट गर्न कन्सेल्टेन्टलाई जिम्मा दिइसकेको छ । यो वर्ष भित्रै यो काम सकिने बताइएको छ । 

विभागका प्रमुख शाक्यका अनुसार यसअघि नक्सा बनाउने इन्जिनियरले मात्रै नक्सा पासको काम हेर्न पाउँथे । काठमाडौं महानगर भित्र कुनै स्थानमा भवन निर्माण गर्न चाहने व्यक्तिले महानगरपालिकामा दर्ता भएका डिजाइनर/कन्सल्टेन्ट बाट नक्सा डिजाइन गराई डिजाइनर डेस्क मार्फत अनलाइनमा फर्म भरी भवन निर्माण इजाजत विभागमा दर्ताका लागि पठाउनु पर्नेछ ।

इबिपिएस (इलेक्ट्रोनिक्स बिल्डिङ पर्मिट सिस्टम) मार्फत प्राप्त नक्सा जाँच गरी भवन निर्माण सम्बन्धी मापदण्ड तथा भवनसंहिता सम्बन्धी प्राविधिक पक्ष जाँच गर्न प्राविधिक डेस्कमा पठाइने छ । 

उक्त नक्सा प्राविधिक डेस्कमा जाँच भई प्रचलित मापदण्ड र भवन संहिता अनुकूल भएमा नक्सा पास दस्तुर बुझाउन राजश्व डेस्कमा पठाइने छ । त्यसपछि सम्बन्धित नक्सावाला व्यक्तिले महानगरपालिकामा तोकिएबमोजिमको बैंक खातामा नक्सापास दस्तुर बुझाउनु पर्नेछ । 

नक्सा पासका लागि बुझाउनु पर्ने पैसा सेवाग्राहीको मोबाइलमा एसएमएस गरिने छ  । नक्सा पास दस्तुर बुझाएपछि नक्सा दर्ता भई राजश्व डेस्कबाट थप कामका लागि वार्ड डेस्कमा पठाइने छ । 

नक्सा दरखास्त दर्ता गरेको मितिदेखि नक्सा स्वीकृत भई अनुमति दिन एक महिनाको समय लाग्ने छ । नक्सा पास भएको जानकारी पनि सेवाग्राहीले एसएमएसमार्फत नै पाउने छन् ।

नक्सा बनाउन आवश्यक कागजात

  • जग्गा धनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि १ प्रति ।
  • चालु आर्थिक वर्षसम्मको मालपोत तिरेको रसिदको प्रतिलिपि र साविकको भवन भएको जग्गामा नयाँ भवन ।
  • बनाउन वा तला थप गर्न नक्सा पेस गर्ने भए सम्पत्ति कर समेत तिरेको रसिदको प्रतिलिपी १ प्रति ।
  • जग्गाधनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
  • कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा १ प्रति ।
  • पास गरिने नक्सा (डिजाइनर र नक्सावालाको हस्ताक्षर सहित) ३ प्रति ।
  • डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालावाट १ प्रति)।
  • मञ्जुरीनामा लिई भवन निर्माण गर्ने भएमा नक्सावालाले सम्बन्धित वडा अध्यक्ष वा तोकिएको सदस्यको वा कानुन महाशाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल १ प्रति ।
  • भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा बाटो प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस ।
  • गुठीको जग्गा भए बाटोका लागि कित्ताकाट नहुने तर फिल्डमा बाटो भए गुठीको सिफारिस १ प्रति ।
  • जग्गा कुनै निकायमा धितोको लागि सुरक्षण राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र १ प्रति ।
  • गुठीको जग्गा भए गुठीको स्वीकृती पत्र र नक्सावाला मोही भएमा जग्गाधनीको र जग्गाधनीले भवन निर्माण गर्ने भएमा मोहीको मञ्जुरीनामा १ प्रति ।
  • नक्सावाला आफू उपस्थित हुन नसक्ने भएमा घरको कुनै सदस्य वा कानुन बमोजिमको अधिकारप्राप्त व्यक्तिको प्रमाणित नागरिकताको प्रतिलिपि आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्
Pin It