काठमाडौं । हिजोआज घर, पसल तथा अफिसहरूमा माछा तैरिरहेका आकर्षक ‘फिस एक्वेरियम’ राखेको देखिन्छ । सजावटको यो शोपीसले घरको शोभा मात्रै बढाउँदैन, सौहार्दता र समृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्छ । वास्तुशास्त्रमा ‘फिस एक्वेरियम’लाई पञ्चतत्वको प्रतीक मानिन्छ । जसको संयोजनले घरमा ऊर्जा सन्तुलन, सुस्वास्थ्य र समृद्धि बढाउँछ ।
एक्वेरियमको पानीले जीवनको प्रवाहलाई जनाउँछ । भने माछाले पृथ्वीको प्रतिनिधित्व गर्छ । साथै एक्वैरियममा तैरिरहने माछाले परिवारका सदस्यलाई सँधै सक्रिय भइ अगाडि बढ्न प्रेरित गर्छ । र दुष्ट नजरलाई नष्ट गर्दै, मानसिक अशान्ति हटाई, शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
फिस एक्वेरियमका लागि शुभ-अशुभ दिशा तथा स्थानः
वास्तुशास्त्र अनुसार, उपयुक्त दिशामा राखिएको एक्वेरियमका माछाले मानसिक शान्ति दिनुका साधै धन आकर्षित गर्छ । घरपरिवारमा आइपर्ने विपत्ति आफुमाथि लिन्छ र उक्त विपत्तिलाई बोकेर मृत्युवरण गर्ने विश्वास छ ।
उत्तर-पूर्व (ईशान कोण) वा उत्तरी वा पूर्वी दिशाः यो दिशा माछाको एक्वेरियम राख्नको लागि अत्यन्त शुभ मानिन्छ । यहाँ राखिएको एक्वेरियमले घरमा सकारात्मक ऊर्जा आकर्षित गर्छ । उत्तर दिशा धन र आर्थिक उन्नतिको प्रतीक पनि हो । यस दिशामा एक्वेरियम राख्दा आर्थिक समस्याहरू हट्ने विश्वास गरिन्छ । पूर्व दिशा शान्ति र मानसिक स्थिरताको प्रतीक हो । यस दिशामा राखिएको एक्वेरियमले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ ।
मूख्य प्रवेशद्वारः एक्वेरियमलाई मूख्य प्रवेशद्वारको नजिकै राख्नु पनि शुभ मानिन्छ । यसरी राख्दा एक्वेरियम घरभित्र प्रवेश गर्दा बायाँतर्फ र बाहिर निस्कँदा दाहिनेतर्फ पर्ने हुनुपर्छ । यात्रामा निस्किनु अघि एक्वेरियममा भएको माछा हेर्नाले यात्रा शुभ रहने विश्वास गरिन्छ ।
अशुभ दिशाः दक्षिण दिशामा एक्वेरियम राख्नु अशुभ मानिन्छ । यस दिशामा राखिएको एक्वेरियमले नकारात्मक ऊर्जा फैलाउन सक्छ । त्यस्तै, किचेन र बेडरुममा पनि एक्वेरियम राख्नु उपयुक्त हुँदैन ।
एक्वेरियममा कस्ता माछा राख्ने ?
माछाको संख्या र रंगको चयन गर्दा विशेष ध्यान दिनुपर्छ । एक्वेरियममा ९ वटा माछा राख्नु शुभ मानिन्छ । यसमा ८ वटा सुनौलो (सुन्तला/पहेंलो/सेतो) माछा र १ वटा कालो माछा हुनुपर्छ । ९ संख्याले नौ ग्रहहरूको प्रतिनिधित्व गर्दछ । साथै सुनौलो रंगले समृद्धि र खुशीको संकेत गर्छ भने कालो रंगललाई सुरक्षाको प्रतीक मानिन्छ ।
यदि एक्वेरियममा कुनै माछा मर्छ भने तुरुन्तै अर्को माछा थप्नुपर्छ । यसो गर्दा नकारात्मक ऊर्जा फैलिन पाउँदैन । साथै, माछालाई नियमित रूपमा खाना खुवाउनुपर्छ । माछालाई खाना मात्र खुवाउँदा पनि शनि ग्रहसँग सम्बन्धित दोषहरू हटेर जाने वास्तुशास्त्रमा उल्लेख छ ।
लगानीका लागि उपयुक्त घर तथा जग्गाहरू खोज्नका लागि Basobaas.com भिजिट गर्नुहोला ।