Lifestyle

६० वर्षअघि बनेको अनौठो घर 

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको चाकुपाटमा एउटा अनौठो घर छ । जुन झट्ट हेर्दा गुड्न सक्छ जस्तो देखिन्छ । पाङग्रामा अडिएको यो घर राजा महेन्द्रको पालामा बनेको हो । 

आजभन्दा लगभग ६० वर्ष पहिले निर्माण गरिएको पांग्रे घर आधुनिक आर्किटेक्चरको उत्कृष्ट नमुना मानिन्छ । 

राजा महेन्द्र आधुनिक आर्किटेक्चरलाई विशेष महत्व दिन्थे । उनका पालामा शंकरनाथ रिमाल दरबारका ईन्चार्ज र एक्लो भाइस इन्जिनियर थिए । र यो घर रिमालकै परिकल्पनामा बनेको हो । 

त्यतिबेला घर बनाउन पाइनँ भन्ने दरबारियाहरूलाई राजाले घर बनाउन पैसा दिने गर्थे ।  गृहमन्त्री खड्ग बहादुर सिंहले बस्नका लागि घर भएन भनेपछि राजाले घर बनाउन १ लाख रूपैयाँ दिए । 

राजाबाट पाएको पैसाबाट मन्त्री सिंहले चाकुपाटमा भएको आफ्नै जग्गामा घर बनाउने भए । सन् १९६४ मा निर्माण भएको घरको नक्सा तयार गर्ने जिम्मा आर्किटेक्ट रिमाललाई दिए । 

रिमाललाई घरको नक्सा तयार गर्न एक हप्ताको समय दिइएको थियो । तर उनले नक्सा एक घण्टामा तयार गरेका हुन् भनिन्छ । घरको नक्सा मन्त्री सिंहले मनपराएपछि सोही डिजाइनमा पाङ्ग्रे घर निर्माण भयो । 

६० वर्षअघि बनेको अनौठो घर 

पांग्रे घर हेर्नका लागि युनिक आकर्षण मात्र नभएर दिगो, भूकम्प प्रतिरोधी र सांकेतिक विषयवस्तुको कलात्मक प्रस्तुति पनि हो । 

हाल इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले परीक्षा नियन्त्रण विभागको कार्यालय राखेको पाङ्ग्रे घर गुड्ने घरको नामले पनि परिचित छ । 

चारैतिर खुल्ला भाग र हरियाली बगैँचाको बीचमा उभिएको पांग्रे घरमा दुईवटा तला छन् । घर ४ वटा पिल्लरमा अडिएको छ । 

हरियो रङ पोतिएको घरमा ३ मिटर लम्बाइ र ६ फिट चौडाइ भएका कोठाहरू छन् । 

त्यतिबेला काठमाडौं उपत्यकामा आधुनिक आर्किटेक्चरको ट्रेन्ड चल्तीमा थिएन । सुरुसुरुमा व्यंग्यको विषय बनेको पांग्रे घरको विस्तारै राजनीतिक व्याख्या विश्लेषण हुन थाल्यो । युनिक र आधुनिक डिजाइनको घरमा मन्त्री सिंह बसेनन् ।

४ वर्षसम्म यस घर जर्मन दुतावासलाई दिइयो । अनुपम वास्तुकलाको प्रतिष्ठा बोकेको घर कुनै व्यक्ति तथा निजी संस्थालाई बेच्दा ध्वस्त हुने डरले इन्जिनियरिङ अध्ययन संस्थानले पाङ्ग्रे घर किन्यो ।

२०७२ सालको महाभूकम्पले धेरै संरचना ध्वस्त पार्यो, तर पाँग्रे घरलाई अलिकति पनि चर्काउन सकेन । पाङ्ग्रे घरलाई गुणस्तरिय निर्माण सामग्री, उपयुक्त इन्जिनियरिङ विधि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भवन संहितामा आधारित मापदण्ड र अनुशासनमा रहि निर्माण भएको नमुना घरको रूपमा लिइएको छ ।

उचित मापदण्ड, नियम, आचारसंहितामा आधारित रहेर घरको डिजाइन तथा निर्माण गरिएकाले उक्त घर नेपाली आर्किटेक्चरको एक उत्कृष्ट नमुना हो ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It