Vaastu

बाथरुमको भित्तामा ऐनाः यस्ता छन् वास्तुशास्त्रका सुझाव

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरको बाहिरी निर्माण र कोठाहरूको व्यवस्थापनमा वास्तुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । जसले गर्दा वास्तु शास्त्रमा धेरैको झुकाव बढेको पनि छ । सामान्यतः पूजाकोठा, ढोका तथा झ्यालको रखोटका लागि वास्तु हेर्ने प्रचलन छ । धेरैलाई थाहा नहुन सक्छ ट्वाइलेट तथा बाथरूमका लागि पनि वास्तुको प्रभावलाई विश्लेषण गरिन्छ ।

हरेक घरमा ट्वाइलेट तथा बाथरूम त हुन्छ नै । जसको अवस्था र स्थानान्तरले मानिसमा सकारात्मक र नकारात्मक ऊर्जा प्रवाह गर्दछ । हिन्दु धर्ममा बाथरुम र ट्वाइलेट छुट्टै बनाउनु राम्रो मानिन्छ । यसो गर्दा परिवारका सदस्यमा रोगव्याधिको भय  कम हुने वास्तुशास्त्रमा उल्लेख छ । तर हिजोआज ‘अट्याच ट्वाइलेट/बाथरूम’ लाई निकै महत्व दिइन्छ ।

कतिका लागि अट्याच बाथरुम रहर भएपनि पछिल्लो समय जग्गाको मूल्य आकाशियको हुँदा बाध्यता पनि हुन सक्छ । यदि रहर अथवा बाध्यता जे होस्, ट्वाइलेट बाथरुम सकेसम्म घरको पश्चिमी भाग वा वायव्य कोणमा बनाउनु राम्रो हुन्छ ।

बाथरुममा ऐना राख्दा के हुन्छ ! यस्ता छन् वास्तुका ट्वाइलेट बाथरुम सम्बन्धी नियम

शास्त्रका अनुसार स्नान गृहमा चन्द्रमाको बास रहन्छ । त्यस्तै फोहोर ठाउँ र शौचालयमा राहुको अधिकार रहन्छ । यी दुबै ग्रहसँगै हुनुलाई ज्योतिषशास्त्रले ग्रहयोग मान्ने गर्दछ । भन्ने गरिन्छ, बाथरूम र शौचालय एउटै कोठामा बनाउँदा घरमा बस्नेहरूमा दोष लाग्छ । 

 

वायव्य कोणमा बनाइएको बाथरुमको नैर्ऋत्य र दक्षिण दिशाको बीचमा शौचालयको प्यान, पूर्व दिशामा धारा, इशान कोणमा सावर र बाथटब राख्नुपर्दछ । 

आग्नेय कोणमा गीजर वा हीटर, उत्तर दिशामा हात धुने बेसिन र ईशान कोणमा भेन्टिलेसन वा झ्याल बनाउनु पर्दछ । 

यसरी  ट्वाइलेट तथा बाथरूमका चिजबिज मिलाएर राखेमा राहु र चन्द्रमाको दोषबाट मुक्त हुन सकिन्छ । त्यस्तै एकै ठाउँमा बनाए पनि वा बेग्लाबेग्लै बनाए पनि ट्वाइलेटमा प्यानभन्दा बाहिरबाट बग्ने पानी पूर्व, इशान वा उत्तरतर्फ बग्नु राम्रो मानिन्छ । जसका लागि जमिनको सतह पूर्व, इशान वा उत्तरतर्फ भिरालो हुनु आवश्यक छ ।

बाथरुममा ऐना राख्दा के हुन्छ ! यस्ता छन् वास्तुका ट्वाइलेट बाथरुम सम्बन्धी नियम

ट्वाइलेट तथा बाथरूम बनाउँदा थप ध्यान दिनुपर्ने कुराहरूः

  • पेन्टको प्रयोगमा ध्यान विशेष दिनुपर्छ । फिका अथवा घरमूलीको राशिअनुसार रंगको प्रयोग गर्नु राम्रो हुन्छ । 
  • अनिवार्य रुपमा ढोका पूर्व वा उत्तर फर्केको हुनु  पर्छ । सकेसम्म पश्चिम दिशामा ट्वाइलेट बाथरुम बनाउनु उपयुक्त हुन्छ ।
  • घरको प्रमुख प्रवेशद्वार पश्चिमतर्फ भए बाथरुम पूर्व दिशातर्फ हुनुपर्छ । तर किचनको ढोका सम्मुख पार्न हुँदैन ।
  • सकेसम्म बाथरुममा ऐना राख्नु राम्रो मानिँदैन । राख्नै परे बाथरुमको बाहिरी भित्ताको दायाँ भागमा राख्नुपर्छ ।
  • सकेसम्म भर्याङमुनि शौचालय नबनाएको राम्रो । यदि सम्भव नभए भर्याङको प्रत्येक मोडमा गोलाकार ऐना राखेर वास्तुको दोष कटाउन सकिन्छ ।
  • मुख्य शयनकक्षमा सकेसम्म अट्याच बाथरूम र शौचालय नबनाउनु राम्रो हुन्छ । बनाउनु पर्ने नै भए शौचालयको ढोका र बेडरुमको बीचमा एउटा चेन्जिङ रुम वा पर्खाल बनाउनुपर्छ ।
  • बाथरूमको ढोका खुल्ला राख्नु राम्रो मानिँदैन ।
  •  यदि घरभित्र पस्नासाथ शौचालय र बाथरूमको ढोका बाहिरबाट देखिन्छ भने प्रवेश विन्दुमा ऐना लगाउनु राम्रो मानिन्छ ।
  • शौचालयको भेन्टिलेसन वा झ्याल राख्दा पूर्व वा आग्नेय दिशामा हुनु राम्रो हुन्छ । दक्षिण वा नैऋत्य (दक्षिण र पश्चिमको कुना) कोणमा राख्नुलाई अशुभ मानिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It